मुख्यमन्त्रीले गरे अवलोकन

|

पोखरा : आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का केही खेल पोखरामा पनि हुनेछन्। पोखरामा फुटबललगायत विभिन्न खेलको प्रतिस्पर्धा हुनेछन्।

मुख्य प्रतियोगिताअन्तर्गत रहेको महिला फुटबल पोखरामा हुने नहुने शंका भइरहेका बेला निर्माणाधीन खेल मैदानको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवलोकन गरेका छन्। सागका लागि पोखरामा निर्माणाधीन पूर्वाधारको उनले अवलोकन गरेका हुन्।

फुटबल मैदानसहित अन्य खेल मैदान र भौतिक संरचनाको स्थलगत अवलोकन गरेपछि मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकारले गर्नुपर्ने कामको लागि कुनै पनि कसुर बाँकी राख्दैन।’ मुख्यमन्त्रीले आचरीको प्रशिक्षणमा रहेका खेलाडीलाई पनि भेटे। उनले सोधे, ‘तयारी कस्तो छ? पदक ल्याउनुपर्छ है। यहाँ तयारीको क्रममा कुनै समस्या भए भन्नुहोला।’ खेलाडी पनि पदक ल्याउन सक्दो प्रयास गरिरहेको जवाफ दिए। 

पोखराको रंगशालामा साग लक्षित संरचना निर्माणको लागि सबैभन्दा खटिएको नाम हो राजेश गुरुङ। राष्ट्रिय खेलकुद परिषदका सदस्य गुरुङले सरकारले बजेट निकासा नगर्दा समस्या भएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश सरकारले बजेटको व्यवस्था गर्न समेत आग्रह गरे। 

मुख्यमन्त्रीले भने, ‘साग हाम्रो इज्जत र प्रतिष्ठासँग जोडिएको छ। यहाँ सबै खेल संचालन गर्नको लागि तपाइँहरू लाग्नुहोस् अपुग रकमको हामी पनि व्यवस्था मिलाउँला।’ मुख्यमन्त्री गुरुङले क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, व्याडमिन्टन कभर्ड हल, पोखराको बहुउद्देश्यीय कभर्ड हललगायतको भौतिक संरचना अवलोकन गरे। 

पोखरामा सबैभन्दा चिन्ताको विषय बनेको फुटबल मैदान र स्टेडियमको काम पनि तीव्रगतिमा भइरहेको छ। यस अघि दुई पटकसम्म रोपिएको दुबो मरेपछि पुन भारतबाट दुबो झिकाई मैदानमा लगाइएको छ। 

खेल हुने समय अगावै सबै भौतिक निर्माणको काम सकिने पोखरा रंगशाला निर्माण कम्पनीका म्यानेजर इन्जिनियर दिपक बरालले जानकारी गराए। पछिल्लो पटक ल्याइएको दुबो नेपाल प्रहरीको सहयोगमा रोपिएको छ। अबको एक हप्तामा करिब १० हजार मानिस अट्ने प्याराफिट समेत तयार हुने बरालले बताए।

पोखरा रंगशालामा फुटबल स्टेडियमको निर्माण गर्ने जिम्मा भारतको  निर्माणको जिम्मा जिएसआई र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको लिएको छ।   

मोबाइल एप्स र वेभसाइटको उद्घाटन 

पोखरामा हुने सागका सबै खेलको अपडेटको लागि छुट्टै वेभसाइट र मोबाइल एप्स समेत बनाइएको छ। पोखराकै जिरोवान टेक्नोलोजी खेलका बारेमा सम्पूर्ण जानकारी गराउन वेवसाइट र मोबाइल एप्स निर्माण गरेको साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेजबहादुर गुरुङले मुख्यमन्त्रीलाई जानकारी गराए। 

उक्त वेभसाइट र मोबाइल एप्सको उद्घाटन मुख्यमन्त्री गुरुङले गरे। साग २०१९ डट ओआरजी वेभसाइटबाट पोखरामा हुने सबै खेलको अपडेट लिन सकिन्छ। यसमा काठमाडौँलगायत अन्य ठाउँको खेलको अपडेट पनि राखिएको हुन्छ।

१३ औं सागमा २७ खेल हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.