|

काठमाडौं : केही समय अगाडि राजीनामा पत्र दिएर विश्व स्वास्थ्य संगठनमा जागिर खान पुगेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको राजीनामा अस्वीकृत भएको छ। गत कात्तिक १३ मा उनले सचिव पदबाट दिएको राजीनामा १७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले अस्वीकृत गरेको पत्र आएको मन्त्रालयले बताएको छ।

स्वास्थ्य सचिव चौधरीको राजीनामा अस्वीकृत भएको पत्र मंगलबार मात्रै स्वास्थ्य मन्त्रालय आइपुगेको मन्त्रालय स्रोतले बताएको छ। ‘मंगलबार मात्र हामीलाई राजीनामा अस्वीकृत भएको पत्र आएको छ' मन्त्रालय स्रोतले भन्यो।

राजीनामा अस्विकृत भएपछि उनको विश्व स्वास्थ्य संगठको जागिरसमेत धरापमा पर्ने भएको छ। स्वास्थ्य मन्त्रालयबाट सरकारले गत वर्ष उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसपछि उनले सरकारविरुद्ध मुद्दा हालेकी थिइन्।

स्वास्थ्य सचिव चौधरीले डब्लुएचओको भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएकी थिइन्। पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ।

उनले निवर्तमान उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजिनामा बुझाएको थिइन्। उनी गत असारमै डब्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह तहको पोष्ट)मा छनोट भइसकेकी छन्। डा चौधरीको सरकारी सेवामा अझै २ वर्ष कार्यकाल रहेको छ।

सचिव भएदेखि नै अप्ठ्यारोमा

तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराको पालामा सचिवमा बढुवा भएकी हुन्, डा चौधरी। डेढ वर्षअघि तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी फोरम, नेपाल) का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएको दुई महिनामानै सचिव चौधरी र मन्त्री यादव बीच खटपट सुरु भएको थियो।

जसले गर्दा अघिल्लो वर्षको असोज २८मा मन्त्री यादवले सचिव चौधरीलाई मन्त्रिपरिषद्बाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा फाजिल राख्ने निर्णयसहित सरुवा सिफारिस गरेका थिए। सो निर्णयविरुद्ध सचिव चौधरी सर्वोच्च अदालत गएकी थिइन्। सर्वोच्च अदालतले उनलाई स्वास्थ्य मन्त्रालयमै काम गराउन अन्तरिम आदेश दिएको थियो। सो आदेशसँगै उनी स्वास्थ्य मन्त्रालय फर्किए पनि उनलाई  कामकाजविहीन बनाइएको थियो।

उनी मन्त्रालयमा फर्केलगतै असन्तुष्ट बनेका मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा जनसंख्या र स्वास्थ्य क्षेत्र हेर्ने गरी दुई सचिव राख्ने निर्ण गरेका थिए। जसले गर्दा त्यसबेला प्रधानमन्त्री कार्यलयमा रहेका सचिव केदारबहादुर अधिकारीलाई अर्को सचिवका रूपमा स्वास्थ्य मन्त्रालय भित्र्याएका थिए।

एउटै मन्त्रालय दुई सचिव भएता पनि लामो समयसम्म सचिव चौधरीलाई भूमिकाविहीन बनाइएको थियो। दुई सचिवबीच टकराव बढेसँगै मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा दुई सचिवको दरबन्दी सिर्जना गरी एकलाई स्वास्थ्य क्षेत्र हेर्ने र अर्कोलाई प्रशासन तथा जनसंख्या हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो।

डा. चौधरीलाई कागजी रूपमा स्वास्थ्य हेर्ने जिम्मेवारी दिइएता पनि खासै भूमिका भने दिइएको थिएन। आफूलाई लगभग जिम्मेवारीविहीन बनाएसँगै असन्तुष्ट रहेकी उनले गत जेठमा नै सचिव पद छोड्ने मनस्थिति बनाएकी थिइन्। उनले विश्व स्वास्थ्य संगठनको पी-फाइभ लेभलको जागिरको लागि आवेदन दिएर नाम निकालेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.