|

काठमाडौं : नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पदभार सम्हाल्दै सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा दुईजना सर्जन (शल्‍यचिकित्सक) पठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।

यसअघि सुरुमा स्वास्थ्य सचिव खगराज बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन उठाएर पहिलो निर्णयको लागि हस्ताक्षरको लागि लगेका फाइलमा उनले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिएका थिए।

त्यसलगत्तै मन्त्री ढकालले अघिल्लो निर्णय आफूले बुझिने खाले नभएको भन्दै हस्ताक्षर नगरी दोस्रो फाइल ल्याउन निर्देशन दिएका थिए। सोहीबमोजिम स्वास्थ्य सचिव खगराज बरालले फाइल तयार पारेपछि  सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्य मन्त्रालय ११ औं तहका जनरल सर्जनद्वय डा हरि  सापकोटा र गणेश थापालाई पठाउने निर्णयमा उनले हस्ताक्षर गरेका छन्।

उनले स्वास्थ्य सचिवलगायत महाशाखा र शाखा प्रमुखहरूलाई छलफलका लागि बिहान ८ बजे नै कार्यालय आउन पनि निर्देशन दिएका छन्। १० बजेपछि सेवाग्राही आउँछन् उनीहरूको सेवामा लाग्नुपर्छ त्यसैले त्योभन्दा अघि नै हामी बसेर छलफल गर्नुपर्ने भन्दै उनले सबै कर्मचारीलाई आठ बजे नै मन्त्रालय आउन निर्देशनसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.