|

  • अर्जुन आचार्य

विराटनगर : गत साउन र भदौमा दुई पटक गएको बाढीका कारण ठूलो क्षति ब्यहोरेका मोरङ सिसवनी जहदाका कृषक पुनः डुबानबाट पीडित बनेका छन्।सुनसरी मोरङ सिचाँइ आयोजनाले नहरमा आवश्यकताभन्दा बढी पानी छोड्दा सिसवनी जहदाको ४० विगाहाभन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बालीमा क्षति पुगेको छ। पूर्व जानकारी बिना नहरमा पानी बढेर आएको र आफ्नो बाली डुबानमा परेको स्थानीय कृषकको गुनासो छ। 

दुई लाख भन्दाबढी लगानी लगाएर गरेको खेतीमा डुबानले क्षति पुर्‍याएको स्थानीय कृषक सनोजकुमार सिंहले बताए। ‘टमाटर, आलु र मकै फल्ने बेलामा डुबानमा परेको छ,’सिंहले भने,‘सबैभन्दा बढी टमाटरमा नोक्सानी भएको छ। डोरी र बासमा मात्रै करिब एक लाख भन्दा बढी खर्च गरेर ५ कठ्ठामा टमाटर लगाएको थिएँ। फल्न सुरु मात्रै गरेको थियो, तर पानीले नष्ट पारिदियो।’

अर्का कृषक कोपिन्द्र सिंह पनि तरकारी खेती डुबानमा परेपछि निकै चिन्तित बनेका छन्,‘गत साउन र भदौमा पनि बाढीले कारण मेरो काउली र टमाटर नष्ट भएको थियो,’ उनले भने, ‘त्यसबेलाको क्षतिबाट बल्ल उक्सेका हामीलाई पुनः नहरको पानीले डुबायो।’ १८ कठ्ठा क्षेत्रफलमा लगाएको टमाटर र ६ कठ्ठामा लगाएको बन्दा नहरको बाढीले सखाप पारेको उनको भनाइ छ। 

नहरको ढोका पनि बिग्रिएको र सिचाँइ कार्यालयले आफुहरूलाई कुनै जानकारी नदिइ रातको समयमा पानी छाडेको कृषकहरुको गुनासो छ। जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले सुनसरी मोरङ सिचाई आयोजनाले आफुहरूसँग समन्वय नगर्दा समस्या आएको बताए।

सिचाँइले कृषकहरुलाई पूर्व जानकारी नै नदिई नहरमा पानी छाड्दा यस क्षेत्रको ४० विगाहा भन्दाबढी तरकारी खेती डुवानमा परेको कार्यालयले जनाएको छ ।
डुवानका कारण २५ विगाहाभन्दा बढी क्षेत्रफलमा लगाइएको गोलभेंडा, बन्दा, राज्मा, भिन्डी, आलुलगायतका तरकारी खेती र १५ विगाहा भन्दा बढी मकै र गहुँ खेती डुवानमा परेको कार्यालयले जनाएको छ। डुवानले मकै र गहुँलाई खासै असर नगरे पनि तरकारी खेतीमा भने ८० लाख बराबरको क्षति भएको कृषि कार्यालयको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.