|

काठमाडाैं : मानवअधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेशनलले सर्च इन्जिन गुगल र सामाजिक संजाल फेसबुकको व्यापार मोडलले मानवअधिकारमा खतरा निम्त्याउने विश्लेषण गरेको छ।

एमनेष्टीले एक प्रतिवेदन जारी गर्दै अमेरिकन मल्टिनेश्नल टेक्नोलोजी कम्पनी गुगल र सामाजिक सञ्जाल कम्पनी फेसबुकले गर्ने व्यापक निगरानीलाई लिएर चिन्ता व्यक्त गरेको हो। दुवै कम्पनीका प्ल्याफर्मले मानवअधिकारलाई ठूलो क्षति पुर्‍याउने अवस्था सिर्जना गरिरहेको एमनेष्टीले बताएको छ। एमनेष्टीको प्रतिवेदनमा गुगल विश्वभरमा ९० प्रतिशतभन्दा धेरै प्रयोग हुने सर्च इन्जिन भएको र विश्वभरका कुल जनसंख्याको एक तिहाइले हरेक दिन फेसबुक प्रयोग गर्ने गरेको उल्लेख छ।

एमनेष्टीका महासचिव कूम नायडूका अनुसार अर्बाैं मानिससामू फेसबुक र गुगलको निर्धारित शर्तसहितको सार्वजनिक थलो प्रयोग गर्नुबाहेक कुनै व्यावहारिक विकल्प छैन। ५८ पेजको प्रतिवेदनमा एमनेष्टीले गुगल र फेसबुकको व्यापार मोडललाई अर्बौं मासिनको विश्वव्यापी निगरानी गरिरहेको उल्लेख गरिएको छ। मानवअधिकारवादी संगठनले दुवै कम्पनीहरूको आधारभूत बिजनेस मोडलमा मौलिक परिवर्तन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याएको छ।

फेसबुक र गुगलले आफ्नो सेवाको बदलामा कुनै शुल्क नलिए पनि उपभोक्ताहरूले आफ्नो व्यक्तिगत डेटाको रूपमा यसको मूल्य चुकाइरहेको प्रति एमनेष्टी चिन्तित देखिएको छ। उसले सबै देशका सरकारहरूसँग डेटाको सुरक्षा सम्बन्धित कानून बनाउन, अझ प्रभावकारी ढँगले नियमन गर्न, निगरानीमा आधारित व्यापार मोडेलका आधारमा अनुसन्धान गरी सुधार गर्न अपिल गरेको छ।

तर, फेसबुकले एमनेष्टीको उक्त रिपोर्टमा असहमती जनाएको छ। कम्पनीले आफूले मानवअधिकारलाई सशक्त गरिररहको दाबी गरेको छ। फेसबुकले आफ्नो व्यापार मोडेल विज्ञापनहरूमा आधारित भएको र मानिसहरूलाई आफ्नो आवाज उठाउन र एकजुट हुन मौका दिएर मानवअधिकारलाई बढावा दिएको तर्क गरेको छ। यस्तैगरी गुगलले प्रयोगकर्ताहरूको विश्वासको सम्मान गर्ने भन्दै डेटा सुरक्षा आफ्नो जिम्मेवारी भएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.