|

दमक : नेपाल र भारत बीच देखिएको सीमा समस्याको प्रभाव खेलकुद क्षेत्रमा पनि देखिएको छ। सीमा समस्या चर्किएकै कारण विगतमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगीताको रूपमा झापामा हुँदै आएको भेट्रान फुटबल प्रतियोगीतामा यस वर्ष नेपाली टोलीले मात्रै भाग लिँदैछन्।

झापाको कमल गाउँपालिकामा सञ्चालन हुँदै आएको स्व. मेजर टंक राई स्मृटि भेट्रान फुटबल प्रतियोगीताको पाँचौ संस्करणमा यस वर्ष कुनै पनि विदेशी टिम छैनन्। मंसिर १५ देखि १८ गतेसम्म हुने प्रतियोगीता दमक लखनपुर भेट्रान क्लबको आयोजनामा हुन लागेको हो। अघिल्ला दुई संस्करणमा नेपालसहित भारत र बंगलादेशका भेट्रान फुटबल क्लब पनि प्रतियोगीतामा सहभागी थिए।

सन् २०१६ र २०१७ मा भएको प्रतियोगीतामा ती देशका क्लबलाई निमन्त्रणा गरिएको र सहभागीसमेत भए पनि यस वर्ष निमन्त्रणा नै नगरिएको क्लबका अध्यक्ष भोजकुमार राईले बताए।

‘सन् २०१४ र २०१५ मा नेपाली क्लबहरू बीच मात्र खेल खेलायौँ, त्यस पछि यसलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय आमन्त्रण बनाएका थियौँ,' उनले भने, 'तर, यस वर्ष चर्किएको सीमा समस्याले फेरि हामी विदेशी क्लबलाई नबोलाउने निर्णयमा पुग्यौँ।’

भारतबाट आएका खेलाडीलाई सीमा विवादकै कारण कुनै अप्रिय व्यवहार होला वा अरू कुनै समस्या निम्तिएला भनेर नबोलाइएको उनले जानकारी दिए।

नेपाली ८ टीम सहभागी

कमल-५ को गुहेश्वरी खेल मैदानमा हुने प्रतियोगीताको बिजेताले १ लाख ५ हजार र दोश्रो हुनेले ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छ।  कमल गाउँपालिका तथा कमल खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगीतामा काकडभिट्टा, चन्द्रगढी, धरान, विर्तामोड सँगै एभरेष्ट मोरङ्, युनाइटेड विराटनगर, हाम्रो इटहरी भेट्रान क्लब सहित आयोजकको टीम बीच प्रतिष्पर्धा हुनेछ।

खेल मूल समारोह समिति संयोजक मिन मगरका अनुसार प्रथम र द्वितीयसँगै विभिन्न विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने छन्। व्यावसायिक फुटबल खेल्ने उमेर बीचेका खेलाडी बीच प्रतियोगीता गरि सद्भाव कायम गर्ने तथा स्वास्थ्य प्रति खेलकुदको महत्व जगाउने उदेश्यले प्रतियोगीता गर्दै आएको क्लबका उपाध्यक्ष खड्ग राईले जनाएका छन्।

प्रतियोगीताका लागि ११ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव लालबहादुर बिष्टले बताएका छन्। २०६९ सालका स्थापित क्लबले भेट्रान फुटबलमा प्रदेश १ मा दर्विलो प्रभाव जमाएको छ। क्लबले हालसम्म विभिन्न प्रतियोगीतामा ११ स्थानमा प्रथम र ८ स्थानमा द्वितीय स्थान हाँसिल गरेको अध्यक्ष राईले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.