|

भद्रपुर (झापा) : भद्रपुर विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको जनाएको छ।

मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो। ‘निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेर कार्य सकेको हो,’ चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘आजदेखि पुनः विमानस्थल आएको छ। अबदेखि नियमित उडान हुन्छ।’

विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो। जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो। धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो।

भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.