|
फाइल तस्विर

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले द्वन्द्वपीडितको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिए। विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पुराना पदाधिकारी दोहोर्‍याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले पीडितको चाहना र सरोकारवाला निकायको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताए।

अध्यक्ष दाहालले द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने  अडान पनि राखे। उनले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भीर ठहयाइएका घटनामा संलग्नहरूलाई माफी दिन नमिल्ने पनि बताए। समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाइ छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्वन्द्वकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए।

कांग्रेस नेता सिटौलाले राज्यले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्वीकार गरेर अघि बढनुपर्ने धारणा पनि राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.