|

कञ्चनपुर : कञ्चनपुरका क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन्। बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन्। क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुन सकेको छैन।

जसको बजार मूल्य एक करोड २५ लाख ५० हजार रहेको छ। क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा बिक्री हुने गरेको छ।

यस वर्ष तेल खरिद गर्ने व्यापारी नआउँदा तेल बेच्न नपाएको क्यामोमाइल खेतीमा संलग्न शुक्लाफाँटा नगरपालिका ६ कसरौलका किसान बालाराम घिमिरेले बताए। तीन वर्षदेखि क्यमोमाइल खेती गर्दै आएका घिमिरेले तीन कठ्ठा जग्गामा एक किलो सुगन्धित तेल उत्पादन गरेका छन्।

'एकजना व्यापारी तेल खरिदका लागि पुगे पनि बजार मूल्यभन्दा आधा सस्तोमै खरिद गर्ने भनेपछि तेल बिक्री गरेका छैनौं' उनले भने, ‘यस क्षेत्रका १६ जना किसानले १२ किलो सुगन्धित तेल उत्पादन गरेका छन्।’

गत वर्ष क्यामोमाईलको प्रशोधित सुगन्धित तेल किसानले रु ५५ हजार प्रति किलोका दरले बिक्री गरेका थिए। शुक्लाफाँटा नगरपालीकाको कसरौल, बेलडाँडी, सिमलफाँटा र जुडाका गरी एक सय २३ जना किसानले एक सय २० किलो प्रशोधित सुगन्धित तेल उत्पादन गरेका छन्।

 जसको बजार मूल्य रु ६० लाख रहेको छ। बेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी र बैतडाका किसानले ९७ किलो सुगन्धित तेला उत्पादन गरेका छन। जसको बजार मूल्य रु ४८ लाख ५० हजार रहेको छ।

अमरबस्तीका किसान विमला चौधरीले भनिन्, ‘यस वर्ष असिना पानीले गर्दा तेलको उत्पादन कम भयो। व्यापारी तेल खरिद गर्न नआएकाले उत्पादित तेल घरमै थन्क्याउनुपरेको छ।’

दुई वर्षअघि बेलडाँडीका १३ जना किसानले मात्रै क्यामोमाईल खेती गरेका थिए। प्रगति महिला जडीबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्मबहादुर खड्काले भने, ‘क्यामोमाइलबाट मनग्य आम्दानी हुन थालेपछि ७० जना किसान यसमा लागेका छन्।’ 'तेल उत्पादन गरी भण्डार कक्षमा राखेका छौं खडकाले भने, ‘खरिद गर्ने व्यापारीको प्रतीक्षा गर्दै छौं।'

बहुउपयोगी तेल

क्यामोमाइलको प्रशोधित तेल व्यापारीहरुले सस्तोमै खरिद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन्। उत्पादित तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको,टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिन्द्रा, अम्लपित्त, अल्सर, जिउ पोल्ने समस्या

भएका बिरामीका लागि उपयोगी हुने गरेको छ।  क्यामोमाईलले पाचन शक्ति बढाउने र  उत्तेजना बढाउने कार्यसमेत गर्दछ। यसमा एन्टी अक्सीडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.