ब्लग

आहा ! स्वर्ग जाने द्वार यस्तै हुँदो हो...

गोसाईंकुण्ड यात्रा संस्मरण

मंसिर २०, २०७६

    ०७४ साल अर्कै थियो। तपाईंले ख्याल गर्नुभयो? मैले त मज्जाले गरेँ। बादल लागेजस्तो, धुम्म। रिङरोडको धुलो बाटोमा हिँड्दाजस्तो, उराठ। ०७४ साल खासमा बिग्रिएको चित्रजस्तो थियो, खाल्डाखुल्डी परेको बाटोजस्तो। कम्तीमा मेरालागि यस्तै थियो। मिलाउँदा मिलाउँदै पनि जिन्दगीको लय बिग्रिइरहेथ्यो। त्यसैबखत दोलखामा जागिर गरिरहेका मेरा मित्र आविष्कार देवदूत बनेर आए र मलाई ‘गोसाइँकुण्ड जाऊँ’ भनी प्रस्ताव गरे। मैले ‘नाइँ’ भन्ने कुरै थिएन।

    बिहान ६ बजेतिर माछापोखरीबाट बस चढियो स्याँफ्रबेशी जाने। झ्यालको सिटमा दायाँबायाँ हेर्दै, पिच बिग्रिएको बाटोमा झ्याक्किँदै, हास्दै- हसाउँदै, गीत सुन्दै, कुरमुरेको स्वादमा, हामी तपोवन हुँदै ककनीको उकालो चढ्यौँ। ओखरपौवा, रानीपौवाहरू आए बाटोमा।  घुम्ती बाटो रिगाएजस्तो भयो बेलाबेला। ३-४ घण्टा बसमा जाँदाजाँदै तादी खोला आयो र पुल तर्‍यौँ। अगाडि विदुर बजार आयो। साह्रै गर्मी। हुप्प।

    जिउ पसिनाले निथ्रुक्कै भिज्यो। गाडीले अलिक अगाडि त्रिशूलीको किनारमा लगेर खाना खान रोक्यो। माछाको स्वादमा मिठो खाना खायौँ। पारिपट्टि हाइड्रोपावरको टनेल थियो। धार्मिक यात्रामा पनि केका इन्जिनियरिङ कुरामा रुमल्लिनू ! हामीले हाइड्रोपावरसम्बन्धी केही गफ गरेनौँ। यहाँबाट माथितिरको बाटो नौलो थियो हाम्रा लागि। अलिक माथि पुगेपछि बेत्रावती नदी आयो। नदी तरेपछि नुवाकोट सकिएर रसुवा सुरु भयो। 

    यहाँबाट यात्राकै सबैभन्दा जटिल भाग सुरु हुन्थ्यो। करिब १५०० मिटर उकालो चढ्नुपर्ने। ठाडै उकालो ! बिचमा लौरीबिना पर्दोरहेछ। १ बजिसकेथ्यो घडीमा। हामीले त्यहीँ गएर बिहानको खाना खायौँ। लाङटाङ हिमाल, गणेश हिमाल र नाम थाहा नपाएका दर्जनौँ हिमालहरू आँखैअगाडि देखेर हामी दंग पर्‍यौँ। तलतिर धुन्चे ठम्यायौँ, हिजो बास बसेको देउराली पनि पत्ता लगायौँ। कहाँ हो कहाँ तल पहाडको खोंचमा।

    रसुवामा संसदको पहिलो चरणको चुनाव हुँदै थियो। जिल्ला पूरै चुनावको माहोलले रंगिएको थियो। स्कार्पियो, बोलेरो, जिप, मिनी ट्रक पूरै पार्टीका मान्छेहरूले भरिएको थियो। कतै तारावाल झण्डा, कतै मसाल कतै हँसिया हथौडा, कतै सूर्य, अनेक-अनेक रंगले रंगिएथ्यो जिल्ला। नहेरम् भने पनि, नसुनम् भने पनि सुखै नपाइने। लहरेपौवामा त आमसभा नै रहेछ, बाटै ब्लक हुनेगरी। जसोतसो पन्छिएर हाम्रो गाडी अगाडि बढ्यो।

