|

सुर्खेत : सुर्खतको बराहताल गाँउपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालय बड्डीचौरमा कृषि जेटिएका विद्यार्थी सवार ट्याक्टर हल्दुमा दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। कर्णाली राजमार्गमा पर्ने बड्डीचौर-तल्लोडुङ्गेश्वर सडकखण्डको बराहताल-५ हल्दुमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा विद्यार्थी घाइते भएका हुन्।

विद्यालयले अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कंडेलले जानकारी दिए।

घाइतेमध्ये ३५ जनाको अवस्था सामान्य छ भने दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमख उदयसिंह सिजापतिले जानकारी दिए।

गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका-९ का दिपेन्द्र गुरुङ र नारायण  नगरपालिका ७ दैलेखका सनम राना छन्। उनीहरूलाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको सिजापतिको भनाइ छ।

घटनालगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याएको थियो। प्रहरीले ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.