|

पोखरा : आगामी मंसिर १५ देखि २४ सम्म चल्ने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण पदकको आशा गरेको खेल नै नहुने पक्का भएको छ। 

सागमा खेल हुनको लागि कम्तिमा पनि तीन राष्ट्रको सहभागिता हुनुपर्ने भए पनि १३ औँ सागको लागि नेपालसहित दुई राष्ट्रले मात्र सहभागिताको लागि नाम दर्ता गरेपछि नहुने पक्का भएको हो।

प्याराग्लाइडिङको लागि नेपाल र पाकिस्तानले मात्र नाम दर्ता गराएका थिए। आठ स्वर्णपदक राखिएको प्याराग्लाइडिङमा नेपालले सबै स्वर्ण ल्याउने आशा गरिएको थियो। प्याराग्लाइडिङ आयोजक राष्ट्रले छान्न पाउने दुई खेल मध्ये छानेको खेल हो।

आफ्नो देशका खेलाडीले धेरै स्वर्ण ल्याउने बलियो सम्भावना भएपछि खेल छानिने गरिन्छ। सहभागी राष्ट्र दुई मात्र भएकोले सागको खेल हुने लिस्टबाटै प्याराग्लाइडिङ बिहीबार हटाइएको छ। 

नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले भने,‘नेपालले प्याराग्लाइडिङबाट आठ स्वर्ण मध्ये छ वटा पक्कै जित्ने थियो। यसले देशको स्थानमा पनि माथि उक्लिने आशा थियो दुर्भाग्य भनौँ अरु देशले दर्ता नै गरेनन्।’ उनको अनुसार अरु देशमा प्याराग्लाइडिङका संस्थाहरू राष्ट्रिय ओलम्पिक खेलमा दर्ता नभएको कारणले सहभागिता हुन सकेनन्।

‘नेपालमा जस्तो ओलम्पिक कमिटिमा अन्य देशमा प्याराग्लाइडिङसँग सम्बन्धित संस्थाहरू दर्ता रहेनछन्,’ रावतले भने, ‘अन्य देशमा त्यस्ता संस्था नभई क्लबको रुपमा मात्र रहेछन्। त्यसैले समन्वय गर्न सम्भव भएन। केही कोशिस त गरेकै हो। सकिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.