|

पर्सा : नेशनल मेडिकल केलेज वीरगन्जका विद्यार्थीको आन्दोलनलाई सत्तारूण दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले साथ दिएको छ। कलेजका एमडी बसुरुद्दीन अंसारीकै इसारामा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट भएको भन्दै विद्यार्थी कुट्ने एमडी बसुरुद्दीनलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले आन्दोलनरत विद्यार्थीलाई साथ दिएको हो।

अनेरास्ववियु केन्द्रका सचिव सुदेश पराजुलीको नेतृत्वमा सत्तारूढ दलका विद्यार्थीले वीरगन्जमा नेशनल मेडिकल कलेज र कलेजका एमडी बसुरुद्दीन अंसारीविरुद्ध प्रदर्शन गरे। प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थी नेताकार्यकर्ताले नेशनल कलेजको मूलगेटमा धर्नामा बसेका आन्दोलनरत विद्यार्थी भएकै ठाउँमा पुगी कोणसभा पनि गरे।

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै त्यहि पुगेर गरेको कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिव पराजुली त्रिभुवन विश्वविद्यालयका अनेरास्ववियुका सभापति मिलन गैरे र पर्सा अध्यक्ष मित्रदेव यादवले सम्बोधन गरे।

विद्यार्थीमाथि कुटपिट नगर : सचिव पराजुली

संबोधनका क्रममा केन्द्रीय सचिव पराजुलीले जुनसुकै शिक्षण संस्थामा अध्ययनरत भए पनि उनीहरु सबै विद्यार्थी नै भएकोले, तिनीको हक अधिकारको लागि अनेरास्ववियुको ऐक्यबद्धता रहेने बताए। सरकारको नीतिलाई लत्याउँदै एउटा निजी कलेज चलाउने संचालकले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न भनी माग गर्दा त्यसको विरुद्धमा गुण्डा प्रयोग गर्ने हर्कत बन्द गर्न उनले कलेज संचालकलाई सुझाव दिए।

आफ्ना विद्यार्थीलाई कुटपिट गराएर बहादुरी साँध्नुको साटो सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गरी राज्यको कानूनी दायरामा रहन कलेज संचालक एमडी अंसारीलाई चेतावनी दिए। राज्यको नीति पनि बर्खिलाप गर्ने अनि विद्यार्थीमाथि सिनियर विद्यार्थीका नाममा गुण्डा प्रयोग गर्ने हर्कत नगर्न नेशनलका एमडी अंसारीलगायत व्यवस्थापन पक्षलाई अनेरास्ववियुका विद्यार्थीको सुझाव छ। 

विद्यार्थी आइतबार पनि धर्नामा

चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेशनलका १८औँ व्याजका विद्यार्थीले बढी लिएको शुल्क फिर्ता गर्न भन्दै आइतबार पनि कलेजको मूलगेट अगाडि धर्ना दिएका छन्। आर्थिक शोषणमा परेका विद्यार्थीमाथि सत्ताको उच्च पदस्थ व्यक्तिसँगको साँठगाँठका आडमा थप मानसिक र शारीरिक यातना नदिन अनेरास्ववियुका विद्यार्थीले सुझाव दिएका छन्।

विद्यार्थीलाई शारीरिक यातना दिने कलेज संचालक अंसारीलाई कानूनी कार्वाही गर्न पनि अनेराश्ववियु आबद्ध विद्यार्थीले सरकारसँग माग गरे। उनीहरूले प्लेकार्डमा नै बसुरुद्दीनलाई कार्वाही गर भनी लेखेर प्रदर्शन गर्दै त्यहाँ पुगेका थिए।

सिनियर विद्यार्थीसँग वादविवाद मात्र : अंसारी

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका एमडी बसुरुद्दीन अंसारीले आफूले आन्दोलनरत विद्यार्थीहरुलाई नकुटाएको दावी गरे। 'म कलेज बाहिर भएको समयमा आफ्नो पढाइलाई डिष्टर्ब नगर भनी सिनियर कक्षाका विद्यार्थीले भन्दा विवाद मात्र भएको हो', उनले भने। सुनेर आफू कलेजमा आई मिलाएको उनको दावी छ।

आन्दोलनरत विद्यार्थीलाई बाहिर कसैले उचालेर आन्दोलन गराइरहेको पनि उनले बताए। शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको कक्षमा विद्यार्थी र आफूसमेत बसी छलफल गर्दा तीनबुँदे सहमति भइसकेको उनले जिकिर गरे।

'यो आफ्नो कलेजको मात्र समस्या होइन। सरकारले जे भन्छ त्यो हामी गर्न तयार छौँ। हामी सरकारको मुख ताकेर बसेका छौँ' एमडी अंसारीले भने।

हस्ताक्षर हुन बाँकी, गम्भीर छलफल : प्रजिअ भट्टराई

पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले आफूले पहल गरी छलफल भएको बताए। 'छलफलका क्रममा विद्यार्थीलाई यातना दिएको कुरा अनुसन्धान गर्ने, प्रभावकारी पठनपाठनमा विद्यार्थी पनि साथ दिने र कलेजले लिएको बढी शुल्क फिर्ता वा आगामी दिनमा मिलान गर्ने भनी निष्कर्ष नजिक पुगिएको थियो। तर, विद्यार्थीले लिखित निष्कर्षमा भने साइन गर्न नमानी हामी सल्लाह गर्छौं भनेर गए' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.