|

काठमाडौं : मन्त्री पद छाडेपछि रघुवीर महासेठले आफ्नै पालमा नेपाल सुरुङ मार्ग युगमा प्रवेश गरेको बताएका छन्। उनले आफ्नो २० महिने कार्यकालमा पानीजहाजदेखि रेल पूर्वाधारमा जग बसाउने काम गरिएकोसमेत दाबी गरेका छन्।

'काठमाडौं उपत्यकालगायत देशभरको यातायात व्यवस्था व्यवस्थित बनाउन मुलुकलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने कामसमेत अघि बढिसकेको छ' उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'मलाई विश्वास गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री ज्यूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु।'

उनले आफ्नो कार्यकालमा सडक र पुलमा अहिलेसम्मै हुन नसकेका काम सम्पन्न भएको दाबी गरेका छन्। पूर्वाधार विकास रातोरात हुने विषय नभएको उल्लेख गर्दै जुन उद्देश्यका साथ मेरो नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयले योजना अगाडि बढाएको छ, त्यसको परिणाम नेपाली जनताले निकट भविष्यबाटै प्राप्त हुने बताएका छन्। 'अब मेरो नेतृत्वमा अघि बढाइएका सम्पूर्ण योजनाहरू नवनियुक्त मन्त्री माननीय वसन्तकुमार नेम्वाङ ज्यूले पूरा गर्नुहुने विश्वास लिएको छु' उलने उल्लेख गरेका छन्।

उनले राजनीतिमा पद प्राप्ति सामान्य कुरा रहेको बताउँदै अब आफूले नेकपाको कार्यकर्ताका रूपमा र व्यवस्थापिका संसद्को सदस्यका हैसियतले पार्टी र सरकारले लिएको लक्ष्य पूरा गर्ने गन्तव्यमा लाग्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.