मेलाका लागि स्टल भरिँदै, बलिका लागि राँगा भित्रिँदै

|

बारा : विश्व प्रसिद्ध बाराको गढीमाई मेला ३ मंसिर आइतबारदेखि सुरु भइसकेको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा एक महिने मेलामा लाखौं श्रद्धालु पुग्छन्।

एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको मेला व्यवस्थापन मूलसमितिका महासचिव मोतिलाल कुशवाहाले बताए। मेलामा भारतीय तथा स्वदेशी भक्तजनहरुको निकै ठूलो सहभागीता हुने गर्छ। नेपालसहित भारत, भुटान तथा अन्य देशबाट पनि भक्तजन बारामा आउँछन्।

यस्तो व्यवस्थापन

वर्षौदेखि मेला सञ्चालन गर्दै आएको गढीमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र महागढीमाई नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरिरहेका छन्।

मेलाका लागि ७२ सदस्यीय मूलव्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। पशुबलिको समयमा भक्तजनको धेरै भिड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइ रहेको मेला मूलसमितिले जानकारी दिएको छ।

मेला सुरु भएपछि श्रद्धालुहरुको संख्या बढ्दै जाने गरेको र श्रद्धालुहरुको सेवा सुविधाको लागि मेला क्षेत्रमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढीमाई नगरपालिकको प्रमुख उपेन्द्र यादवले बताएका छन्।

एकमहिने मेलामा ७० लाखभन्दा बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गर्ने र श्रद्धालुहरुलाई रातिको बासको नि:शुल्क टेण्टको व्यवस्थाको गरिएको यादवले दाबी गरे। नि:शुल्क सेवा दिन उदेश्यले निर्माण गरिएको टेण्टमा एक पटकमा ८० हजारदेखि एक लाख श्रद्धालुहरु बस्ने सकिने यादवले बताए।

सुरक्षा तयारी

लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने छ। पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलिको समयमा दशौँ लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ।

गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ। मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ।

बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणी पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताए।

सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने बाराको प्रहरी उपरीक्षक बिकाश राज खनालले बताए। गढीमाई मन्दिरमा डिएसपीको कमान्डमा टोली परिचालन गरिएको बताए। कुनै किसिमको अपराधी क्रियाकलाप हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको उनले बताए। उनले मेलाको अवसरमा केही अपराधी क्रियाकलाप जस्ता गतिविधि देखिएमा प्रहरीमा तुरुन्त जानकारी दिएर सहयोग गर्नसमेत आग्रह गरेका छन्।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्‍जितसिंह राठौरले मंसिर पहिलो साता ट्राफिक प्रहरीसहित एक सय सुरक्षाकर्मी मेलाका लागि परिचालन हुनेछन्। भिड बढ्दै गएपछि मंसिर १० गतेदेखि सात सयको संख्यामा ट्राफिक प्रहरी सहित नेपाल प्रहरी खटिने राठौरले जानकारी दिए।

मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको छ। मेलाको समयमा ड्रोन केमराबाट समेत निगरानी गर्ने तयारी गरिरहेको राठौंरले बताए।

मदिराजन्य पदार्थ बिक्रीमा रोक

मेला अवधिभर उक्त क्षेत्रमा मदिरा जन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पोखेरलले जानकारी दिए।

मेला हेर्ने श्रद्धालुको चाप बढ्दै

बलिका लागि प्रसिद्ध गढीमाई माताको दर्शन गर्न भक्तजनको आगमन बाक्लिदै गएको छ। मंसिर १ बाटै विधिवत मेला शुरु भए पनि भाकल गरेकाहरु दोस्रो सातामात्र मन्दिर पुग्छन्। तर अहिले दर्शन गर्ने र भाकल गर्न मन्दिरमा पुग्नेको चाप बढ्दै गएको मन्दिरका मूल पूजारी मंगल चौधरीले बताए। प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेका इतिहास छ।

४० लाख भारतीयको धार्मिक पर्यटक

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्र्याउने ठूलो माध्यम बन्ने देखिएको छ।

