|

दाङ : दाङको घोराहीमा एकै ठाउँमा ५० भन्दा बढी प्रकारका चिया पाइने पसल संचालनमा आएको छ। करिब १० लाख लागतमा घोराही उपमहानगरपालिका १५ काठेकोहोल चोकमा खुलेको किट्ली टि टाउनमा ५० बढी प्रकारका चिया पाइने भएको छ।

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा चर्चित मानिएका चिया अब एउटै ठाउँमा पाइने गरी किट्ली टि टाउन सञ्चालनमा ल्याएको संचालक अनु क्षेत्रीले बताइन्। 'नेपालमा पनि लामो समयदेखि चिया खाने प्रचलन सुरु भएको छ, र अहिले चिया मानिसको जीवनको अभिन्न अंगको रूपमा हेर्न थालिएको छ' उनले भनिन् 'त्यसैलाई मध्यनजर गरी  जिल्लामा पहिलो यस्तो व्यवसाय सुरु गरेको हो।'

नेपालका विभिन्न स्थानमा पाइने चिया र अन्तर्राष्ट्रिय बजारमा पाइने चिया अब किट्ली टि टाउनमा पाउन सकिनेसमेत उनले बताइन्। गाउँघरमा पाइने विभिन्न जडिबुटीका चियादेखि दाङमा पाइने सामान्य चिया र नेपालका विभिन्न स्थानमा पाइने चियासमेत किट्ली टि टाउनमा पाइने अर्की सञ्चालिका हिमानी डिसीले बताइन।

'दाङमा अहिलेसम्म सामान्य रुपमा मात्र चिया पिउने गरेको पाइन्छ, अहिले चियासँग मानिसको स्वास्थ्य र प्रतिष्ठासमेत जोडेर हेर्ने गरिएको छ' ,उनले भनिन्, ‘एउटै पसलमा ५० भन्दा बढी प्रकारका चिया पाउने ठाउँ बनेको छ, शरीरको स्वास्थ्यलाई ख्याल गरेर चिया पिलाउने वातावरण बनाएका छौँ।’

चिया मानव शरिरको लागि फाईदाजनक पिय पदार्थ हो। तर प्राय मानिसले चियाले पेटलाई समस्या गर्छ भन्ने तरिकाले बुझ्ने गरेको उनको भनाइ छ। ‘चिया भनेको मान्छेको मुडअनुसार पिउने कुरा हो। चिया पिउनका लागि मात्र होइन, यसले शरीरलाई ताजापन दिन्छ, स्वफुर्ती बढाउछ', सञ्चालक क्षेत्रीले भनिन्, ‘चियाले सम्बन्ध बढाउनेदेखि सिर्जनशीलतासमेत बढाउने गरेको अध्ययनले देखाउछ, हामीलाई थाहा छ, अक्सर गहिरो अध्ययन गर्ने, लेख्नेले चिया बढी पिउने गर्छन्।’

जिल्लाको विकासमा एउटा सानो गति दिनको लागि समेत फरक खालको व्यवसाय सञ्चालन गरेको क्षेत्रीको भनाइ छ। ‘जिल्लामा पहिलो भएका कारण सञ्चालनमा समस्या हुन्छ भन्ने बुझाइ पनि छ, तर त्यसो हैन' उनले भनिन्, 'एकै ठाउँमा ५० बढी चिया पाउने ठाउँ सबैको आकर्षणको केन्द्र बन्छ भन्ने आशा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.