‘भारतमा बाबा तिम्ले भने अनुसार गर्छु भनेको कबुल बिर्सने?’

|

पोखरा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको आरोप लगाएपछि राजनीतिक वृत्त तरंगित भएको छ। 

यसको जवाफमा आइतबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि देउवाले संविधान जारी भएपछि भ्रमणमा जाँदा त्यहाँको नेतृत्वसँग आत्मसमर्पण गरेको बिर्सिएको आरोप लगाएका छन्।  

‘केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनकि गरेको आरोप प्रमुख प्रतिपक्षी दलको नेताले लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन,’ नेपाल पत्रकार महासंघ कास्की शाखाको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यदि त्यस्तो हो भने उहाँकोबारेमा केही गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ। यसअघि नेपाल र भारतको सीमा सम्बन्धका कयौँ, विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नु भयो वा अरुको एकलौटी पेलाईमा पर्नुभयो भन्ने जवाफ दिनुपर्छ।’ 

उनले टनकपुर सन्धि कसैले नबिर्सेको पनि बताए। ‘टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वाेच्च अदालतले गलत भनिसकेको छ। त्यो सन्धिबारे देउवाको भनाई के हो?’, उनले सोधे, ‘यो कस्को पालामा भएको हो ? त्यसैले आरोप लगाउँदा सत्यमा आधारित मात्रै लगाउनुपर्छ।’ 

भारतले जारी गरेको राजनीतिक नक्साप्रति नेपालको इतिहासमै पहिलो पटक नेपालको ‘सिटिङ प्राईमिनिस्टर’ ले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको उनको दाबी छ। 

‘शेरबहादुर देउवाले संविधान जारी भएपछि भारत भ्रमणमा जाँदा भारतीय नेतृत्वसँग बसेर सार्वजनिक समारोहमा बाबा! त्यो संविधान तिम्ले भने बमोजिम नै के के गर्छु भनेर बकबकाएको त अहिले पनि देखिन्छ यो ‘ओपन’ कुरा हो। मैले लगाएको आरोप होइन, भिडियो हेर्नुस,’ उनले भने।  

उनले केपी ओलीको अडान र क्षमतामा देउवाले प्रश्न उठाउनु नै लज्जाजनक भएको बताए। ‘नेपाली जनताको मत र फैसलामाथि अरु कसैले प्रश्न उठाउँदा नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने देउवाजीले केपी ओलीको राष्ट्रवादी क्षमता, अडान र संघर्षमाथि प्रश्न उठाउनु आफैँ लज्जाजनक विषय हो। म खेद प्रकट गर्न चाहन्छुु,’ उनले भने, नाकाबन्दीमा म्याऊँ गर्न नसक्नेले अहिले ढाडे बन्ने? यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको प्रश्नमा हिँड्नु पर्ने जरुरी छैन।’ 

सरकारले अरु कसैको जमिन हामीलाई चाहिएन, तर, हाम्रा जनताले संघर्ष गरेर हाम्रा पुर्खाले रगत बगाएर वीरताका साथ जे जति जमिन जोगाएर राखेका छन्, त्यो माथि कसैको हस्तक्षप, अतिक्रमण स्वीकार्य छैन भनेको उनले बताए। 

‘राष्ट्रियताको विषयमा हामीले बोलेका छौँ, यति बोल्न हामीलाई कसैको इजाजत लिउँला?’ उनले भने, ‘त्यो पनि पोखरामा आएर आरोप लगाउनु भएको रे! यो कुरा म बुझ्छु यहाँ आएर किन भन्नु भयो किन भने यहाँ पर्सी १४ गते चुनाव छ। यति सस्तो कुरा उहाँले बोल्नु हुन्न। यसलाई चुनावको मसला बनाउनु साह्रै झुुर कुरा हो।’  

यस्ता आरोप लगाउने भने गण्डकी, कोशीमा सम्झौता गर्दाको जवाफ देउवाले दिनुपर्ने उनको भनाइ छ। ‘यो सरकार त्यति कम्जोर छैन जस्लाई प्रश्न गर्ने हैसियत होस, यसको तात्पर्य हामी उत्तेजक ढंगले प्रस्तुत हुँदैनौँ। अन्तराष्ट्रिय मान्यताको आधारमा समाधान गर्छाैँ,’ उनले भने, ‘यो सुन्दा पनि किन बोलेको होला यस्तो भन्ने लाग्छ। धैर्यता गुमाएर बोल्नुहुँदैन। उहाँको पनि दायित्व हो यो देशको, माटोको रक्षा गर्ने।’