विश्वमै सबैभन्दा बढी एकै साथ पशुबलि दिने गढीमाईको पाँच बर्षिय मेला आउने मंसिर १ देखि एक महिनासम्म लाग्ने र मेलामा नेपाल, भारत लगायत तेस्रो मुलुकबाट ६० लाख हिन्दु श्रद्धालुहरु दर्शन गर्न आउने विश्वास गरिएको छ।

मेला हेर्न आउने श्रद्धालुहरुमध्ये ६० भारतीय हुने गरेका छन्। ४० लाखको हाराहारीमा भारतीय धार्मिक पर्यटक गढीमाई मन्दिरमा आउने भएकाले नेपालका प्रमुख धार्मिक गन्तव्‍य पशुपति, मुक्तिनाथ, बराह क्षेत्र, लुम्बीनी, जनकपुरधाम क्षेत्रको प्रचारप्रसार गर्ने महत्वपूर्ण अवसर हुने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए।

पाँच वर्ष अघि लागेको गढीमाईको मेलामा ४५ लाख जति श्रद्धालुहरु आएको र त्यसमा ३० लाख जति भारतीय रहेको अनुमान छ।

पशु बलिले ख्याति

गढीमाई पञ्च वर्षीय मेला पशुबलिको कारण संसारभर परिचित छ। दक्षिण एसियाकै सबैभन्दा धेरै बलि चढ्ने मेलाका रुपमा गढीमाईको चर्चा छ। यो वर्ष मंसिर १७ र १८ गते पशुबलिको तयारी गरेको छ। १७ गते राँगा र १८ गते बोकाको बलि दिइने छ। बलि दिनका लागि भारत विहाराको सितामणी र सिवार जिल्लाबाट भक्तजनले २० दिन अघिबाटै समितिलाई राँगा व्यवस्थापन गर्न बुझाउन थालिसकेका छन्। समितिले कम्पाउण्डभित्र पशुहरुलाई आहारको व्यवस्थापन गरेको छ।

आफ्नो मनोकांक्षा पूरा भएको भन्दै भक्तालुले गढीमाईमा आफ्नो क्षमता अनुसार बलि चढाउने गरेका छन्। बलिका लागि मेला समितिले बधशालाको तयारी गरिरहेको छ। बधशालाभित्र राँगाको मात्रै बलि चढाइने गरिएको छ। राँगाबाहेक अन्य पशुपंक्षीको बलि मन्दिर परिसर र वरपरको क्षेत्रमा हुने गरेको छ।

यसरी सुरु हुन्छ बलि

बाराको बरियारपुरस्थित गढिमाई मन्दिरमा पञ्चबलि दिएपछि बलि सुरु हुन्छ। बलि दिइएका बोका भक्तजन आफैँले लान्छन् भने राँगा चाहिँ त्यहीँ छाडिन्छ। हिन्दू संस्कृतिमा पशु बलिलाई शक्तिसँग जोडिन्छन्। शक्तिकी देवीलाई बलि अनिवार्य हुन्छ।

विभिन्न क्षेत्रबाट चौतर्फी दबाब परे पनि हरेक पाँच वर्षमा लाग्ने बाराको प्रसिद्ध गढिमाई मन्दिरमा यसपटक पनि भक्तालुहरुको भाकल गरी ल्याइएको बलि चढाउन दिने समितिले जनाएको छ ।

भाकल गरी बलि चढाउन आउनेमध्ये ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली श्रद्धालुहरु रहने गरेको पञ्च वर्षिय मेला व्यवस्थापन समितिले जनाएको छ।

भारत सरकारले रोक लगाउन सक्ने भन्दै व्यवस्थापन समितिले पशुपंक्षी ल्याउन नसक्ने भारतीयहरुलाई रागांको ८ हजार,बोकाको ३ हजार र कुखुरालगायत पंक्षीको ३ सय रुपैंयाको दरले नेपालमै उपलब्ध गराउने जनाएको छ। कम्पाउन्ड लगाइएको स्थानमा अनुमति प्राप्त व्यक्तिले मात्र राँगाको बलि दिनेछ भने बोका, हाँस, र कुखुराको बलि पसाह खोलादेखि दुधौरा खोलाको सीमानाभित्र जहाँ पनि दिन मिल्ने समितिले जनाएको छ।

