|

उदयपुर : कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिका प्रकाशनको संकलित रकमबाट भवन मर्मत तथा निर्माण सुरु गरेको छ। नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारेको स्मारिका पुस्तकको आम्दानीबाट भवन निर्माण/मर्मत सुरु गरिएको हो।

स्मारिकामा समावेश भएको सन्देशमूलक विज्ञापनबाट संकलित १३ लाख बजेटबाट भवन मर्मत तथा माथिल्लो तल्ला निर्माणको काम सुरु गरिएको केन्द्रका अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए। 

‘२० वर्षअघि बनेको भवन जीर्ण भई छतबाट पानी चुहुने भएको छ', उनले भने, ‘त्यसलाई मर्मतसम्भार, रङरोगन गरी माथिल्लो तलामा ट्रष्ट लगाई सभाहल बनाउने काम सुरु भएको छ।' भवनको सबै काम पूरा गरिसक्न ७८ लाख रुपैँया लाग्ने उनको अनुमान छ।  भवनमा कसैको नजर नपर्दा झ्याल, ढोका, शौचालय कामै नलाग्ने अवस्‍थामा पुगेकाले मर्मतसम्भार गर्ने सुरु गरिएको उनले बताए।

स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय गन्तव्यमध्येको एक पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी लाई समेटिएको छ।

त्यसैगरी, जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्व बोकेको रौतामाई गाउँपालिकाको रौतापोखरी, ताप्ली गाउँपालिकाको ताप्लिपोखरी, लिम्चुङबुङ गाउँपालिकाबाट देखिने हिमश्रृखला, बेलका नगरपालिकाको कोशिटप्पु बन्यजन्तु आरक्ष क्षेत्र, कटारी नगरपालिकाको भुगोलपार्क र त्रियुगा नगरपालिकाको श्रमिकपार्क, राधाकृष्ण लगायतका पर्यटकीय क्षेत्रको परिचयसहित तस्वीरहरु समेटिएको मिलन केन्द्रका सचिब कुमारबहादुर खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.