|

भक्तपुर : उपनिर्वाचनको मिति नजिकिएसँगै भक्तपुर क्षेत्र नम्बर १ (क)को परिणामबारे जनचासो बढ्न थालेको छ। पटकपटक निर्वाचनमा पराजित हुँदैं आएका मुख्य प्रतिष्पर्धी दलहरुका उम्मेदवारमध्ये कसले हारको श्रृंखला तोड्ला भनी मतदाताहरु चासोका प्रतिक्षामा रहेका छन्।

भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का डिपी ढकाल र नेपाल मजदुर किसान पार्टीका निरज लवजू मुख्य प्रतिस्पर्धी हुन्। 

उनीहरुमध्ये भँडेल र ढकालले यसअघि दुई/दुई पटक र लवजूले एक पटक हार व्यहोरिसको छन्। लगातार पराजित हुँदैं आएका उम्मेदवारहरुबीचको प्रतिस्पर्धामा यसपटक कसले बाजी मार्ला? 

निर्माण व्यवसायी पृष्ठभूमिका कृष्णलाल भँडेल

कांग्रेसका उम्मेदवार भँडेल निर्माण व्यवसायी हुन्। उनी चाँगु क्षेत्रमा स्थानीय बासिन्दा हुन्। उनले विशेषतः दुवाकोट, चाँगुनारायण, झौखेल र छालिङ क्षेत्रमा विगतमा विकास निर्माणका थुप्रै कार्य गरेका छन्। 

यस क्षेत्रका लोकप्रिय नेताका रुपमा परिचित भँडेल २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा चाँगुनारायण गाउँ विकास समितिको अध्यक्षमा पराजित भएका थिए। सो निर्वाचनमा पराजित भएर घाइते भएका भँडेल त्यसपछि चाँगु, दुवाकोट र छालिङ र झौखेलको विकासमा दत्तचित्त भएर लागे। त्यसैको परिणाम स्वरुप दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ मा कांग्रेसबाट टिकट पाएका भँडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई बलियो चुनौती पेश गरेका थिए। 

उक्त निर्वाचनमा नेमकिपाविरुद्ध सबै दल एकजुट हुने सहमति भए पनि तत्कालीन नेकपा एमालेको केन्द्रले सो क्षेत्रमा कमजोर उम्मेदवार उठाएर अप्रत्यक्ष रुपमा नेमकिपालाई सघाएका जानकारहरु बताउँछन्। निर्वाचनमा नेमकिपा अध्यक्ष बिजुक्छेंले २० हजार ४४७ मत ल्याएर विजयी हुँदा भँडेलले १२ हजार ८२६ मतमा सीमित भए।

जमानत जफत भएका डिपी ढकाल

ढकाल नेकपाभित्र बुद्धिजीवी नेताको रुपमा समेत परिचित छन्। उनी विशेषगरी अर्थराजनीतिमा दख्खल राख्छन। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनको स्वकीय सचिवको रुपमा कार्य गरेका ढकाल संविधानसभाको दोस्रो निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। 

सो निर्वाचनमा ढकालले पाँच हजार ७९१ मत ल्याई चौंथो स्थान हासिल गरेका थिए। निर्वाचनमा कांग्रेसका रामेश्वर ढुंगेलले २१ हजार १२१ मत ल्याएर विजयी हुँदा ढकालको भने जमानत जफत भएको थियो।

ढकाल गत प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क)बाट तत्कालीन नेकपा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका थिए। वामगठबन्धन अन्तर्गत पहिला नेकपा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रबाट तत्कालीन नेकपा एमालेकातर्फबाट हरिशरण लामिछानेले पनि आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेपछि विवाद भयो। 

विवाद समाधान गर्ने क्रममा वामगठबन्धनले लामिछानेलाई आधिकारिक उम्मेदवार घोषणा गरी ढकालको उम्मेदवारी फिर्ता भएको घोषणा गर्‍यो। तर, निर्वाचन तालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समय नाघिसकेकाले ढकालको उम्मेदवारी कायम रह्यो। उनले ७८४ मत पाए। उनको जमानत जफत भयो। सो निर्वाचनमा लामिछानेले १२ हजार ७८९ मत ल्याएर जित हासिल गरे।

