|

सल्यान : सल्यानको शारदा नगरपालिका ५ की ९१ वर्षीया लाली उदास बुधबार निकै खशी थिइन्। 'बूढेसकालमा फेरि आँखा देख्न पाएँ,' उनले खुशी हुँदै भनिन्, 'केही समय फेरि वरपर गर्नसक्ने भएँ।'

फेरि नयाँ जीवन पाएजस्तै भएको अनुभूति भएको बताउँदै उनले ‘अब कहिलै आँखा देख्न सक्दिनँ जस्तो लागेको थियो। तर अप्रेसनपछि फेरि आँखा देख्न सक्ने भएकी छु।’

शारदा नगरपालिका १ का दिपेन्द्र बस्नेत पनि नयाँ ज्योति पाउँदा निकै दंग थिए। 'हामीलाई यस्तो ज्ञान नै थिएन। बूढेसकालमा हुने समस्या नै भन्ठानेका थियौँ। मोतिबिन्दुका कारण बन्द भएका आँखा अप्रेशनपछि देख्न सकिदो रहेछ' उनले भने ‘धेरै पैसा लाग्छ की भनी उपचार गर्न सकिएको थिएन। तर, आँखाको अप्रेशन निःशुल्क हुनेरहेछ अहिले थाहा भयो।’

यस्तै गुमेको ज्योति फेरि पाउँदा गणेशकुमारी बस्नेतको अनुहारमा पनि निकै खुशी छाएको थियो। मोतिबिन्दुको उपचारपछि नयाँ दृष्टि पाउँदा खुशीको सीमा नरकेको उनले बताइन्। ‘हिजोसम्म मेरो संसार नै अन्धकार थियो। तर, आज मैले फेरि देख्न सक्ने भएकी छु।’

यिनीहरू त प्रतिनिधि पात्र मात्रै हुन्। तीन दिनसम्म चलेको निःशुल्क आँखा शिविरमा २ सय १८ जनाले नयाँ दृष्टि पाएका छन्। शितलपाटी आँखा अस्पतालमा चलेको तीनदिने निःशुल्क आँखा शिविरमा ७ सय १५ जना बिरामीको आँखा जाँच गरेका थिए।

डा. सुरेश रसायलीले राति पनि अप्रेशन गरिएको बताए। भाडाको घरमा बस्दै आएको आँखा अस्पतालमा प्रयाप्त वेडको अभावका बाबजुद पनि २ सय १८ जनाको आँखाको अप्रेशन गर्न सफल भएको शितलपाटी आँखा अस्पतालका वरिष्ठ नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले बताए।

सल्यानमा पछिल्लो समय आँखाको समस्या बढ्दो क्रममा रहेको उनले बताए। आँखा रातो हुने, पाक्ने, आँखा सुख्खा हुने, आँखा बिझाउने, आँखामा मासु पलाउने र चालिस कटेकालाई चश्मा लगाउनु पर्ने जस्ता समस्या देखिएको पन्तको भनाइ छ। शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.