फागुनभित्र उपत्यकाका सडकका खाल्डा पुर्नू

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीबार पहिलोपटक मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न पनि निर्देशन दिएका छन्।

‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने। अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्‍यो। अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु पर्‍यो।’

विकासका लागि सरकारको सामर्थ्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले काम कारवाहीमा तत्परता अपनाउन निर्देशन दिए। ‘सरकारले चाहेपछि त एक हप्तामा सडक चिल्लो हुँदो रहेछ नि भनेर जनताले भनिरहेका छन्’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘एक हप्तामा सबै चिटिक्क पार्न सक्नेले सधैँ चिटिक्क पार्न किन तत्परता नअपनाउने?’

प्रधानमन्त्री ओलीले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए। ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन।’

विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति कामअघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीको भनाइ थियो। निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘अहिले म आफैँ धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ। तर, जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरू कोही बसेको ठाउँ होस्।’

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सीधै कारवाहीको भागीदार हुने पनि चेतावनी दिए। ‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने, त्यो नेपाललाई गरिवीबाट मुक्त गर्ने यो सरकारको नीतिविपरीत काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरूलाई पनि गाडी छ, राम्रो तलब छ। यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, योभन्दा बढी के चाहियो? यदि कसैले लोभ गरेर तलमाथि गरे कारवाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु।’

सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तर, वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गरे। ‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुस्’ प्रधानमन्त्री ओलीले भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनु पर्दैन। काम गर्दै जाँदा विरोध गर्नेहरु नै आफैँ थाक्छन्।’

चार दिनपछि सबै मन्त्रालयबाट रिपोर्ट लिनेगरी अघिल्लो चौमासिक समीक्षाका लागि बैठक बस्ने पनि प्रधानमन्त्रीले बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.