नेपाल साहित्य महोत्सव माघ १४ देखि १७ सम्म पोखरामा

|

काठमाडौं : ‘हामी विभिन्न ठाउँमा कन्सर्टमा गीत गाउँदै हिँड्छौँ तर आजको कार्यक्रमको गरिमा र भब्यता हेर्दा कताकता जिब्रो लरबरिन पुग्यो भने स्वर यताउता हुन पुग्यो भने हामी पहिला नै क्षमा माग्छौ’, कन्दराका लिड भोकलिस्ट विवेक श्रेष्ठले सुरुमै भने, ‘आज हाम्रो माझमा संगीत, साहित्य, कला, संस्कृति, मिडिया र व्यावसायी व्यक्तित्वहरु आउनुभएको छ। सकेसम्म काठमाडौंलाई पोखरामय बनाउन आएका छौँ। हामी पोखरामा निम्तो दिन आएका छौँ।‘

नेपाल साहित्य महोत्सव आउन १० दिन अघि काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रमको मुख्य आकर्षण थियो- चर्चित पोखरेली ब्यान्ड कन्दरा। 

करिब दुई घण्टा लामो कार्यक्रममा कन्दराको जिब्रो लरबरिएन न त स्वर नै यताउता भयो। बरु उसले आफ्ना नयाँ पुराना गीतमार्फत पोखरामा माघ १४ देखि १७ गतेसम्म आयोजित नेपाल साहित्य महोत्सव २०७३ को निम्तो दियो।

महोत्सवको निम्तो

बुकवर्म फाउन्डेसनले नेपाल लिटरेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३) को निम्तो दिएको छ। १२ वर्ष पछि पुनरागमन गरिरहेको कन्दरा ब्याण्डको प्रस्तुतिसँगै नेपाल लिटरेचर फेस्टिभलको छैठौँ संस्करणको पहिलो झल्को दिन काठमाडौंमा “कर्टेन रेजर” नाम दिएर महोत्सव आयोजकले कार्यक्रम गरेको थियो।

कार्यक्रममा राजनीतिज्ञदेखि लेखक, कलाकार, साहित्यकार, पत्रकार र संस्कृतिकर्मीहरुलाई निम्त्याइएको थियो। कार्यक्रममा सहभागी हुन महोत्सव हुने सहर पोखराबाट साहित्यकारहरु आएका थिए।

कार्यक्रममा बोल्दै सभासद एवं संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले भने- “भौतिक विस्तारले मात्रै देशको प्रगति हुन सक्दैन। साहित्य र संस्कृतिको प्रवर्द्धन र विकासले मात्र सुन्दर देश निर्माण सम्भव छ।” साहित्यिक प्रवर्द्धनमा जुटेको यो महोत्सव दोस्रोपटक पनि पोखरामा आयोजना हुन लागेकोमा प्रसन्नता जनाउँदै अधिकारीले पोखरालाई साहित्यिक नगरीका रुपमा अझ स्थापित गर्ने विश्वास व्यक्त गरे।

संस्कृतिविद् एवं कवि तीर्थ न्यौपानेले सबै साहित्य र संस्कृतिप्रेमीलाई कार्यक्रममा सहभागी हुन निम्तो दिदैँ भने- “विचार, साहित्य र कलाको यो महोत्सवमा सम्पूर्णलाई साथ दिन आह्वान गर्नकै लागि म पोखरादेखि काठमाडौँसम्म आएको छु। हाम्रो आग्रहलाई मानेर यही माघ १४ देखि १७ गते सम्म साहित्यमा चुर्लुम्म डुब्न सबैलाई स्वागत छ।”

नेपाल साहित्य महोत्सवको छैठौँ संस्करण यही माघ १४ देखि १७ गते सम्म पोखराको पार्दीमा हुँदैछ। गत पाँच संस्करणमाझैँ यो वर्ष पनि चार दिने महोत्सवमा लगभग १०० राष्ट्रिय विचारक, कलाकार र साहित्यकारको उपस्थिति हुने आयोजकले जनाएको छ। महोत्सवमा तीन अन्तराष्ट्रिय लेखक – उदय प्रकाश, दुर्जोय दत्त र राम चन्द्र गुहा पनि सहभागी हुनेछन्।

कार्यक्रममा मदन पुरस्कार विजेता अमर न्यौपानेले भने- “यो महोत्सवले साहित्यको त्यही शक्तिलाई आम मानिसहरुमा पुर्‍याउन र साहित्य क्षेत्रको विस्तार गर्नको निम्ति अभियान नै चलाएको छ। त्यसैले नेपाली साहित्यलाई देशभित्र विस्तार गर्ने र विश्व साहित्यमा पनि पुर्‍याउने अभियानका यी पाइलालाई हामी सबैले साथ दिन आवश्यक छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.