|

  • धर्मेन्द्र दाहाल-

हेटौंडा : डिभिजन सडक कार्यालयले सडकको दायाँबायाँ २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण घरटहरा हटाउने तयारी गरेको विरोधमा सोमबार हेटौंडा बसोबास संरक्षण समितिले प्रदर्शन गरेको छ।

मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको समितिको नेतृत्वमा सोमबार हेटौंडा बजारमा प्रदर्शन गरिएको हो। प्रदर्शनपछि बुद्धचोकमा आयोजित सभामा मकवानपुर क्षेत्र नं ३ का सांसद अनन्त पौडेलले सडक ऐन २०३१ खारेज गर्न माग गरे। २०२६ सालमा बनेको हेटौंडा नगरपालिकालाई सडक ऐन २०३१ ले कुनै असर नगर्ने बताउँदै सडक डिभिजनको सूचना आफैमा अराजक रहेको उनको दावी छ।

हेटौंडा नगरलाई व्यवस्थित र हरित नगरी बनाउन हेटौंडावासीले ठूलो मेहनत गरेको बताउँदै सांसद पौडेलले मुआब्जा बिना सडक फराकिलो बनाउन असम्भव रहेको ठोकुवा गरे। हेटौंडालाई ध्वस्त हुनबाट बचाउन राज्य पनि गम्भीर हुनुपर्ने भन्दै उनले यस विषयमा सरकार पनि गम्भीर हुनुपर्ने बताए।

नेपाल नगरपालिका एशोसिएशनका अध्यक्ष डोरमणि पौडेलले राज्य गैरजिम्मेवार बन्दा हेटौंडाको नगरिकले दुख पाएको बताए। राज्य जिम्मेवार बन्ने हो भने सहरको बीचबाट राजमार्गको अवधारणा नै नआउने भन्दै उनले जनतालाई उचित मुआब्जा वितरण नगरी सडक फराकिलो पार्न नसकिने दाबी गरे।

राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले सरकारले एक पैसा पनि नदिई जनताको घरमा डोजर लगाउन खोज्नु दिवास्वप्न मात्र भएको बताए।

डिभिजन सडक कार्यालयले सडकको २५ मिटर क्षेत्रका घर टहरा हटाउन सार्वजनिक सूचना जारी गरेको म्याद सकिएको दिन बजारबासीले विरोधमा सोमबार हेटौंडा बन्दको समेत आह्वान गरे। बसोबास संरक्षण समितिका अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले सडक कार्यालयले सडक फराकिलो पार्ने काम नरोकेसम्म आन्दोलन जारी रहने बताए। डिभिजन सडक कार्यालयले भने मंगलबारदेखि सडक फराकिलो पार्ने अभियान सुरु गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.