ब्लग

मैले देखेको जनकपुर

हरेक क्षेत्रबाट मधेस पीडित छ

मंसिर ११, २०७६

    काठमाडौं :  अस्ट्राबक्र, यज्ञवल्लभको शहर पनि हो जनकपुर। जनकपुरलाई राजा जनकको शासनको सीप सिकाउने शहरको रूपमा लिइन्छ। ५२ कुटी, ७२ कुण्ड भएको शहर पनि हो र। मिथिला सभ्यताको सुशोभित शहर पनि जनकपुर नै हो।  स्कुल तथा कलेजमा मैले जनकपुर बारे पढेको सालाखाला यती नै हो । जनकपुर र मिथिला सभ्यताबारे धेरथोर पढेको हिसाबले साथी सर्कलमा गफ लगाउन खुराक पुगेको थियो। 

    हरेक पटक जनकपुरबारे विषय निस्किँदा पुग्ने दिन कहिले होला सोचिबस्थे। मलाई  जनकपुरमा चलेको रेल हेर्ने धोको पनि नभएको होइन। जनकपुरवासीले नपाएको रेलको स्वाद मैले रहर गर्नु मात्र थियो। रेल नभए पनि रेलको लिक हेर्ने धोको यसपालि नेपाल लिट्रेचर फेस्टिभलले जुराएको थियो।

    जनकपुर घुम्ने मेरो रहर बच्चैदेखिको हो। जनआन्दोलन २०६२/६३ पछि पटकपटक जनकपुर जाने मेरो सपना मधेसमा भइरहेको राजनितिक सक्रमणले तुहिरह्यो। संक्रमणमा मधेस क्षेत्र अस्तव्यस्त हुँदा आफ्नै शरीरको माया लाग्यो। जनकपुर जान सकिनँ। तर, कामको सिलसिलामा गत कात्तिक २० गते म जनकपुर लागे।

    जनकपुर जाने भनेर गाडी चढे पनि म ढल्केबर झरेँ। गाडी फत्तेपुर जाने रहेछ। हाइसको यात्रा ढल्केबरसम्म भयो। ड्राइभरलाई किन मलाई ढाट्नुभएको भनेर झोक्किएँ। 'के गर्नु दशैं तिहार, छठ सकिइहाल्यो। यात्रु पाउन मुस्किल। इन्जिनले यात्रु छैन भनेर  तेल खान छोड्दैन।' उनले पुन आफूले गरेको झुटभित्रको बाध्यता  बताए।

    ठिकै त हो जस्तो लाग्यो। अचेल मलाई मिठो बोलीमा चिप्लिने लत लागेको छ। उनले जनकपुरमा रमाइलो गर्नुहोला केही परे मलाई सम्झनु भन्दै नम्बर दिए। आफू फत्तेपुर लागेँ।

    पहिलोपटक मधेस एक्लै आएको थिएँ। ढल्केबरमा जनकपुर जाने गाडी कुरेँ। केहीबेरमा गाडी आइपुग्यो। गाडी यति गज्जबको थियो कि हर्नबाहेक सबै बज्‍ने।

    यात्रू आफूआफू बोलिरहेका छन्। सायद मैथिली भाषा प्रयोग गरिरहेका थिए। मैले तिनीहरूको न भाषा बुझ्‍न सकेँ, न बोल्न नै। आफ्नै देशमा म पहिलोपटक आवाजविहीन बनेँ। पराई बनेँ। सायद भाषा हराएपछि मान्छे आवाजविहीन हुँदोरहेछ। 

    बोल्ने कोही नहुँदा कर्कश आवाज पनि साथी हुनेरहेछ। मलाई गाडीको आवाज पहिलोपटक मनपर्‍यो।

    जानकी मन्दिर पुग्नुअघि म रामानन्द चोक झरेँ। त्यहाँ मलाई टेम्पो, दूषित हावा र माखाले एकैपटक स्वागत गरे। ऐतिहासिक मिथिला सभ्यताका रूपमा परिचित जनकपुरमा यो अवस्थाले सुरुमै मलाई खिन्न बनायो। हरेक दिन जनकपुर आउने मान्छे यही कारणले खिन्न हुदाँ हुन्।

    द्वारमा नै यस्तो कुरूप भएपछि जानकी मन्दिर दर्शन गर्न आउने जुनसुकै व्यक्तिले एकपटक सोच्न बाध्य हुन सक्छ।  पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्न सक्ने यस क्षेत्रलाई यहाँको प्रशासनले कहिल्यै गम्भीर रूपमा लिन नसकेको उदाहरण हो यो। वर्षौंदेखि प्रशासनको आँखा कान र नाक बन्द छ। सायद कोमामा पो छ कि। 

    जनकपुरमा सहकर्मी सन्तोष यादवलाई फोन गरेँ। उनले मलाई एउटा होटल बुक गरिदिएर आफू गाउँ गएका रहेछन्। भोलिपल्‍टदेखि जनकपुरका विभिन्न स्थान घुमाइदिए उनले।

