|

पाँचथर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार वीरबहादुर कुरुम्बाङलाई चुनावी रन्को लागेको छ। गाउँपालिकामा गठित ५६ वटा टोल कमिटीलाई परिचालन गर्दै चुनावी दौडधुप गरिरहेका उनलाई जितनजिक पुगेको लागेको छ।

‘फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा तपाईको दोस्रो पटक उम्मेदवारी रह्यो। भागमा चाहिँ हार पर्ला जस्तो छ कि जित ?’ भन्ने प्रश्नमा ‘जित सुनिश्चित छ’ भनेका छन्। हँसिला मुहारमा जितको एक्लो दाबेदारका रुपमा उनी चुनावी मैदानमा छन्।

पार्टीको प्रारम्भिक आन्तरिक मत सर्वेक्षणअनुसार न्युनतम ५०० मतान्तरले अघि रहने नेकपाको आँकलन छ। तर‚ कात्तिकको पहिलो साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचथर आएर जिल्लास्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षणात्मक मन्तव्य दिने क्रममा निर्वाचनमा सम्भावित मत परिणामको वस्तुवादी ढंगले रिपोर्टिङ गरे। सँगै उनले २५ सय मतले नेकपा अघि छ भने ५०० मतले अघि छौं भनेर रिपोर्टिङ गरे जितलाई निश्चित मान्न सकिने भन्दै सम्झाए।

नेकपा फाल्गुनन्दका नेताहरूको विश्लेषण सत्यतासँग नजिक भए नभएको हेर्न निर्वाचनपछिको मत परिणाम कुर्नु पर्ने हुन्छ। यद्यपि‚ अध्यक्ष पदका उम्मेदवार कुरुम्बाङले सम्भावित जितमाथि शंका नरहेको दावी गरेका छन्। उनले यसअघि निर्वाचनमा हारे पनि नेकपा फाल्गुनन्दले केन्द्र र प्रदेश सरकारमार्फत बजेट ल्याएर गाउँपालिकाको विकास निर्माणमा अधिक काम गरेको उनको दाबी छ। 

सडक कालोपत्रे गर्ने कामको थालनी, खानेपानी अभावग्रस्त क्षेत्रमा लिफ्टिङ प्रविधिबाट पानी वितरणको तयारी, एक घर एक धारा योजना, खेल मैदान निर्माण, निर्माणाधीन र केही उपभोक्ता समिति गठन गरेर गर्न लागेको सँगै गाउँपालिकामा पूर्ण विद्युतीकरणको पहल थालिएकाले जित निश्चित हुने उनको दावी छ।

मुख्यतः सडक, कृषि, पशुपालन, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यदेखि औद्योगिक क्षेत्रको विकासको नेतृत्व आफूले गर्ने उनको जिकिर छ। हुनतः उनका यी सबै एजेण्डा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस उम्मेदवार अमरकुमार नेम्बाङसँग पराजित भएका बेला हुन्। बरु उनको एउटा आरोपमा भर्जिनिटी छ‚ ‘कांग्रेसले दुई तिहाई मतसहितको स्थानीय सरकार फाल्गुनन्दमा चलाए पनि अढाई वर्षको सेरोफेरोमा जनताले अनुभूत गर्ने गरी विकास निर्माणका गतिविधि नगरी कार्यकर्तालाई पाल्ने काम मात्रै गर्‍यो। त्यसकै परिणामस्वरुप अहिलेको झण्डै ३ करोड रुपैयाँ बजेट बेरुजु देखिएको छ। यसमध्ये अधिकांश भ्रष्टाचार गरेकै हो।’

अध्यक्ष पदका कांग्रेस उम्मेदवार वृजहाङ आङ्देम्बेले यसअघिका गाउँपालिका अध्यक्ष स्वर्गीय अमरकुमार नेम्बाङका अधूरा संकल्पहरू पूरा गर्न उम्मेदवारी दिएको बताएका छन्। आङ्देम्बेले भनेका छन् ‘स्मार्ट भिलेज, पर्यटन, शिक्षा, सडक सञ्जाल र विद्युतीकरणको क्षेत्रमा नेम्बाङले थालनी गरेका कार्य र बाँकी कार्यहरू पूरा गर्न युवा स्वरोजगारसँगै कृषिजन्य वस्तुको उत्पादन गरेर सम्पूर्ण फाल्गुनन्दवासी आम नागरिकलाई समृद्धिको दिशातर्फ उन्मुख गर्नतर्फ काम गर्छु।’ 

स्मार्ट भिलेजका रुपमा सडक बाह्रै महिना चल्ने, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सुधारसँगै इन्टरनेटको व्यवस्था र सेवाग्राहीहरुले पाउने सेवा सुविधा प्रभावकारी ढंगले हुने भनेका छन्।

कांग्रेस उम्मेदवार आङ्देम्बे पनि जित निश्चित रहेको ठोकुवा गरेका छन्। ‘जितको सम्भावना के त’ भन्दा उनले भने, ‘फाल्गुनन्द गाउँपालिका सातवटा वडामा विभाजित छ। त्यसमध्ये पाँचवटा वडा नेपाली कांग्रेस पार्टीले जितेको छ। सांगठानिक रुपमा पनि फाल्गुनन्द कांग्रेसको राम्रो संगठन भएको स्थानीय तह हुनाले र दुई कांग्रेसको तिहाई मत भएको स्थानीय सरकार भएको पनि हुनाले जितलाई निश्चित मान्न सकिन्छ।’