    एकदुई ठाउँ सुरक्षा जाँचका लागि सेनाहरू हाम्रो गाडीमा चढे, झोला छामछुम पारे। राम्चे भन्ने ठाउँमा ठूलो पहिरो रहेछ, मुटु काँप्यो। विश्वकै अग्लो भीर हो कि जस्तो। बाटो त्यही ठाउँमा अप्ठ्यारो। त्योभन्दा अगाडि भने सहज थियो बाटो। सरर गुडेर हामी धुन्चे पुग्यौँ। घडीमा दिउँसोको ३ जति बजेको हुँदो हो। गाडीबाट ओर्लंदा चिसो हावाले कानैमा हान्यो। मैले झोलाबाट मफलर निकालेर घाँटीमा बेरेँ।

    आविष्कार पञ्जा किन्न गए। नजिकैको होटलमा पसेर चाउचाउ सुप पियौँ। केही चलकेटहरू किन्यौँ। माथितिरको बाटो, बासको अवस्था र मौसमबारे सामान्य जानकारी लियौँ। ४ बजेतिर जहाँ त पुगिएला भनेर हिँड्न कस्सियौँ।

     सुरुसुरुमा उही त हो जे देखे पनि फोटो खिच्न मन लाग्ने। पुलमा, बाटोमा, बारीमा , घट्टमा फोटोहरू क्लिकक्लिक भए। घट्टेखोलासम्म त ठिकै थियो अनि उकालो सुरु भयो। अनि हाम्रो सकस ! बाटोमा निकै मोटामोटा बहिनीहरूको एउटा स-सानो ग्याङ भेटियो। उनीहरूभन्दा त तगडै थियौँ हामी। लौरो टेक्दै गीत सुसेल्दै त्रिशूली खोलाको पानी पिउँदै राति ८ बजेतिर देउराली पुग्यौँ। देउरालीमा एउटा मात्र होटल थियो। हामी त्यसैमा सुस्ताउने भयौँ। अफ सिजनको बेला भएर होला हामीबाहेक ४ जना पाहुना हुनुहुन्थ्यो। जम्मै गोसाईंकुण्ड जाँदै गरेका। अर्को दिन सँगसँगै हिँड्ने कुरा भयो।

    अँगेनाको छेउमा बसेर खाना खायौँ। काठैकाठले बनेको घरको बीचमा आगो बालिएकाले भित्र न्यानो थियो। बाहिर हावा चलिरहेकाले चिसो थियो। आकाश खुल्ला र ताराहरूले भरिभराउ। टाढा माथितिर तारा हिँडिरहेजस्तो देखियो। ‘तारा होकि, जहाज होकि, मान्छे?’ हामी अलमलमा पर्‍यौँ। त्यही अलमल लिएरै हामी आ-आफ्नो कोठामा गई निदायौँ। अर्को दिनको बाटो झन् उकालो थियो। सल्ला र धुपी सल्लाको घना जंगल। बिसाउँदै – हिँड्दै,  हिँड्दै- बिसाउँदै गरिरह्यौँ।

    बिहानको ९ बजेतिर  धिम्सा हुँदै चन्दनबारी पुग्यौँ। त्यहाँ केही राम्रा होटल थिए। प्रहरी चौकी थियो। ठाउँ सम्मै थियो। यहाँदेखि केहीबेर बाटो उकालो रहेनछ। लौत भनेर हामीले त्यहीँ खाजा खायौँ। चाउचाउ सुप, अमलेट, लटरपटर। जति उकालो उक्ल्यो खानाको दर रेट पनि उस्तै बढ्थ्यो। केही बेर त्यहाँ आराम गरेर हामी फेरि हिँड्न थाल्यौँ। अबको यात्रा अलिक सहज थियो। बाटोको दायाँबायाँ अग्ला रूख थिएनन्।

    धुपिका रूखहरू मात्रै। कतैकतै लालिगुँरास। बाटोमा केही पर्यटकका  समूहहरू भेटिए। अझ बढी त चोलाङपाटी पुगेपछि भेटिए। चोलाङपाटी गज्जबको ठाउँ थियो। पहाडको फेदी। हिमालहरूको मनमोहक दृश्य देख्न सकिने। राम्रा होटल र पसलहरू।