उनले बलि पूर्व पञ्च बलि दिएपछि विधिवत रुपमा बलि सुरु हुने पुजारी चौधरीले बताए। ‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ,’ पूजारी चौधरीले भने–‘त्यसपछि रातीभर पुजा हुन्छ। आफैँ बत्ती बलेपछि पञ्चबलि हुन्छ।’ पञ्च बलिमा बोका, सुँगुर, परेवा, कुखुरा र जंगलको मुसाको बलि दिइन्छ। त्यसपछि पहिलो बलि राँगा हुने र त्यसपछि भक्तजनले अन्य पशु बलि सुरु गरिनेछ।

पशुबलिको विरोध

सर्वोच्च अदालतले रोक्ने आदेश दिएको तथा विश्वब्यापी रुपमै विरोध हुँदै आइरहेको गढिमाई मेलामा हजारौँ पशुबलि हुने गरेको छ। गृह मन्त्रालयले हालै सार्वजनिक सूचना जारी गर्दै बलि निरुत्साहित गर्न सर्वसाधारण र सरोकारवालालाई आह्वान गरेको छ।

मेला नजिकिएसँगै पशु बलिको पक्ष र विपक्षमा बहस भइरहेको छ। पशुको संरक्षण र अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले पशुबलि नचढाउन आग्रह गर्दै अभियान चलाइरहेका छन्। धार्मिक आस्थासँग जोडिएको बलि प्रथा नियन्त्रण गर्न भने सहज छैन। २०७१ सालको मंसिर महिनामा लागेको पाँच वर्षीय गढिमाईको मेलामा लगभग ८० हजार जति पशुबलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन्।

सिनो नउठाउने

दलित समुदायद्धारा सिनो बहिष्कार दलित समुदायले सिनो बहिष्कार गर्ने निर्णय गर्दै बलि चढाएका राँगाको मासु नखान अभियान चलाएका छन्। बलि चढेका राँगाको मासु दलित समुदायले लैजाने गरेका थिए। दलित समुदायका अगुवाले अघिल्लो मेलामा पनि सिनो बहिष्कारको अभियान चलाएका थिए। तर यसपटक दलित समुदायको भेलाले सिनो बहिष्कार गर्ने निर्णय गरेको छ।

मेला समितिले हाट बजार, मनोरञ्जन र पार्किङको ठेक्का लगाएपनि यसपटक बलि चढेका राँगाको मासुको ठेक्का लगाएको छैन। अघिल्लो मेलामा समितिले बलि चढेका राँगाको ठेक्का लगाएपनि स्थानीय दलित समुदायले बलि चढेका राँगा आफैँले लगेका थिए। अघिल्लो मेलामा अभियान असफल भएपछि दलित समुदायका अगुवाले यसपटक महिनौं दिन अघिदेखि सिनो बहिष्कारको अभियान थालेका थिए।

भिआपीको आगमन

पर्यटनमन्त्री गढीमाई आउने धार्मिक पर्यटनको मुख्य आधारको रुपमा रहेको गढीमाई मेलाको विषयमा जानकारी लिन पर्यटनमन्त्री योगेश भट्टराई मंसिर २ गते बरियारपुर पुगेका थिए। पाँच वर्षीय मेलालाई भव्‍य र सर्वव्यापी बनाउनको लागि असोज १२ गते दशैको घटस्थापनाको दिन निकालिने शोभा यात्रा कार्यक्रमको राष्ट्रपति बिद्या देवी भण्डारीले फोनमार्फत सम्बोधन गरि समेत उदघाटन गरेकी थिइन्।

मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसके टेलिफोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम सम्वद्धण गर्दा यसले देशको पर्यटन क्षेत्रमा ठुलो मद्दत गर्ने विश्वय व्यक्त गरेकी थिइन्।

केही दिन पहिला मात्रै नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले गढीमाई मन्दिरलमा महागढिमाई नगरपालिका १ बरियारपुरमा केही दिन पहिला गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन मुल समितिको कार्यालय समुद्घघाटन गरेकी थिईन्।

नेतृ डाक्टर देउवाले धार्मिक कार्यक्रममा लाखौ श्रद्धालुहरु एकैचोटी भेला हुने अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौ श्रद्धालुहरु आउने गरेकोले गढीमाईको मेला नेपालको कुम्भको संज्ञा दिइन्।

