|

जनकपुरधाम : राम-जानकी विवाह महोत्सवको अवसरमा जनकपुरमा १०८ जोडीलाई सामुहिक विवाह गराउने भएको छ। 

जनकपुरधाम १३ स्थित सीताराम विवाह मणि मण्डप विकास समिति र विश्व हिन्दू परिषद् नेपालको आयोजनामा सामुहिक विवाहको तयारी सुरु गरिएको हो। समितिले शुक्रबार पत्रकार सम्मेलन गरी दहेज प्रथा अन्त्य र मिथिलाको संस्कृति बचाउन मंसिर १६ गते सामुहिक विवाहको आयोजना गर्न लागेको जानकारी गराएको छ।

समितिका अध्यक्ष नारायण राउतले भगवान राम-सिताको विवाह भएको ऐतिहासिक स्थलमा १०८ जोडीको विवाह गराउने तयारी सुरु गरेको जानकारी दिए। उनले भने, ‘मणि मण्डप पनि संरक्षण अभावमा ओझेलमा परेको थियो। बाटोघाटो समेत थिएन। अब सडक पनि बनिसक्यो। केही समस्या छैन। त्यसैले यसवर्षदेखि सामुहिक विवाहको परम्परा सुरु गर्न लागेका छौं।’

यस्तै समितिका उपाध्यक्ष रामअशिष दासले सामुहिक विवाह गर्ने इच्छुक ४० जोडी सम्पर्कमा आइसकेको जानकारी दिए। उनले अन्य इच्छुक जोडीहरूलाई सम्पर्कमा आउन आह्वान समेत गरे। समाजमा जडा गाडेको दाइजो प्रथा समाप्त पार्ने उद्देश्यले सामुहिक विवाहको आयोजना गर्न लागेको उनको भनाई छ।

सबै जोडीको स्वयंम्बर एकै ठाउँमा हुने र विवाहमा गरिने सिन्दुर दान लगायतका अन्य कार्यक्रमका लागि १०८ मरबा (घर) निर्माण कार्य सुरु भइसकेको आयोजकले जनाएको छ। सामुहिक विवाह गराउँदा बेहुला-बेहुलीलाई खाना पकाउने ग्याँसदेखि लिएर लत्ताकपडासम्म उपहार दिने जनाएको छ।

विवाहमा लाग्ने सम्पूर्ण समान समेत आयोजकले नै व्योहोर्ने छ। सामुहिक विवाह गराउन करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। प्रदेश २ सरकारले १० लाख सहयोग गर्ने प्रतिवद्धता गरेको र बाँकी रकम चन्दा उठाएर खर्च गरिने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.