माथिल्लो कर्णाली जलविद्युतको पिपिए केही समयभित्रै

|

काठमाडौं : भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ। प्रवर्द्धक सतलज जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए।

‘अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ,’ उनले भने। सिइओ धिमानले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बताए।‘अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै सहजै भेट्टाउनेछौं,’ उनले भने,‘यो आयोजना भारत र नेपाल दुवैको लागि अति महत्ववपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नेछौं।’  कार्यकारी अधिकृत धिमानले तोकिएको समयमै सम्पन्न गरेर अन्य आयोजनाका लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए। 

‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं। त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं’ उनले भने। सतलज जलविद्युतले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ।

‘हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट  बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका छौं,’ उनले भने,‘सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।’ 

आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए। सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ। जसमा हिमाञ्चल प्रदेशको २५ .५१ प्रतिशत र बाँंकी  सर्वधारणको छ। कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ। २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ। 

माथिल्लो कर्णालीको केही समयभित्रै पिपिए हुने
जिएमआरका चिफ अपरेटिङ अफिसर हरविन्दर मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट जलविद्युत् खरिद गर्ने सहमति भएको बताएका छन। ऊर्जा सम्मेलनमा शुक्रबार जिएमआर कम्पनीको प्रस्तुति दिँदै उनले उक्त कुरा बताएका हुन्।

‘बंगलादेशको क्याविनेट बैठकले जिएमआरले उत्पादन गरेको बिजुलीको  पिपिए दर निर्धारण गर्ने सहमति दिइसकेको छ,’ उनले भने,‘अब बंगलादेशको  पर्चेज कमिटीले आवश्यक निर्णय गरेसँगै पिपिए गर्ने बाटो खुल्नेछ।’ जिएमआरका मोनोचाले अबको केही समयभित्रै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनभिभिएनसँग विद्युत् खरिद–बिक्री सम्झौता हुने बताए। कम्पनीले आगामी आर्थिक वर्षदेखि ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण थाल्ने जनाएको छ।

कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादन हुनेमध्ये पाँच सय मेगावाट बिजुली बंगलादेश र २९२ मेगावाट भारतीय एनभिभिएनलाई बिक्री गर्नेछ। बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ। जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिनेछ।  

सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। आयोजनाका अनुसार चालु आर्थिक वर्षभित्र पिपिए र साइट क्लियरलगायत काम सकेर सन् २०२० को अन्त्यदेखि निर्माण थाल्ने जनाएको छ। ‘सन् २०२० भित्र मुआब्जा र साइट क्लियरलगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिनेछ,’ चिफ अपरेटिङ अफिसर हरविन्दरले भने,‘माथिल्लो कर्णालीको जलविद्युत् आयोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गरिनेछ।’

जिएमआरले इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्सट्रक्सन (इपिसी) मोडलमा १ अर्ब ५० करोड अमेरिकी डलर (हालको विनियम दरअनुसार करिब १ खर्ब ७० अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ। सुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। नेपाल सरकार र जिएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा एमओयु भएको थियो।  

सन् २०१४ मा पिडिए सम्झौता भएको थियो। आयोजनाबाट उत्पादित बिजुली ४०० केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत तथा बंगलादेश निर्यात गरिनेछ।

इप्पानका कोषाध्यक्ष आनन्द चौधरीले कार्यक्रमको मोडरेट गर्दै नेपालमा जलविद्युत् क्षेत्रमा पर्याप्त सम्भावना भएकाले विदेशी कम्पनीले ढुक्क भएर लगानी गर्नुपर्ने बताएका थिए। कन्फेडेरेसन अफ नेपलिज इन्डष्ट्रिजका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको नवीकरण ऊर्जामा ढुक्क भएर लगानी गर्न अनुरोध गरेका थिए। 

सोही अवसरमा लगानी बोर्डका ऊर्जा विज्ञ सुनिल पौडैलले नेपालमा प्रशस्त मात्रामा जलविद्युत् आयोजना भएकाले ढुक्क भएर जलविद्युत् क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई अनुरोध गरेका छन्। ‘अहिले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने उपयुक्त समय हो,’ उनले भने,‘विदेशी लगानीकर्ताले ढुक्क भएर लगानी गर्नुहोस्। तपाईंहरूको लगानी कुनै पनि हालतमा डुब्दैन।’

लगानी बोर्डका पौडेलले  यसअघि भएको नेपाल इन्भेस्टमेन्ट समिटमा ५० परियोजना सो केसमा राखिएकोमध्ये ८ वटा जलविद्युतको भएको जानकारी गराएका थिए। ‘पश्चिम सेती जलविद्युत् आयोजना र एसआर ६ हाइड्रोइलेक्ट्रिक प्रोजेक्टमा कुनै पनि कम्पनी लगानी गर्न इच्छुक देखिएका छैनन्,’ उनले भने।

ऊर्जा सम्मेलनको क्रममा सुनकोशी दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना, सुनकोशी तेस्रो जलाशययुक्त आयोजना, अरुण जलविद्युत् आयोजना, माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजना, डोल्मा फन्ड म्यानेजमेन्ट सोलार लगायतका आयोजनाको बारेमा जानकारी गराइएको थियो।

प्रोजेक्ट सो केसमा सोलु कोरिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको विषयमा भिडियो प्रदर्शनी गरिएको थियो। त्यसैगरी, ४६५ मेगावाटको माथिल्लो तामाकोशो जलविद्युत् आयोजनाको पनि भिडियो प्रदर्शनी गरिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.