महन्थलाई सभामुख बनाउने चर्चा ‘वाहियात’

|
फाइल फोटो

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकै कारण एकता प्रक्रिया रोकिएको बताएका छन्।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पार्टी एकताका लागि समाजवादी पार्टीले अहिले पनि सरकारबाट बाहिरिनुपर्छ भन्ने पहिलो सर्त रहेको बताए। 
‘देशमा वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी पार्टीसँग एकता गर्न चाहेका छौं। तर उनीहरु सरकार छाड्न तयार छैन’, उनले भने, ‘सरकार नछाडेर वैकल्पिक शक्ति निर्माण हुन सक्दैन। त्यसैले एकता प्रक्रिया रोकियो।’

समाजवादी पार्टी बाहिरिएपछि राजपा सरकारमा जाने हो भन्ने जिज्ञासामा उनले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहा र कार्यकर्तामाथिको मुद्दा फिर्ता नभएसम्म सरकारलाई सहयोग पनि गर्न नसकिने बताए। 

नेता महन्थ ठाकुरलाई सभामुख बनाउने चर्चा वाहियात भएको बताए। उनले सरकारमा तत्कालै जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

संयोजक महतोले पार्टीमा अलग अलग गुट देखिएको स्वीकार्दै वडादेखि जिल्लासम्मको तदर्थ समिति गठनमा देखिएको विवाद मिलाउन २० दिनको समय दिएको जानकारी दिए। उनले विवाद नमिलेको ठाउँमा लोकतान्त्रिक प्रक्रिया अपनाएर तदर्थ समिति चयन गर्न निर्देशन दिएको उनको भनाई छ।

हिजोदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक भएका महतोलाई आज विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्। उनलाई स्वागत गर्न प्रदेश सांसद, जिल्लाका नेता तथा कार्यकर्ता पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.