|

पाल्पा : जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ। उनको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए। ६७ वर्षीय बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन भएको हो।

फोक्सोमा समस्या देखिएपछि उनको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको थियो। पछिल्लो समयमा फोक्सोमा पानी भरिएर अवस्था जटिल बन्दै गएपछि बस्याललाई थप उपचारको लागि परिवारले काठमाडौं पुर्‍याएका थिए। स्व. बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापले ग्रस्त थिए।

नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेतासमेत रहेका बस्याल जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाको थामडाँडामा २००९ सालमा जन्मिएका थिए। नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य समेत बनेका बस्याल इमान्दार र निष्ठावान नेता रहेको नेकपाका नेता देवीप्रसाद बस्यालले बताए।

स्व. बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन विस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेको उनले बताए। एमए र विएडसम्मको अध्ययन गरेका बस्यालले लामो समय शिक्षण पेशा अंगालेको थिए। उनले दर्लमडाँडा माध्यमिक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए।

बस्यालको शव बिहीबार रातिसम्म तानसेन ल्याउने तयारी भइरहेको छ। शुक्रबार बिहान अन्तिम श्रद्धान्जलिका लागि उनको निवास र जिल्ला समन्वय समितिको प्रांगणमा शव राखिने पारिवारिक स्रोतले जनाएको छ। बस्यालका २ छोरा र २ छोरी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.