पर्यटन प्रचार प्रसारको अवसर

मेला भर्न भारतको धेरै जनसंख्या भएको राज्यहरु बिहार, उत्तर प्रदेश, पश्चिम बंगालको बिभिन्न भागहरुबाट श्रद्धालु आउने भएकाले नेपालको पर्यटनको प्रचार गर्ने अवसर रहेको छ।

गढीमाई मेलाको बारेमा भारतमा गएर प्रचार गर्दा बढी भन्दा बढी भारतीय धार्मिक पर्यटकहरु मेला हेर्नको लागि नेपाल आउने र नेपाल आएका धार्मिक पर्यटकहरुलाई देशका अन्य भागमा रहेका धार्मिक, ऐतिहासीक तथा पर्यटकीय स्थानहरुसम्म लैजाने अवसर सरकारले गुमाएको छ।

संघीय सरकारले पर्यटक सुचना केन्द्र स्थापन गर्न देखि लिएर देशको अन्य भागहरुमा जाने सवारी साधनहरुको सहज उपल्बध गराउँदा गढीमाई मेलाले देशको पर्यटन क्षेत्रलाई ठुलो फाइदा पुर्‍याउन सकिने सम्भावन रहेको महागढीमाई नगरपालिकाका मेयर यादवले बताए।

सरकराले पर्यटकहरुलाई नेपाल भित्र्याउनको लागि बिभिन्न कार्यक्रम गरि रहेको बेलामा मेलालाई हेर्न आउने धार्मिक पर्यटकहरुलाई  देशको बिभिन्न भागमा घुमाउनको लागि बिशेष प्याकेजका कार्यक्रमहरु लागू गर्न जरुरी रहेको यादवले बताए।

अहिले महागढिमाई नगरपालिकाले मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकहरुलाई लोभ्याउनको लागि पोखरी मुनी भूमिगत सिस महल र माथि सूर्य मन्दिर रहेको छ।

यसरी मिल्यो विवाद

व्यवस्थापन समितिले गर्ने कि नगरपालिकाले गर्ने भन्नेमा लामो समय राजनीतिक विवादमा अल्झेको गढीमाई मेलाका लागि केही दिन अगाडी सयूक्त रुपमा समिति गठन भएको थियो। मेला भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर संचालन समितिबीच सहमति गरेका थिए। बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालको मध्यस्थकर्तामा दुबै पक्षले ७ बुँदे सहमति गरेका थिए।

महागढीमाई नगरपालिकाले वडा १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा गठन गरेको पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर संचालन तथा विकास समितिबाट उपाध्यक्षमा दुई जनाको नाम समावेश गर्ने, मेलाबाट उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिको तर्फबाट दुई दुई जनाको

नाममा संयक्त बैक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला संचालनको लागि गठित विभिन्न उपसमिति मध्ये मनोरन्जन उपसमितिको गठन नगरपालकाको तर्फबाट जग्गा व्यवस्थापन उपसमितिको गठन सहमतिले गर्ने, लगायतको सात बुँदे सहमति भएको थियो। 

गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले यस वर्षको पञ्चवर्षीय गढीमाई मेलालाई अन्य वर्षको भन्दा सभ्य र मेलाको बारेमा राम्रो सन्देश दिनको लागि नगरपालिकासँग सहमति गरिएको बताए।

कसरी पुग्ने गढीमाई

गढिमाई मन्दिर बारा सदरमुकाम कलैयाबाट ६ किलोमिटर पूर्वमा पर्छ। यसपटक मन्दिर पुग्ने अघिल्लो वर्षभन्दा निकै सहज भएको छ। वीरगञ्ज–बरियारपुर र मानमत–मटिअर्वा हुलाकी सडकको निर्माण भएकाले सहज हुने भएको हो।