लिपुलेक, कालापानी विषयमा १८१६ को सुगौली सन्धिको धारा ५ मा स्पष्ट भएकोले लिपुलेक नेपालको हो, होइन भनेर प्रश्न गर्न जरुरी नभएको उनी बताउँछन्। 

‘यो स्वतः जन्मसिद्ध नेपालको जमिन हो। यहाँ प्रश्न उठेको छैन,’ उनले भने, ‘लिम्पीयाधुरा क्षेत्रमा केही बिमतिहरु छन्। सबैभन्दा पछिल्लो सन्धि भारत सरकारको तत्कालीन प्रतिनिधि इस्ट इन्डीया कम्पनीसँग भएको हो। तर, हामी कसैको उपनिवेश बनेनौँ। हामीले अहिले भारतसँग कुरा गरिरहँदा अल्मोडा मागेको होइन। हामीले नालापानी मागेको होइन। इतिहासमा लडाइँको बेलामा त्यो गुमायौँ।’ 
यसबारेमा सरकारले भारतलाई यस विषयमा कुटनीतिक नोट बुझाइसकेको पनि उनलेबताए। दिल्लीस्थित नेपाली राजदूतले पनि असहमति जनाइसकेको उनको भनाइ छ। 

‘हामीले कालापानीमा हाम्रो अधिकार हो राख्छौँ नालापानी मागेका छैनौँ,’ उनले भने, ‘देउवाजी आजको मितिमा प्रधानमन्त्री भए यति त बोल्नुहुन्थ्यो की हुन्नथ्यो विगतका कुराहरुमा पनि प्रश्न उठाउन पर्छ। यो समस्या हामी समाधान गर्छौँ। नेपालको सार्वभौम रक्षा गर्छाैँ।’  

उनले नेपाली कांग्रेसलाई लक्षित गर्दैै डेमोक्रेसी भनेर मात्र नहुने बताए। ‘यहाँ बहुमतले पारित नहुने पनि कतै लोकतान्त्रिक हुन्छ? अध्यादेश आउँछ। लोकतान्त्रिक, गणतान्त्रीक संविधानको फ्रेमवर्क भित्र हुने कुरा हो,’ उनले भने, ‘यहाँ जहिले पनि निरंकुश शब्द भनिन्छ। मलाई सबैभन्दा निरंकुश नै भन्नेहरु लाग्न थाल्यो। निरंकुशताको ठाउँ नै छैन। नेपालमा निरंकुशताको बीउ रोपिने, बारीको पाटो, खेताको कान्लो, डिल कतै ठाउँ छैन।’ 

नेपालको संविधानले डेमोक्रेसी नै डेमोक्रेसी बोकेको र कसैले पनि यसलाई च्यात्न नसक्ने उनको दाबी छ। ‘देउवाजीलाई बानी लाग्या होला। उहाँलाई त डेमोक्रेसी दिएर पनि हुँदैन। उहाँले त चाँदीको थालमा हालेर लगेर खत्रक्क बुझाउनु भयो २०५९ मा स्थानीय तहको चुनाव समेत नगराई,’ उनको आरोप छ।  

उनले मन्त्री परिषदको विषयमा मिडियाले मन्त्री परिषदमा रहेको बेला ति मन्त्रीले राम्रो काम गरे भनेर कहिल्यै नभनेको र अहिले भब्य राम्रो काम गरेकोलाई हटायो भनेर लेखेको आरोप लगाए। उनले भोली गोकुल बास्कोटालाई पनि त्यस्तै हुने समेत बताए।  मन्त्री परिषद फेरबदल गर्दा प्रधानमन्त्रीले कुनै मन्त्रीलाई असक्षम नभनेको पनि बताए। 

उनले नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गर्दै कास्कीमा बाहिरको मान्छेको एयरपोर्टमा लर्काे लागेको आरोप लगाए। ‘म त्यति कम्जोर दलको सदस्य होइन। चुनाव प्रचारको लागि काभ्रेबाट कास्की धाउन परोस, कास्कीका जनताले मेरो साथ खोजुन। कास्कीका जनता आफैँ सक्षम छन्,’ उनले भने, ‘चुनाव प्रचार गर्न यहाँका भन्दा धेरै अन्तका मान्छे लर्कन लर्कन एयरपोर्टमा भेटेको थिएँ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.