पत्रकारिता क्षेत्रका निरज लवजू

लवजू पनि नेमकिपाभित्र बुद्धिजीवी नेताको रुपमा परिचित छन्। अंग्रेजी साहित्यमा स्नात्तकोत्तर उत्तीर्ण लवजू पत्रकारिता क्षेत्रमा पनि क्रियाशील छन्। उनी नेमकिपाभित्र विशेषगरी परराष्ट्र नीति हेर्छन्। 

उनी पनि यसपटक हारको श्रृंखला तोड्ने दाउमा छन्। गत प्रदेशसभा सदस्यको निर्वाचनमा सात हजार १९ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाएका लवजू यसपटक निर्वाचन जित्नेमा ढुक्क छन्।

जित्ने आ–आफ्नै दावी र आधार

प्रदेशसभा सदस्यको उपनिर्वाचनका मुख्य प्रतिष्पर्धी दल कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका डीपी ढकाल र नेमकिपाका निरज लवजूले यसपटक निर्वाचन जितेर हारको श्रृंखला तोड्ने दावी गर्छन्। उनीहरुले निर्वाचन जित्ने आ–आफ्नै दावी र आधार समेत प्रस्तुत गरेका छन्। पार्टीभित्रको एकतावद्ध परिचालन र विगतमा गरेका विकास निर्माणलाई निर्वाचन जित्ने आधारका रुपमा प्रस्तुत गरेका छन्।

नेकपा उम्मेदवार ढकालले विगतमा पनि नेकपाले जितेको र यसपटक पार्टीको एकतावद्ध संगठन र उत्साहजक परिचालन नै आफ्नो जितको आधार रहेको बताउँछन्। उनले आम मतदाताको विकासप्रतिको चाहना, विकासको विरोध गर्ने नभई विकास गर्ने पार्टी चाहिन्छ भन्ने मनोविज्ञान पनि आफ्नो जितको आधार भएको दावी गरे। 

‘केन्द्रीय, प्रदेश र स्थानीय सरकारले गरेका विकास निर्माणका कार्यले यहाँका मतदातामा नेकपाले मात्र विकास निर्माणका कार्य गर्न सक्छ भन्ने मनोविज्ञान विकास भएको छ,’ उनले भने, ‘यो नै मेरो जितको आधार हो।’

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले विगतमा आफुले गरेका विकास निर्माण कार्य नै यसपटक निर्वाचन जित्ने आधार भएको बताउँछन्। उनले पनि कांग्रेसमा देखिएको एकता पनि निर्वाचन जित्ने अर्को आधार भएको दाबी गरे।

‘नेकपा नेतृत्वको सरकारका दुई तिहाईको दम्भ, भ्रष्टाचार र अनियमितता, सरकारका लोकतान्त्रिक व्यवस्था विरोधी क्रियाकलाप, स्थानीय सरकारले थोपरेको करको भारीले जनता नेकपादेखि निराश छन्,’ उनले भने, ‘जनताले यसपटक परिवर्तन चाहेका छन। जनताको परिवर्तनको चाहना पनि मेरो जितको आधार हो।’ 

नेमकिपाका उम्मेदवार निरज लवजूले जनताले कांग्रेस र नेकपाको वैकल्पिक शक्तिको रुपमा नेमकिपालाई विजयी गराउने बताउँछन्। यस क्षेत्रका जनतासँग नेमकिपाको पहिलादेखिको निकटता तथा नेकपा र कांग्रेसप्रति जनता असन्तोष मात्र नभई आक्रोशित हुनु आफ्नो जितको आधार भएको दावी गर्छन्।

‘यस क्षेत्रमा नेमकिपाले गरेका विकास निर्माण र राजनैतिक घटनासँगको निकट सम्बन्धले यस पटक नेमकिपाले जित हासिल गर्नेछ,’ उनले भने, ‘नेकपा र कांग्रेसले जनतालाई वचन दिने तर काम नगरी धोका दिने, कमजोर राष्ट्रियता, सरकारका बदनामपूर्ण कार्यशैलीले जनता असन्तोष मात्र होइन आक्रोशित छन्। जनताले विकल्प खोजेका छन, यही नै मेरो जितको आधार हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.