हटाइए लालबाबु, रघुवीरदेखि गोकर्णसम्म

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाएका छन्।

लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नामावली शपथ ग्रहण गराउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्।

नयाँ मन्त्रीहरूको सपथ भोलि हुने थापाले जानकारी दिए। नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने योजना भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताले मन्त्रिपरिषदका नयाँ सदस्यले शपथ ग्रहण गर्न नसकेको थापाले जानकारी दिए।

‘आज पुर्नगठनको नामावाली टुँगो लागेर सम्माननीय राष्ट्रपतीकोमा पुगीसकेको छ, उतैबाट सपथको प्रकृया अगाडि बढ्छ र भोली सपथ हुन्छ’, थापाले भने।

आज सत्तारुढ नेकपा सचिवालय बैठकसँगै दिनभरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने आँकलन गरिएको थियो। यस विषयमा प्रधानमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजमात्रै दुई पटक एक्लाएक्लै छलफल भएको थियो।

यी हुन् नयाँ मन्त्रीहरूः

पूर्वएमालेको तर्फबाट वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्। त्यस्तै, घनश्याम भुसाललाई कृषिमन्त्री बनाइन लागेको छ। सूर्य चुनाव चिह्न लिएर चुनावमा गएका हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाउँदैछन्। उनले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसँग मन्त्रिपरिषदमा जानेबारे छलफल गरेका थिए। पछिल्लो समय नेकपाप्रति असन्तुष्ट उनलाई दुवै अध्यक्षले मन्त्रिपरिषदमा स्थान दिएका हुन्। त्यस्तै, मोती दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्दैछन् भने पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा जाँदैछन्।

पूर्वमाओवादीबाट लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति र रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दैछन्। 

हेर्नुहोस् पुनर्गठित मन्त्रिपरिषदको क्रम:

हटाइए लालबाबु, रघुवीरदेखि गोकर्णसम्म

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हटाएका छन्। उनले विकास निर्माणका कामलाई अगाडि बढाउन नसकेको आरोप लागेको थियो। उनका कारण प्रधानमन्त्री र सरकारको आलोचना भइरहेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु यादवको पनि पद खोसिएको छ। पछिल्लो समय कर्मचारीको विश्वास गुमाएका उनलाई प्रधानमन्त्रीले पनि थप विश्वास गर्न सकेनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पनि मन्त्रीपद खोसिएको छ। उनले मलेसिया रोजगारी बन्द गरेको लगायतका विषयमा आलोचना खेप्दै आएका थिए। राम्रो सम्भावना भएका भनिएका उनले मन्त्री हुन्जेलसम्म राम्रो काम गर्न नसकेको आरोप थियो।

पूर्वमाओवादीका तर्फबाट उद्योगमन्त्री मातृका यादवको पद खोसिएको छ। उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद बैठकमा नै विवाद भएको थियो। त्यस्तै कृषिमन्त्री चक्रपाणी खनाललाई पनि पदमुक्त गरिएको छ। कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि पदमुक्त गरिएको छ।

दुई मन्त्रीको फेरियो जिम्मेवारी

पछिल्लो समय काम नगरेको आरोप लागेका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जिम्मेवारी फेरिएको छ। उनलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको जिम्मेवारी दिइएको छ। हाल उनी भारत भ्रमणमा रहेका छन्। उनीमाथि स्वास्थ्य क्षेत्रमा सुधार गर्नुको साँटो विदेश भ्रमणमा व्यस्त भएको आरोप लागेको थियो।

कानुनमन्त्री भानुभक्त ढकाललाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइन लागेको छ।

ईश्वर पोखरेल, रामबहादुर थापा, प्रदीप ज्ञवाली, वर्षमान पुन, गोकुल बाँस्कोटा, योगेश भट्टराई, बिना मगर, शक्ति बस्नेतलगायतको जिम्मेवारी यथावत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.