६ महिनामा १ सय १६ को मृत्यु, २ सय ३१ घाइते

|

नेपालगन्ज : सडक दुर्घटनामा परी ६ महिनाको अवधिमा मध्यपश्चिममा ११६ जनाले ज्यान गुमाएका छन्। मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार सडक दुर्घटनामा आर्थिक वर्ष २०७३\०७४ को ६ महिनामा घाइते हुनेको संख्या २३१ छ। 

सडक बिस्तारसँगै बढेको सवारी चाप र सडक सूचना एवम् सचेतना अभावका कारण दुर्घटना बढेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल प्रसाद खरेलले बताए। उनले सबैैभन्दा बढी मृत्युका घटना असोजमा घटेको बताए। 

सडक दुर्घटनाका कारण मध्यपश्चिम क्षेत्रमा साउनमा ९ र भदौमा ७ जनाको मृत्यु भएको थियो। त्यसपछि पछिल्ला ४ महिनामा दुर्घटनामा ज्यान गुमाउनेको संख्या निकै बढेको छ। असोजमा ३३, कार्तिकमा २२, मंसिरमा २५ र पुस महिनामा २० जनाको मृत्यु भएको जानकारी ट्राफिक प्रहरीले दिएको छ। ‘चिसो समयमा हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना भएको देखिन्छ,’ प्रहरी उपरीक्षक खरेलले भने।

सडक दुर्घटनामा मृत्यु हुनेमा पुरुष बढी छन्। ६ महिनाको अवधिमा ७५ जना पुरुष, १७ महिला, ९ बालक र ६ बालिकाको मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  महिलाको तुलनामा पुरुषहरु धेरै बाहिर हिडडुल गर्ने र उनीहरुले धेरै मोटसाइकल चलाउने हुनाले पुरुषको संख्या बढी भएको अनुमान ट्राफिक प्रहरीले गरेको छ। 

घाइते हुनेमा पनि पुरुष नै धेरै रहेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। ६ महिनाको अवधिमा २३१ जना घाइते भएका छन्। ती मध्ये १२८ जना सख्त घाइते र १०३ जना सामान्य घाइते छन्। सख्त घाइते हुने पुरुषको संख्या ७८ छ भने महिलाको संख्या ५० छ। 

बसको तुलनामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या धेरै छ। यस अवधिमा ३८ वटा मोटरसाइकल दुर्घटना भएको छ भने ३४ वटा ट्रक दुर्घटना भएको छ। यस अवधिमा १९ वटा जिप र १६ वटा बस दुर्घटनामा परेको मध्यपश्चिम ट्राफिक प्रमुख प्रहरी उपरीक्षक खरेलले बताए। ‘यस अवधिमा मध्यपश्चिम क्षेत्रमा १५१ वटा सडक दुर्घटना भएका छन्, यो गत वर्षको तुलनामा धेरै हो,’ उनले भने।

सडक दुर्घटना दाङमा बढ्दो
सडक दुर्घटनाको अनुपात हेर्दा सबैभन्दा बढी दुर्घटना दाङमा भएको देखिन्छ। पुस महिनामा मात्र दाङमा ९ वटा सडक दुर्घटना भए। यस क्रममा ७ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक खरेलले बताए। उनले बाँकेमा पुस महिनामा ७ पटक सडक दुर्घटना भएको र ३ जनाको मृत्यु भएको जानकारी दिए।  

पछिल्लो ६ महिनामा सुर्खेतमा ५, बर्दियामा ३, सल्यानमा १, रोल्पामा २, दैलेखमा २, जुम्ला, जाजरकोट र रुकुममा एक–एक वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। ‘अहिलेको दुर्घटनालाई विश्लेषण गर्दा साँघुरो सडक, असीमित गति, भिरालो र सडक वरीपरी बस्ती भएका कारण दाङमा सवारी दुर्घटना बढी हुने गरेको देखिन्छ, सडक सम्बन्धि सचेतना नहुँदा पनि सडक दुर्घटना बढेको छ,’ खरेलले भने।

६ महिनामा सवा ३ करोड राजस्व संकलन
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले ६ महिनाको अवधिमा ३ करोड २८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीका अनुसार मंसिर महिनामा सबैभन्दा धेरै ६३ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। 

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको र ट्राफिक नियम उल्लंघन गरेकाहरुबाट भाद्र महिनामा ५८ लाख ५५ हजार ९ सय, असोजमा ५५ लाख १० हजार, कार्तिकमा ५३ लाख ७ हजार, पुसमा ५१ लाख ७९ हजार र साउन महिनामा ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक खरेलले जानकारी दिए। उनले मध्यपश्चिमका अन्य जिल्लाका तुलनामा दाङबाट राजस्व संकलन धेरै हुने गरेको बताए । 

ट्राफिक नियम उल्लंघनमा दाङ अगाडी
मादक पदार्थ सेवन र ट्राफिक नियम उल्लंघन गर्नेको संख्या दाङमा धेरै रहेको खरेलले बताए। मापसे कारबाहीमा मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले ६ महिनामा एक लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकमको आधा रकम दाङबाट संकलन भएको छ। मापसे कारबाहीमा दाङबाट ५६ हजार रुपैयाँ संकलन भएको छ। ‘दाङमा सडक बिस्तारसँगै ट्राफिक नियम उल्लंघन गर्नेको संख्या पनि बढ्दै गएको छ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.