    यो शहरलाई कसरी व्यवस्थित बनाउने भन्ने सरकार र प्रदेश सरकारले अध्ययन गर्न जरुरी छ। व्यवस्थित रूपमा सार्वजनिक शौचालय बनाउन  कन्जुस गर्ने प्रशासनबाट धेरै अपेक्षा गर्नु जनताको प्रेसर मात्र बढ्नु हो।

    रामजानकी मन्दिरको जुन ऐतिहासिक महत्व छ। त्यो बोलीमा मात्र सीमित भएको सन्तोषले गुनासो गरे।

    जानकी मन्दिरको प्रवर्द्धन र यहाँको असभ्‍यतालाई सुधार गर्न कसरी सकिन्छ भन्नेबारे स्थानीयसँग सोधखोज गरी एउटा लामो लेख लेख्‍न जरुरी ठानेँ। तर, लगभग पचास जना स्थानीयसँग कुरा गर्न खोज्दा उनीहरू मेरो क्यामेरा र प्रेस कार्डसँग डराए।

    उनीहरूले तपाईंलाई लागेको लेख्नुस्। हामीलाई आफ्नो शरीरको माया छ भनेर तर्किए। मैले स्थानीयसँग भएको घटनाबारे सन्तोषलाई सुनाएँ।  उनले मधेसमा समाचार रिपोर्टिङ गर्नुको अफ्ठ्यारो पाटो नै यही रहेको बताए।

    यहाँका जनताले स्थानीय र प्रदेश सरकारको विसंगतिबारे कहिल्यै आवाज उठाउन सकेनन्। यतिसम्म कि  प्रदेश तथा स्थानीय सरकार के गर्दैछ भन्नेबारेसम्म यहाँका जनतालाई मतलव छैन। नेता र तिनका गलत प्रवृत्तिविरूद्ध बोल्दा फोटो खिचिदिन्छन् कि भन्ने डरका कारण  पत्रकारसँग मधेसका जनता तर्किने गर्छन्। जनतालाई आफ्नै नेतासँग ठूलो डर छ। नेताको विरोध गर्दा पत्रकारले फोटो खिचिदिएर आफूलाई अफ्ठ्यारो पर्ने हो कि भन्ने त्रासमा पत्रकारसँग भाग्ने कोसिस गरिरहने उनले बताए।

    केही बोल्यो कि गुण्डा लगाएर आक्रमण गर्छन् भन्ने सोचका कारण जनकपुर धेरै पछि धकेलिएको गुनासो गरे उनले।

    यहाँका जनतासँग आँट नै छैन। आँट भर्न शिक्षा जरुरी छ। अलिअलि पढेकाहरू आफ्नो धन्दामा छन्। गरिबमाथि शासन गर्न लालयित छन्। क्षणिक लोभमा फसेर यहाँको विसंगतिबारे उनीहरू बोलिदिँदैनन्। गरिब गरिबीमा बाँच्न विवश छन्। गरिबीलाई माथि उठाउन सरकार गम्भीर छैन।

    जनकपुरमा म तीन दिन बस्दा जनकपुरवासीले सबैभन्दा ठूलो पाठ पनि पढाए। हरेक उमेर समूहका व्यक्तिले बोल्ने भाषामा मिठासले हर्षित तुल्यायो। उनीहरूको बोलीमा सम्मानले एकपटक म जस्ता पहाडमा बसेर तराईको व्याख्या गर्ने व्यक्तिलाई झापड हान्न सक्थ्यो।

    काठमाडौं अथवा पोखरा जहाँ म हुर्‍किएँ। त्यहाँ मधेसीलाई हेर्ने दृष्टिकोण अहिले पनि परिवर्तन हुन सकेको छैन। मधेसीलाई विहारी देख्ने र होच्याउने पहाडी प्रवत्तिलाई भुलेर जनकपुरवासीले मलाई पहाडी भनेर विभेद गरेनन्। न त पहाडी भनेर सम्बोधन नै। हरेक क्षेत्रबाट  मधेस पीडित छ। पहाडीहरूको बोली र व्यवहारबाट कसरी अछुतो रहन सक्ला? मधेसले पीडा भुलेर देशलाई पत्थरको बदला फूल दिएको छ।

    अहिले त देश संघीयतामा गइसकेको छ। विकासको छनक पनि विस्ता‍रै हुँदै जाला तर सरकारले भ्रमण वर्ष २०२० तयारी गर्दैगर्दा सभ्य जनकपुरको अवधारणा ल्याउन जरुरी देखिएको छ।  

     फोहोरका थुप्रा, यत्रतत्र देखिएका सुँगुर र तिनका पाठापाठीहरू व्यवस्थित गर्न असहज छैन। समृद्धि र विकासका ठूलाठूला गफ गर्नेले यस्ता यी कुरालाई ध्यान दिन सकेका छैनन्। आन्तरिक तथा बाह्य पर्यटक यहाँ रामजानकी मन्दिर होइन यहाँको फोहोर र माखा हेर्न आउने हुन् भन्ने प्रशासनलाई लागेको हुँदो हो। 

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]