|

काठमाडौं :  त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्त्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत साहित्यकार प्राडा. तारानाथ शर्मा (तानासर्मा) लाई एक लाख रुपैयाँ राशिसहित बालकृष्ण सम पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ।

आधुनिक कथा र उपन्यास सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्‍याई लोकप्रिय तुल्याएबापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

 ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार श्री राजन काफ्ले र समाजसेवी श्री श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ।

त्रिमूर्ति निकेतनको भौतिक सम्हार र संरक्षणमा विशेष योगदान पुर्‍याएबापत श्री मोहनकृष्ण सापकोटा र श्री ढण्डुराज घिमिरेलाई 'त्रिमूर्ति सेवा पदक' समर्पण गर्ने निर्णय भएको छ। १० हजार रुपैयाँ राशिसहित यस वर्षको 'भद्र घले पदक' विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्राडा. गार्गी शर्मालार्ई समर्पण गरिएको छ। भद्र घले पदक त्रिमूर्ति निकेतनका पदाधिकारी र सदस्यलाई मात्र अर्पित गरिन्छ।

 भद्रकुमारी घलेका सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरुष डा.सत्यमोहन जोशी, खनुपरूदे रामबाबु प्रसाई, डा.मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके. कर्मचार्य, हरिहर विरही, सलोमी लेप्चाले ग्रहण गरिसकेका छन्। त्रिमूर्ति निकेतनको सदस्यमा श्रीमती भगवती बस्नेत, श्री यादव भट्टराई र श्रीमती ललिता दोषी, मनोनीत भएका छन्।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको हो। यसैगरी नइ प्रकाशनले पनि श्रीमती पुष्पा थापा र श्री तोयानाथ ओडारीलाई नइ प्रकाशनको सदस्यमा मनोनीत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.