|

नेपागञ्ज : बाँके फत्तेपुर गाविस–७, सर्रीका ९ घर परिवारले आफ्नै पहलमा बायोग्यास प्लान्ट निर्माण गरेका छन्। जंगल फँडानीलाई कम गर्न र वन, जंगल तथा वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रूपमा बायोग्यास प्लान्ट निर्माण गरेका हुन्। बायो ग्यास प्लान्ट निर्माणपछि गाउँको भान्सा धुँवारहित भएको छ। 

कुल ७ लाख ३९ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको ३५ घनमिटर गोबर ग्यासबाट स्थानीय ९ घर परिवारका २२ जना लाभान्वित भएका छन्। सर्री सामुदायिक बायो ग्यास प्लान्ट उपभोक्ता समितिलाई गोबर ग्यास निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्र ३ लाख ५१ हजार, कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना (आईप्याक) ले २ लाख ४० हजार रुपैयाँ दिएकाे र उपभोक्ताले नगद १३ हजार र १ लाख ३१ हजार २ सय रुपैयाँ बराबरको जनश्रमदान गरेको हरियाली तरकारी उत्पादन कृषि समूहका अध्यक्ष खोजलाल थारुले जानकारी दिए। 

उनले गोबर ग्याससँगै महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा भएको एउटा शौचालय निर्माण समेत गरिएको बताए। ‘स्थानीयको सक्रियतामा विभिन्न दातृ निकायको सहयोगमा शौचालय र गोबर ग्याँस निर्माण गरेका छौं,’अध्यक्ष थारुले भने। गोबर ग्यास प्लान्टको बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेल र आद्रा नेपालका कन्ट्री डाइरेक्टर युवराज चौधरीले उद्घाटन गरेपछि स्थानीयले आइतबारबाट गोबरग्यास प्रयोग गर्न थालेका छन्। 

सर्रीका बासिन्दाले यसअघि जंगलबाट ल्याएको दाउराले खाना पकाउँदै आएका थिए। सहरभन्दा टाढा र सडक सुविधा नभएका कारण खाना पकाउन प्रयोग गरिने ग्यास सजिलै ल्याउन नसकिने भएकोले दाउराको विकल्प नभएको खोजलाल थारुले बताए। ‘अब दाउराको जोहो गर्ने र धुँवामा बसेर खाना पकाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ,’ उनले भने। 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.