|

दमक : झापाको दमक र इलामको चुलाचुलीको चुरे फेदीमा भूकम्पको वर्षौं पुरानो दरार फेला परेको छ। नेपालसहित अमेरिका र जापानका भूकम्पविदको एक टोलीको अध्ययनका क्रममा दमकको बेल्डाँगीदेखि ३ किलोमिटर उत्तरमा भूकम्पको पुरानो दरार फेला परेको अध्ययनमा संलग्न विज्ञहरुले बताएका छन्।

अमेरिकाको नेभदा विश्वविद्यालयका प्रध्यापक डा. स्टिभ बेस्नोस्की, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भूकम्पविद् डा. दीपक चम्लागाईं र जापानको हिरोसिना विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहारासहितको अध्ययन टोलीले यहाँ अनुसन्धान गरिरहेको छ। टोलीमा केही स्वदेशी तथा विदेशी विद्यार्थी पनि छन्।

दरार क्षेत्रमा करिब ५ मिटर जमिन फाटेको भूकम्पविद् डा. चम्लागाईं बताए। उनले भने, ‘करिब ५ मिटर जमिन विस्थापित भएको छ, यो धेरै वर्ष अगाडि गएको भूकम्पको कारणले गर्दा हो।’

भू–उपग्रहका तस्बिरहरुको अध्ययन गरी यस स्थानमा आएर अध्ययन सुरु गरिएको चम्लागाईंले बताए। भूकम्पको अवशेष पूर्वी नेपालमा नै पहिलोपटक भेटिएको उनको भनाई छ।

पाँच दिन अघिदेखि उत्खनन सुरु गरिएको यो चुरेको फेदीमा ६ मिटर गाहिराइमा २७ मिटर लम्बाई र २ मिटर चौडाईको खाडल खनिएको छ। यो खाडलबाट अहिले यहाँको कोइला र माटो संकलनको कार्य भइरहेको चम्लागाईले बताए। उनले भने, ‘हामी अहिले यस स्थानको माटो, कोइला र चट्टानको संकलन गर्दैछौं, यसलाई रेडियो कार्बोन डेटिङ मार्फत परीक्षण गर्छौ र कति वर्ष अगाडिको हो र कति म्याग्निच्युडको भूकम्प हो भन्ने पत्ता लगाउछौं।’

यो ८ म्याग्निच्युड भन्दा माथिको भूकम्पले बनाएको दरार भएको उनले दावी गरे। यसको परीक्षण पछि कति वर्षमा भूकम्पको पुनरावृत्ति हुन्छ भन्ने  पत्ता लगाउन सहयोग मिल्ने उनले बताए। ‘यो कति वर्ष अघिको हो भन्ने पत्ता लागेपछि हामी यस्तै र यत्रै भूकम्प कहिले आउने सम्भावना रहने छ भन्ने पनि अध्ययन गर्छौँ’, उनले भने।

करिब १५ वर्षदेखि चुरे पहाडमा यस्तै अध्ययनमा सक्रिय अमेरिकाको नेभादा विश्वविद्यालयका प्रा. डा. स्टीभ बेस्नोस्कीले भने, ‘मध्य नेपालमा चाहिँ गोरखा भूकम्प भन्दा अघि सन् १२५५ मा गएको भूकम्पमा काठमाडौंका राजा अभय मल्लको मृत्यु भएको हाम्रो अध्ययनले देखाएको छ। गोरखा भूकम्पले दरारमा करिब साढे ३ मिटर विस्थापन गरेको छ तर साढे ११ मिटर विस्थापन हुन बाँकी रहेकोले मध्य नेपालमा अझै पनि उच्च भूकम्पीय जोखिम छ।’

झापा र इलामको सिमानामा गरिएको अध्ययनको विस्तृत विवरण केही महिनामा सार्वजनिक गर्ने तयारी छ।

यस्तै मोरंगको मधुमल्लास्थित कान्छी चोक नजिकैको चुरे क्षेत्रमा समेत भूकम्पको दरार हुन सक्ने अध्ययन टोलीले अनुमान गरेको छ। यसको पनि केही दिन भित्रै उत्खनन् गरिने अध्ययन टोलीले जनाएको छ।

हेर्नुस् १२ फोटोः 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.