|

बागलुङ : गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो।

बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका बिभिन्न वडामा गरिएका परीक्षणहरू सफल पनि भए। परीक्षण सफल भनेर आयोजकहरूले दावी मात्रै गरेनन् प्याराग्लाइडिङ हाँक्ने पाइलटले नै सम्भावना रहेको औंल्याए। तर सफल भएका परीक्षण व्यवसायिक रुपमा परिणत नभएर सम्झनामा मात्रै सीमित छन्।

गल्कोट महोत्सवमा प्रदर्शन पनि हुने र सम्भावनाको खोजी पनि हुने भएकाले गत वर्ष कात्तिक महिनामा गल्कोट नगरपालिका ५ सर्दा खेतबाट प्याराग्लाइडिङ उडाएर हरिचौरमा झारियो।

प्यारापाइलट दूर्योधन खड्काले त्यहाँ प्याराग्लाइडिङको परीक्षण सफल भएको बताए। उनले व्यवसायिक हिसावले सञ्चालनमा ल्याउने हो भने त्यहाँ प्याराग्लाइडिङका लागि आवश्यक हावाको गति, भौगोलिक र वातावरणीय अवस्था ठिक रहेको बताए। तर व्यवसायिक सुरुवात होइन महोत्सव अवधिमा केही दिन सञ्चालन गर्ने भनिएको प्याराग्लाइडिङ समेत विविध कारण देखाएर सञ्चालनमा आएन। त्यसको केही समय पछि गल्कोट नगरपालिका ७ राम्चेढुंगाबाट परीक्षण गरियो।

बाँसखोलामा ल्याण्डिङ गरेर सफल भए पनि त्यो पनि परीक्षणकै भरमा बस्यो। व्यवसायिक रुपमा उडान थाल्ने भनेर परीक्षण गरीएको राम्चेढुंगामा पर्यटकीय पूर्वाधार निर्माणको काम नभएर रोकिएको समेत बताइएको छ। प्याराग्लाइडिङका लागि धावन मार्ग बनाउनुपर्ने भएकाले तत्काल व्यवसायिक उडान हुन नसकेको राम्चेढुंगा पर्यटन विकास समितिका सदस्य थम्मन थापाले बताए।

‘वडा कार्यालयकै अगुवाइमा परीक्षण भएको हो। अहिले वडालेनै पूर्वाधार निर्माणमा ध्यान दिएको छ’ थापाले भने, ‘खर्चिलो हुँदो रहेछ। धेरै पर्यटक आउने सम्भावना नभएसम्म व्यवसायिक उठान अलि कठीन देखिन्छ।’ त्यस लगत्तै गल्कोट २ नरेठाँटीमा पनि परीक्षण भयो। हटियामा अवतरण गरियो त्यहाँ पनि परीक्षण सफल भयो। अहिले सम्म व्यवसायिक उडानको विषयमा कसैले सोचेको छैन। गतवर्षकै फागुन महिनामा प्रथम बलेवा महोत्सवमा प्याग्लाइडिङबाटै पुष्पबृटि गरियो।

बागलुङ नगरपालिका १३ पैंयुपाटाबाट उडेको प्याराग्लाइडले बागलुङ नगरपालिका १४ नारायणस्थानमा अवतरण गर्‍यो। गल्कोटमा भएका परीक्षणहरूमा पाइलटहरू दूर्योधन खड्का र निरञ्जन कुँवर सहभागी थिए। बलेवामा भएको परीक्षणमा लेकभ्याली कम्पनी पोखराका ६ जना पाइलटहरू सहभागी थिए।

परीक्षण भएका सबै स्थानहरूमा पाइलटहरूले प्याराग्लाइडिङ गर्न सकिने बताएका थिए। पूर्वाधार निर्माणमा ढिलाई र प्याराग्लाइडिङ गर्ने पर्यटकको अभावले व्यवसायिक उडान हुन सकेको छैन। बलेवा बिमानस्थलमा अवतरण गर्ने जहाजको हवाई मार्ग र ल्याण्डिङ गर्ने स्थानको अभावनमा व्यवसायिक हिसावले सुरुवात गर्न नसकिएको महोत्सव आयोजक समितिका संयोजक भरतले पौडेल बताए।

‘उड्ने ठाउँसम्म बाटो पुगेको छैन्। झर्ने ठाउँमा खेतीपाती र हवाइजहाजको बाटो पर्‍यो’ पौडेलले भने, ‘सम्भावना भएर पनि पूर्वाधारकै कारण यहाँ कुनै कम्पनीले चासो देखाएनन्।’ पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने भएपछि त्यहाँ सञ्चालनमा रहेको प्याराग्लाइडिङ अन्यत्र सार्ने भएकाले केही कम्पनी बागलुङ आउन सक्ने सम्भावना यहाँका व्यवसायीले देखेका थिए।

‘हामीसँग ठाउँ छ। तर उपयोग गर्ने गरी कम्पनीहरूलाई दिने वातावरण बनिसकेको छैन’ पौडेलले भने, ‘अत्यावश्यक पूर्वाधार जस्तै बाटो, पानी, बासलगायतका कुरामा हामीले विकास गर्नुपर्ने छ।’ गत वर्षका कयौं उदाहरणहरू हुँदा हुँदै यस वर्ष पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा व्यवसायिक रुपले उडान गर्ने गरी बागलुङ उद्योग बाणिज्य संघले तयारी थालेको छ।

बागलुङ नगरपालिका ६ पञ्चकोटबाट उडान गरेर बागलुङ बजारमा ल्याण्ड गर्ने गरी परीक्षण सफल भएर बाँकी प्रक्रिया अघि बढेको छ। ‘हामीले महोत्सवमा प्याराग्लाइडिङ उडाउनका लागि अध्ययन गरिरहेका छौं’ संघका महासचिव नरेश कँडेलले भने, ‘महोत्सवमा मात्रै होइन। अव यहाँ व्यवसायिक रुपले नै प्यारा उड्छन्।’

बागलुङमा पनि ल्याण्डिङको समस्या छ। उपयुक्त सार्वजनिक जमिन नभएको र निजी जमिन लिँदा महँगो पर्ने भएकाले समस्या रहेको कँडेलले बताए। ‘पोखराका दुई कम्पनीले इच्छा देखाएका छन्। हाम्रो साथीहरू शाखा लिएर भए पनि चलाउने सुरमा हुनुहुन्छ’ कँडेलले भने,‘नगरपालिकाले सार्वजनिक जग्गा उपलव्ध गर्‍यो भने हामी व्यवसायिक बनाउँछौं।’

नगरसँग जग्गा माग्ने र निजी जग्गा भाडामा लिने वा किन्ने भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.