मंसिरको १४ गते हुने उपनिर्वाचनमा यसअघिको गाउँपालिका अध्यक्ष नेम्बाङले प्राप्त गरेको मतभन्दा बढी प्राप्त गर्ने आङ्देम्बेको दावी छ।

समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदमा उम्मेदवार बनेकी बिमला नेम्बाङ आङ्देम्बे जितका लागि कोसिस गर्दैछिन्। जितको सम्भावना छ भन्ने आशा बोकेकी उनी अहिलेसम्म पुरुषलाई मात्रै जिताउँदै आएको र अब महिलालाई जिताउनुहोस् भनेर भोट माग्दैछिन्। उनको आग्रह छ, ‘महिला चुलाचौकामा मात्रै बसेर हुँदैन। हामी पनि जनप्रतिनिधि भएर स्थानीय सत्तामा आउनुपर्छ।’

समृद्धि, उन्नति  र विकासको सवाल पनि भोट माग्ने क्रममा उठाउँछिन्। प्रत्येक घरमा महिलालाई सीप सिकाएर महिलालाई स्वरोजगार बनाउने र महिला उद्यमशीलता भएको गाउँपालिकाको रुपमा स्थापित गर्ने लक्ष्य लिएकी छिन्। 

यता संघीय लिम्बुवान मञ्च नेपालका उम्मेदवार जितेन चेम्जोङ पनि निर्वाचनको महासंग्राममा जुटेका छन्। उनी भन्छन्– निर्वाचनको खेलमा उत्रिसकेपछि हार्छु भन्ने चाहिँ हुँदैन। तर हार र जित खेलको नियम हो। यसअघि उनले अध्यक्ष पदमै ३११ मत प्राप्त गरेका थिए। उनले यसअघिका निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको, समानुपातिक र समावेशी ढंगले अगाडि बढ्न नसक्दा अझै पनि विभेद रहेकोले त्यसको चिरफार गर्न पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए।

राप्रपा नेपालका उम्मेदवार ससुहाङ चेम्जोङ (सुजन) ले समृद्ध फाल्गुनन्द गाउँपालिकाको लागि अध्यक्ष पदमा उम्मेदवारी रहेको बताए। उनले आफूले हरेक दृष्टिले गाउँपालिका समृद्ध बनाउने दावी गर्दै आएका छन्। चुनावी कार्यक्रममा गाउँपालिका भ्रष्टाचारको दलदलमा फसेको, कांग्रेसको दुई तिहाइको स्थानीय सत्ता रहेको गाउँपालिकाको बजेट कार्यकर्ता पोस्ने गरिको मात्रै भएकोको पनि आरोप लगाउने गरेका छन्। 

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार इच्छाबहादुर चेम्जोङले पनि विकसित फाल्गुनन्द गाउँपालिका बनाउन नै अध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गरे। उनले विगतमा राज्यले विभेदमा पारिएका र पछाडि पारिएका सबै समुदायको भाषा, संस्कृति, धर्म, कला र रहन-सहनको प्रवर्द्धन गर्दै सडक, विद्युत, खानेपानी जस्ता जनजीविकासँग जोडिएका हरेक पक्षको विकास गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

राप्रपा संयुक्तबाट अध्यक्ष पदका उम्मेदवार बनेका मोतिप्रसाद लिम्बू पनि चुनावी प्रचारमा व्यस्त छन्। उनले मतदातासँग सुशासनलाई कायम गर्दै जनताले अनुभूत हुने गरीको विकासको नेतृत्व फाल्गुनन्द गाउँपालिकामा गर्न चाहेको बताउने गरेका छन्। मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार उदय सुनुवारले मंगोल समुदायको स्थानीय सरकारमा पहुँज कायम गर्न पनि उम्मेदवारी दिएको बताए।

फाल्गुनन्द गाउँपालिकामा साविकको नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्देन, फाक्तेप र आङ्सराङ गाविसलाई समेटिएको छ। इम्बुङ र चिलिङ्देनलाई नेकपाको र नवमीडाँडा, पौवासारताप र आङ्सराङलाई कांग्रेसको पकड भएको साविकको गाउँ विकास समिति मानिन्छ। फाक्तेपमा भने दुवै पार्टीको स्थिति उस्तै रहेको बताइन्छ। यद्यपि‚ यसपटक भने आङसराङमा नेकपाको स्थिति बढी सुदृढ भएको नेकपाका नेताहरू बताउँछन्। 

मतादाता थपिए

फाल्गुनन्द गाउँपालिकामा यस पटक मतदाता ७८० जना थपिएका छन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यसपटक १६ हजार ५७७ मतदाता रहेका छन्। जबकि‚ २०७४ सालमा भएको निर्वाचनमा भने १५ हजार ७९७ जना मतदाता थिए।

वडा नम्बर १ मा २७७३‍, वडा नम्बर  २ मा १५५६, वडा नम्बर  ३ मा २८२४, वडा नम्बर  ४ मा २४७६ र वडा नम्बर ५ मा २७३९ जना रहेका छन्। यस्तै‚ वडा नम्बर ६ मा २१५९ र वडा नम्बर ७ मा २०४० जना मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.