पूर्वपश्चिम राजमार्ग प्रयोग गर्ने यात्रु पथलैया–निजगढ सडक खण्डको भद्रकाली चोकबाट १७ किलो मिटर दक्षिण कलैया चोकमा पुग्न सकिन्छ। कलैया चोकबाट ६ किलोमिटर पूर्वमा लागेपछि मन्दिर पुग्न सकिन्छ। त्यसैगरि पथलैया–वीरगञ्ज सडक प्रयोग गर्ने यात्रुले वीरगञ्जको प्रतिमाचोकबाट पूर्व कलैयाहुँदै गढीमाई पुग्न सक्छन्।

यस्तो किम्बदन्ती

करिब ४ सय वर्ष भगवानदास चौधरी मकवानपुरको भिमफेदी जेलमा बन्दी जीवन विताईरहेका थिए। राती मस्त निदाएको बेलामा मकवापुरगढीको तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउँ लैजाउ, तिमी जेल मुक्त हुनेछौ, तिम्रा सारा दुःख पीडासमेत हट्नेछ।

सपनामा भएको कुरालाई स्वीकार गरेर भगवानदासले जेलबाट मुक्त भएर रातारात उक्त मकवानपुरगढीको तुलजा भवानी अर्थात् गढीमाईलाई आफ्नो गाउँ बरियारपुर ल्याउन सफल भए। त्यहि मूर्तिलाई प्रतिस्थापन गरि हाल गढीमाई मन्दिरमा पूजापाठ हुँदै आएको छ। त्यसपश्चात उनी र उनको १० औं बंशले नियमित देखभाल र पूजाआजा गर्दै आएका छन्।

त्यसको केहि पश्चात जागृत शक्तिपिठ सिम्रौनगढ कंकाली मन्दिरमा बलि प्रथा परम्परामा प्रतिवन्ध लगाएपछि गढीमाई मन्दिरमा पशु बलिको प्रचलन सुरु गरिएको जनस्रुती रहेको छ। गढीमाईप्रति ठूलो आस्था र विश्वास रहेकाले दशैंमा पुजा आरधाना गर्न ठुलो संख्यामा भक्तजन पुग्ने गरेका छन्। प्रत्येक शनिबार पनि भक्तजन पुजा र दर्शनका लागि जाने गरेका छन्।  

त्यस्तै गरि बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्दविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ। पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। गढीमाईका पूजारी थारूजातिका छन्।

गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ। यतिबेला गढीमाईका बहिनीहरू कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ।

धानबाली भित्र्याउँदै किसान

पञ्च वर्षिय मेलाले धानबाली नष्ट नहोस् भनेर मेलामा भिडभाड नहुँदै किसान धान काटेर घरमा भित्र्याउन जुटेका छन्। विगतमा मन्दिर वरिपरि रहेका धानबाली मेलाका क्रममा नष्ट हुने गरेको थियो। मन्दिर क्षेत्रका करिब ३० विगाहा क्षेत्रमा लगाएको धानबाली अहिले धमाधम भित्र्याएको किसानहरुको भनाई छ। मेला समितिले किसानलाई मेला अघि नै धान भित्र्याउन आग्रह गरेको थियो। मेलामा दर्शानार्थी खेतबाटै आहोर दोहोर गर्छन्।

मेला व्यवस्थापन समितिले किसानको खेत प्रयोग गरेर मेला सञ्चालन गर्दै आएको छ। अहिले सडक छेउका खेत धमाधम भाँडामा दिइँदैछ। प्रति फिट ५ सयदेखि एक हजारसम्ममा जमिन भाडामा दिईरहेका छन्। बाराको सिम्रौनगढका सर्फोदिन सिद्धिकीले ४ दिन अघि होटल सञ्चालनका लागि जग्गामा भाँडामा लिएको बताए। उनले १५ फिट लम्बाईको जमिन १३ हजारमा भाँडामा लिएको जानकारी दिए।

गीत संगीत निर्माण

मेला लक्षित गढीमाई माताको महिमा समेटेर गित संगित पनि निर्माण भईरहेका छन्। पञ्च वर्षीय गढिमाई मेलाको अवसर पारेर बारा जिल्लामै पहिलो पटक ‘सजनवा घुमाई दी गढीमाईके मेला’ नामक म्युजिक भिडियोको सार्वजनिक भएको छ।

सरकारी विद्यालय बन्द

मङ्सिर १० देखि २० गतेसम्म १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए।

समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.