|
फाइल फोटो

काठमाडौं : सत्ता साझेदार समाजवादी  पार्टी, नेपाललाई सोध्दै नसोधी प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिए। समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई त उक्त पदबाटै हटाए।

उपेन्द्र यादवलाई गरिएको प्रधानमन्त्रीको यो व्यवहार सरकारबाट बाहिर जाऊ भनेको हो भन्ने व्याख्या उनकै पार्टी र आम राजनीतिक वृत्तमा भयो। अर्को आकलन थियो कि उपेन्द्रले नयाँ जिम्मेवारी पाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छैनन्। उनले राजीनामा दिनेछन्।

तर, यो आकलनले त्यति बेला फेल खायो जतिबेला उपेन्द्र यादवले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै भने, 'मन्त्रालय परिवर्तन प्रधानमन्त्रीको सरोकार हो। बल्ल विषय मिल्ने मन्त्रालयमा जिम्मेवारी पाएको छु। प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो र मलाई यो मन्त्रालय दिनुभयो।'

सरकार छोड्नेबारे यादवको एक शब्दमा जवाफ थियो, 'पार्टीले निर्णय गरेको छैन।'

उपेन्द्रको यस्तो भनाइबाट सबैभन्दा बढी सकस परेको थियो उक्त पार्टीका संघीय परिषद अध्यक्षको जिम्मेवारीमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई।

प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेर उपेन्द्रको जिम्मेवारी हेरफेर र राज्यमन्त्री हटाएकोमा बाबुराम पक्षधर नेताहरू 'पार्टी प्रधानमन्त्रीप्रति असन्तुष्ट रहेको र उपेन्द्रले सरकार छोड्ने' भन्ने कुराको प्रचारप्रसारमा आवश्यकताभन्दा बढी खटिएका थिए।

बाबुराम पक्षले उपेन्द्र नैतिक संकटमा परेको र ओली सरकार छोड्ने भन्ने प्रचारमा व्यस्त रहे।

तर, आफ्नो नयाँ शक्ति पार्टीलाई उपेन्द्रको संघीय समाजवादीमा विलय गराएका बाबुरामको अपेक्षाअनुसार सरकार ओली सरकार छोड्ने निर्णय नआएपछि पार्टीभित्र विवाद भुसको आगोझैँ सल्किरहेको छ।

भलै 'फेस सेभिङ'का लागि उपेन्द्रले सरकार छोड्ने नछोड्नेबारे प्रधानमन्त्री ओली र नेकपासँग वार्ता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन गरिएको छ। तर, उपेन्द्रले भने उक्त समितिले वार्ता नथाल्दै पदभार ग्रहण गरिसकेका छन्। उक्त समितिमा उपेन्द्र यादव, अशोककुमार राई र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

बाबुराम र उपेन्द्रबीचको यो विमतिले समाजवादीभित्र रडाको मच्चिएको हो। भट्टराईले सरकारले आफ्नो पार्टीलाई नैतिक रूपमा पनि अवहेलना गरेको भन्दै सार्वजनिक रूपमा चर्को आलोचना गर्दै आएका छन्।

उनले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ हेरेर मन्त्रिपरिषद पुनर्गठन गरेको र सत्ता साझेदार छ भन्ने भुलेको अभिव्यक्ति दिँदै आएका छन्।

उपेन्द्र निकट नेताहरू बाबुरामको उक्त आक्रोशले पार्टीमा कुनै सुनुवाइ नहुने र पार्टी सरकारमा रणनीतिका साथ बस्ने बताउने गरेका छन्। तर, बाबुराम पक्षधर नेताहरू भने तत्काल सरकार छोड्नै पर्ने बताउँदै आएका छन्।

बाबुराम पक्षधरले उपेन्द्रलाई सरकार छोड्दा मुद्दा लाग्ने डरले पदमा टाँसिएको आरोप पनि लगाउने गरेका छन्। बाबुराम निकट एक नेताले भने, 'उपेन्द्र यादवलाई गौर हत्याकाण्डको फाइल खोल्ने डरले पनि होला यति अवहेलना गर्दा पनि पदमा टाँसिइरहनु परेको।'

नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, 'उपेन्द्र यादव अब संविधान संशोधन नभए पनि सरकारबाट बाहिरिनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ। एक शब्द नसोधी प्रधानमन्त्रीले मन्त्रालय परिवर्तन गर्दा र राज्यमन्त्री हटाउँदा पदभार ग्रहण गर्न जानुले उहाँ जसरी पनि सरकारमै रहने देखिन्छ।'

उपेन्द्रले सरकार नछोड्दा बाबुराम मात्रै चिढिएका छैनन् यता राष्ट्रिय जनता पार्टीसँगको एकता पनि संकटमा परेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले घोषणा नै गरेका छन् कि- जबसम्म उपेन्द्रले सरकार छोड्दैनन् तबसम्म समाजवादीसँग पार्टी एकता हुँदैन।

उपेन्द्रले सरकार नछोड्ने र उनी सरकारमा रहेसम्म राजपा एकतामा नआउने भएपछि तेस्रो राजनीतिक शक्ति खडा गर्ने डा. बाबुराम भट्टराईको 'योजना' संकटमा परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.