|

डोटी : गाउँ जोड्नका लागि निर्माण भएका ग्रामीण सडकले मुख्य राजमार्ग बिगारिरहेका छन्। मूल सडकमा जोडिएका ग्रामीण सडकको माटो पर्ने तथा माथिबाट पानीले बगाएर सडकमा ल्याउने भएका कारण हिलाम्य धुलाम्य हुने गरेका छन्।

डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका-२ मा रडुवा-कलारैमाडौं-वडाल सडक निर्माण हुँदैछ। मेसिनद्वारा कटिङ भइरहेको उक्त सडकको माटो केआई सिंह राजमार्गमा थुप्रिएर नाली बन्द भएको छ।

स्थानीय टेकबहादुर मल्ललाई आफ्नै जमिनबाट कटिङ भइरहेको उक्त सडकको विषयमा जानकारी छैन। उनी सडक कसले काट्दैछ, कसको लगानी हो भन्ने विषयमा कुनै जानकारी नभएको बताउँछन्। ‘सडकले  मेरो जमिन मास्दैछ। तर, मलाई कुनै जानकारी छैन’ उनी भन्छन् ‘मेरो जमिन मासिएर भए पनि दूरदराजमा गाडी पुग्छ भने ठीकै छ भनेर चुप लागेँ।’

प्रदेश सरकारको बजेटबाट ठेक्कामा काम भइरहेको उनले सुनेका छन्। तर कतिको ठेक्का हो भन्ने थाह छैन उनलाई। उनी सडकले स्थानीयलाई भने फाइदा भएको बताउँछन्।

गाउँमा सडक लैजाने नाममा मुख्य सडक बिग्रेकोप्रति भने उनी चिन्तित् छन्। उनी भन्छन् ‘गाउँतिर सडक जानु त ठीकै हो। तर, माटो मुख्य सडकमा फालेर मुख्य सडक बिग्रिरहेको छ, माथिबाट पहिलो आएर सडक बन्द हुने अवस्थामा छ।'

गन्यापधुराकै वडा नं. ३ को गुयलीखेल-हल्देगर्खा-डिले-वडाल सडकको अवस्था पनि उस्तै छ। बर्खामा कच्ची सडकबाट माटो बगेर मुख्य सडकमा जम्मा भएपछि सडकको पिच उप्किएर नाली बन्द छ। माटोले अहिले पनि सडक साँघुरो बनाएको छ।

स्थानीय अमरबहादुर साउँद भन्छन् ‘एकपटक त गाउँपालिकाको डोजरले सफा गरेको थियो। फेरि माथिबाट माटो आइहाल्यो, गाउँपालिकाको आफ्नै डोजर छ, अझ सफा गर्लान नि!’ उनलाई पनि यो सडक कसले काट्दैछ, कति रकम हो भन्ने थाह छैन। भन्छन् ‘गाउँपालिकाको पैसाले हो भन्ने सुनेको छु।’

डोटी शिखर नगरपालिका-६ मा अड्यौलबाट सुर्खाल जोड्ने सडक काटिएको डेढ वर्ष भयो। 'गाडी चल्ने खालको सडक होइन यो र गाडी चल्दैनन् पनि', एक स्थानीयबासी भन्छन् ‘डोजरले सडक काट्दाखेरी एक जनाले मोटरसाइकल लगेको याद छ, त्यसपछि गाडी गएको मैले देखेन।’

तर, त्यो शाखा सडकले मुख्य सडक केआइसिंह राजमार्ग भने बिगारेको छ। सडक काट्दा फालिएको माटो बगेर मुख्य सडकमा आएपछि नाली र हमपाइप दुवैमा बुझो लाग्यो। सडक विभागले कल्भर्ट बनाउनु पर्‍यो। सडक काटिएपछि वर्षाको समयमा माथिबाट ढुंगा खस्ने गरेको एक अर्का स्थानीयले बताए।

डडेल्धुरा गन्यापधुरा-२ को रडुवादेखि डोटी शिखर नगरपालिका-१ समुहगाडसम्म करीव ४५ किलोमिटरको दूरीमा २० शाखा सडकहरू काटिएका छन्। सडक काट्ने नाममा मेसिनले कुनै डाँडो बाँकी छैन।

