|

डोल्पा : डोल्पामा घोडाबाट लडेर हात भाँचिएकी एक शिक्षिकाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ बस्ने ३३ वर्षीया नव नियुक्त शिक्षिका यसोदा वलीको घोडाबाट लडेर दायाँ हात भाँचिएपछि सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

बिहीबारमात्रै शिक्षा विकास तथा समन्वय इकाईबाट नयाँ नियुक्ति लिएकी वली आफू पदस्थापना भएको उपल्लो डोल्पामा पर्ने बिद्यालयमा हाजिर हुन जाने क्रममा शुक्रबार शे-फोक्सुडो गाउँपालिका ८ मा पर्ने र्‍याचीमा लडेर यस्तो घटना घटेको हो।

शिक्षिका वली नयाँ नियुक्ति लिएर शे-फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने पुग्मो गाउँस्थित गौतमबुद्ध आधारभूत विद्यालय जाँदै थिइन्। हात भाँचिएको पीडा सहन नसकेर शिक्षिका वलीले ब्यक्तिगत पहलमा चार्टरमा हेलिकोप्टर बोलाएपछि उपचारकोलागि पोखरा लगिएको छ।

हवाई सेवा प्रदायक जिजी कम्पनीले डोल्पासम्म हेलिकोप्टर रिर्जभमा बोलाएकोमात्रै पाँच लाखदेखि आठलाखसम्म रकम लिने गर्दछ। उपल्लो डोल्पाका बिभिन्न गाउँबस्तीसम्म पुग्न अप्ठेरो भिरको घोरेटो बाटो र अग्ला लेक चड्नुपर्ने भएकाले उपल्लो डोल्पाको यात्रा चुनौतिपूर्ण मानिन्छ।

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पर्याप्त विशेषज्ञ डाक्टर, आवाश्यक उपकरण नभएकाले सामान्य खाले मात्रै शल्याक्रिया हुन्छ। डोल्पालीको आसालाग्दो अस्पतालमै जटिल प्रकारका शल्याक्रिया नहुने भएपछि गम्भीर प्रकृतिका बिरामी, लामो समयसम्म सुत्केरी हुन नसकेका महिलालाई लाखौँ रुपैयाँ तिरेर हेलिकोप्टर रिर्जभ गरेर शहरका सुविधायुक्त अस्पतालमा पठाइन्छ।

गम्भीर बिरामी परेर पनि आर्थिक स्रोत बलियो नभएर हेलिकोप्टर झिकाउन नसक्ने डोल्पाली नागरिक उपचार नपाएरै अकालमै ज्यान गुमाएका कैयौँ उदाहारणहरू पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.