१० वर्षदेखि शिक्षक- विद्यार्थी दुवै असुरक्षित

|

भद्रपुर : भारतीय सहयोगमा निर्माणाधीन झापाको एक सामुदायिक विद्यालय भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन्। ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण नहुनुका साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेरावारासमेत छैन। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन्।

३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर विगत एक वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेका हुन्। विद्यार्थी विगत १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउन सकेको छैन। भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ, विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न थालेका छन्।

विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएको थियो।

ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए। तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको उनले बताए।

भवन नबन्दा विद्यालय नै डेटिङ स्थल

२०७१ सालमा भवन निर्माण कार्य सुरु हुँदा पुराना भवन भत्किँदो टिन र टाटी बेराले बनाइएको अस्थायी कक्षा कोठामा राखेर विद्यार्थीलाई पढाएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए। ‘केही वर्ष दुःखले टिन र टाटी भएकै कक्षा कोठामा विद्यार्थी पढाएऔँ’, प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौँ।'

भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ। ‘अहिले ‘विद्यालयको शैक्षिक गुणस्तर खस्किन थालेको छ, भवन निर्माण नहुँदा बेलुका ५ बजेपछि विद्यालय भवन नै डेटिङ स्थल हुन्छ’ उनले भने।

‘साँझ परेपछि विद्यालयमा कोही पनि हुँदैन, विद्यालयमा गेट र कम्पाउन्ड वाल पनि छैन, अनि टाढा टाढाबाट केटाकेटी आउँछ र भवन भित्र पसेर डेटिङ गर्छ’, उनले भने, ‘यही कुरा कसैलाई भन्न पनि लाज लाग्छ, विद्यालयमा भएका सरसामान पनि चोरी हुन्छ, पानी खाने टुवेल कल पनि धेरै पटक चोरी भइसकेको छ ।’

कक्षा कोठामा पानी पस्छ, गर्मीले बस्न सकिँदैन

ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी सरोज बास्केले बताए। ‘हामीलाई पढ्न सारै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैन, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन', उनले भने।

सुरक्षित विद्यालयबाट पठनपाठन गर्न वञ्चित हुनु परेको विद्यार्थी भूमिका शर्माले बताइन्। त्यस्तै विद्यार्थी सुभाष सोरेनले भने, ‘कक्षा कोठामा पानी जम्दा विद्यार्थीले फाल्नु पर्ने हुन्छ, पानी र हावाहुरी चल्दा सरहरूले विद्यालय नै बन्द गर्नुपर्ने हुन्छ।’

‘झ्याल ढोका नभएकोले विद्यार्थी लड्ने जोखिम छ’, विद्यार्थी सवनम श्रेष्ठ भनिन्, ‘बाहिरबाट नाना थरीका मान्छे आउँछ, विद्यार्थीलाई हेर्छ जसले गर्दा पढाई समेत प्रभावित हुँदैछ।’ 

‘बर्खाको बेला कक्षा कोठामा पानी पस्छ, हावाहुरी चल्दा कक्षा कोठामा बस्नै सकिँदै, गर्मीमा पङ्खा चलाउने बिजुलीको व्यवस्था पनि छैन’, शिक्षक खेमराज चिमरियाले भने, ‘यी समस्याका बाबजुद विद्यार्थीहरूलाई पढाइरहेका छौँ।’ ठेकेदारको लापरबाहीले विद्यार्थी र शिक्षकले समस्या भोग्नु परेको उनको गुनासो छ।

पेटी ठेकेदारले भवन निर्माण अलपत्र

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको भवन अहिलेसम्म बन्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप सुवेदी बताउँछन्। ‘निर्माण कम्पनीका ठेकेदार लामाले भवनको ठेक्का लिए पनि एक पटक मात्र विद्यालय आएको हो’, अध्यक्ष सुवेदीले भने, ‘त्यसपछि अनुहार पनि देखाएको छैन, ठेकेदारकै लापरबाहीले भवनको हालत यस्तो छ।’

ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएको बताउँदै अध्यक्ष सुवेदीले भने, ‘हालसम्म बनाइएको विद्यालय भवनको निरीक्षण गर्दै भारतीय राजदूतावसका प्रतिनिधिले पनि भवनको गुणस्तरमा प्रश्न चिन्ह उठाइएको छ, यो भवनमा कमसल सामग्री प्रयोग गरिएको त्यसै बेला खुल्यो।’

अहिले एक वर्षदेखि पेटी ठेकेदार सिंह विद्यालय नआएको उनको भनाइ छ। ‘भवन नबन्दा समितिका पदाधिकारीहरू तत्कालीन जिविस हालको जिसस, सिडिओ कार्यालय, शिक्षा कार्यालय र भद्रपुर नगरपालिकालाई लिखित तथा मौखिक रूपमा ५० औँ पटक ध्यानाकर्षण गराए पनि हालसम्म काम सुचारु हुन सकेको छैन’, उनले भने।    

पहल गरिरहेका छौँ : जनप्रतिनिधि

देशको संघीय संरचना परिवर्तन भई तीन तहको सरकार गठन भइसकेको पनि दुई बित्यो, तर २०६७ सालमा लागेको भवनको ठेक्का १० वर्ष बित्न लाग्दासमेत जस्ताको त्यस्तै छ। भारतीय सहयोगमा बन्ने विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वय समिति झापाले पहल गरिरहेको अध्यक्ष सोमनाथ पोर्तेलले बताए।

‘निर्माण कार्यमा ढिलासुस्ती भएकै हो, हामीले पनि भवनको अनुगमन गरेर सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ', अध्यक्ष पोर्तेलले भने, ‘निर्माण कम्पनीले काम गर्ने आश्वासन दिएको छ, २०७७ वैशाखसम्म अधुरो काम सम्पन्न हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.