|

पुणे : भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी एकदिवसीय र ट्वान्टी-ट्वान्टी राष्ट्रिय टोलीको कप्तानी छाडेपछि आइतबार पहिलोपटक विराट कोहलीको कप्तानीमा मैदान उत्रिए। केही दिनअघि राजीनामा दिइसकेका धोनी यस खेलमा आफू अब कप्तान नरहेको कुरा ख्याल नराख्दा पटक-पटक झुक्किए। 

पुणेमा इंग्ल्याण्डसँग खेलिएको एकदिवसीय खेलमा धोनी भूलबस धेरैपटक कप्तानकै भूमिकामा प्रस्तुत भएका थिए। यसक्रममा धोनीले कहिले अन्य खेलाडीलाई निर्देशन दिने त कहिले थर्ड अम्पायर रिभ्यू माग्ने काम गरेको भारतीय अनलाइन जागरणमा खबर छ। जुन सामान्यतया क्याप्टेनले गर्ने काम हो।

खेलको पहिलो इनिङअन्तर्गत २७औं ओभरमा हार्दिक पाण्डेय बलिङ गरिरहेका थिए। सो ओभरको अन्तिम बल इयान मोर्गनको ब्याटलाई छोएर विकेट किपर धोनीको हातमा पुग्यो। धोनी अपिल गर्न थाले, तर फिल्ड अम्पायरले आउट दिएनन्। अम्पायरको फैसलासँग सहमत हुन नसकेका धोनीले तत्काल हातले टी (T) आकारको संकेत गर्दै रिभ्यू मागे। रिभ्यू माग्ने काम कप्तानको हो। कप्तान मैदानमा उपस्थित नरहेको अवस्थामामात्र सम्बन्धित खेलाडीले रिभ्यू माग्ने गर्छन्। आफू झुक्किएको धोनीले तत्काल थाहा पाइहाले अनि विराटतर्फ हेरेर रिभ्यू लिनका लागि आग्रह गरे। 

रिभ्यूमा धोनी सही ठहरिए। थर्ड अम्पायरले आउट दिएपछि मोर्गन पेबेलियन फर्किए। यो त एउटा उदाहरण मात्र हो, धोनी आइतबार धेरैपटक झुक्किए थिए । सो खेलमा भारत ३ विकेटले विजयी भयो।

लामो समय भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरेका धोनीले केही दिनअघि सो जिम्मेवारीबाट राजीनामा दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.