‘०४६ सालको राजनीतिक परिवर्तनले गाउँगाउँमा विद्यालय खोल्ने होड् चल्यो, अहिलेका स्थानीय सरकारहरूले सडक काट्नेमा प्रतिस्पर्धा गरिरहेका छन्’ गन्यापधुरा-३ का बासुदेव अवस्थी भन्छन् ‘त्यतिबेला विद्यालय खोल्ने होड पनि बिनायोजनाको थियो, अहिले सडक काट्ने प्रतिस्पर्धा पनि बिनायोजनाको छ।’

उनले त्यतिबेला देखासिखीमा खोलिएका विद्यालय नामका मात्रै रहेको बताए। ‘ती विद्यालयमा न भौतिक पूर्वाधार राम्रो छ, न विद्यार्थी संख्या छ, न गुणस्तरीय शिक्षा छ’ लामो समय शिक्षण पेशामा रही सेवा निबृत्त भएका अवस्थी भन्छन् ‘बन्द गर्न खोज्यो राजनीतिक मुद्दा हुन्छ, चलाउन सकिदैन।’

त्यस्तै अवस्था यी सडकको हुने उनी बताउँछन्। कमिसनको लोभमा मेसिनले सडक काट्ने गरेको बताउँदै उनले थपे ‘भोलि न त यी सडकको मर्मत सम्हार हुनेछ, न स्तरोन्नति, प्रकोप जोखिम मात्रै बढेको छ।’ 

शाखा सडकले मुख्य सडक बिगारेको बताउँछन् डिभिजन सडक कार्यालय डोटीका प्रमुख बलीराज मल्ल। ‘उहाँहरूले (स्थानीय र प्रदेश सरकार) सडक काट्नु हुन्छ, माटो मुख्य सडकमा थुपारिदिनुहुन्छ, नाली बन्द हुन्छ, अनि पानी सडकमा बगेर पिच उप्किन्छ’ मल्ल भन्छन् ‘हामीसँग मर्मतका लागि रकम पनि थोरै हुन्छ, मर्मत गर्नै सकिँदैन।’ उनले शाखा सडक काट्ने क्रममा डिभिजन कार्यालयसँग कुनै समन्वय नहुने गरेको बताए।

‘हामीले यस विषयमा डोटी र डडेल्धुराका स्थानीय तहहरूलाई पत्राचारसमेत गरिसकेका छौँ, तर पनि रोकिएको छैन’ मल्लले भने ‘मैले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री ज्यूलाई पनि यो समस्याका विषयमा जानकारी गराएको छु, उहाँले म बुझ्छु भन्नु भएको छ।’

यस विषयमा डोटी र डडेल्धुराका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको उनले बताए। जथाभावी शाखा सडक काट्नाले आफूहरूलाई निकै समस्या भएको उनी बताउँछन्।

जंगलभित्र सडक काट्दा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि स्थानीय र प्रदेश सरकारले इआइए नगरेरै सडक काट्ने गरेको बताउँछन्, डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारी।

‘मैले जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रममा स्थानीय तहका प्रमुखहरूलाई जथाभावी सडक नकाट्न अनुरोध पनि गरेको थिएँ, तर उहाँहरू उल्टो थर्काउनु हुन्छ’ तिवारी भन्छन् ‘हामी स्थानीय सरकार हो हामीले सडक काट्न पाउनु पर्छ भन्छन्, अनि हामी के गर्न सक्छौँ।’

यस वर्षदेखि कडाइ गर्ने तिवारी बताउँछन्। नयाँ काट्ने सडकहरूको इआइए गर्नका लागि सबै स्थानीय तहहरूलाई सचेत गराई सकेको उनी बताउँछन्। उनले भने, ‘हामीले पटकपटक सचेत गराएका छौँ तर कानूनी प्रक्रियामा भने यो विषय लगेका छैनौँ।’  

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शाखा सडक निर्माण गर्दा मुख्य सडकलाई क्षति नहुने गरि गर्न सम्बन्धित स्थानीय तहहरूलाई पत्राचार गरिएको जानकारी दिए। ‘सडक कार्यालयबाट स्थानीय तहलाई पत्राचार गरेको बोदार्थ हामीलाई आएको थियो’ पौडेलले भने ‘मैले कार्यालयबाट सोहीअनुसारको पत्राचार गरेको छु।’ शाखा सडक काट्दा मुख्य सडकलाई क्षति भएको पौडेल पनि बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.