|

पाल्पा : पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ। जिल्लाको तिनाउ गाउँपालिका-३ भूतखोलाभन्दा माथि जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।

उनका अनुसार खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू फेला परेका छन्। बुधबार बिहान स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए। आफूहरूलाई बुधबार बिहान ११ बजे खबर प्राप्त भएको र लगत्तै पुगेको उनले बताए।

प्रहरी नायव उपरीक्षक सापकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्राय मानिसहरू नजाने ठाउँमा कंकाल फेला परेको छ। जंगलको बीच र निकै अप्ठ्यारो ठाउँमा मानव कंकाल भेटिएको हो। त्यसको केहि माथि रूखमा सर्ट अर्थात् कमिज बाँधिएको अवस्था भेटिएको छ। त्यहि सटमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा एउटा झोलासमेत भेटिएको छ। झोलाभित्र रहेको रातो टि-सर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा लेखिएको छ। तर, पुरुष वा महिला कसको भन्ने अहिलेसम्म खुलेको छैन्। कंकाल कसको हो र के कारणले घटना भएको भन्नेबारे अनुसन्धान तीव्र पारिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।

कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ। २०७३ सालमा विद्यार्थी संगठनले ५५ जनालाई यस्तो खालको टि-सर्ट वितरण गरिएको अनेरास्ववियू पाल्पाका नेता पदम सोमैले बताए। घट्नाबारे आफूहरूले पनि खोजी गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.