    यहाँबाट यात्राकै सबैभन्दा जटिल भाग सुरु हुन्थ्यो। करिब १५०० मिटर उकालो चढ्नुपर्ने। ठाडै उकालो ! बिचमा लौरीबिना पर्दोरहेछ। १ बजिसकेथ्यो घडीमा। हामीले त्यहीँ गएर बिहानको खाना खायौँ। लाङटाङ हिमाल, गणेश हिमाल र नाम थाहा नपाएका दर्जनौँ हिमालहरू आँखैअगाडि देखेर हामी दंग पर्‍यौँ। तलतिर धुन्चे ठम्यायौँ, हिजो बास बसेको देउराली पनि पत्ता लगायौँ। कहाँ हो कहाँ तल पहाडको खोंचमा। अनि थाहा भयो हिजो हामीलाई अल्मलाएको प्रकाश यहीँका होटलबाट आएको रहेछ।

     जसै खाना खाइयो अनि पर्‍यो हिँड्नलाई सकस। अलिकति हिँड्यो कि टाउको दुखेजस्तो हुने।  'टाढाटाढा जानु छ साथी' भन्ने गीत याद आउथ्यो। मन र खुट्टामा ऊर्जा भरिन्थ्यो।

    हामी अन्दाजी चार हजार मिटरको उचाइमा रहेछौँ समुद्र सतहदेखि। थर्मसमा तातो पानी हालेर ल्याएका थियौँ। दुई पाइला चालेर पानी खान्थ्यौँ, फेरि सुस्ताउँथ्यौँ। हाम्रो समूह नै विभाजित भयो। छिटो हिँड्ने अगाडि, ढिलो हिँड्ने पछाडि छोडिन थाल्यो। म मध्यम गतिमा हिडिरहेथेँ। यत्तिकैमा सजिलो बाटो खोज्दै आबिष्कार तेर्सो लागे।

    पाखाहरुमा अलिअलि हिउँ थियो। हिँड्न गाह्रो होला भनेर म मुख्य बाटो नै हिँडेँ। माथि टाकुरामा पुगेर धेरैबेर कुर्दा पनि आविष्कार आइपुगेनन्। वारिपारि कतै डाँडामा हेर्दा पनि देखिएनन्। बोलाउँदा आवाज आएन। अनि म फेरि फर्किएर ४-५ सय मिटर तल झरेँ। त्यहाँबाट पनि देखिएनन्। फेरि उकालो चढेँ। धन्न एउटा दाइको मोबाइलमा चार्ज र टावर दुवै रहेछ। उहाँकैबाट कल गरेको फोन लाग्यो। साथी त कताकता हिउँमा अल्मलिएर बसिरहेछन्। अलिकबेर कुरेपछि आइपुगे।

    बाहिर निस्किँदै पश्चिममा घाम डुब्दै रहेछ। लामा राता घामका रेखाहरू तालको पानीमा लुकामारी गरिरहेको थियो। तालको छेउछाउ र पारिको पाखो पूरै हिउँले भरिएको थियो। चिसो हावा र खुला आकाशमुनि थियौँ हामी। बाँकी दुनियाँभन्दा अग्लो अनुभव भइरहेको थियो। त्यो रात लेक लागेर होला खाना खानै मन लागेन।

    उकालो सकिएपछि बाटो तेर्सो थियो। तैपनि हिँड्न सकस भयो। अलिकति हिँड्यो कि खुट्टा गलिहाल्ने। देख्दा नजिकै देखिएको ठाउँ पनि हिँड्न घण्टौँ लाग्ने। तर हामीले हिम्मत हारेनौं। हिँडेपछि पुगिन्छ भन्ने सोचका साथ अनवरत अगाडि बढिरह्यौ। सुरुमा बडेमानको भैरवकुण्ड देखियो।

    मलाई त गोसाईंकुण्ड नै यही हो कि जस्तै लागेथ्‍यो, होइन रहेछ। अलिक माथि अझ ठूलो ताल देखियो। छेउमा होटलका थुम्काहरू देखिए। झण्डै त्यहाँबाट १-२ घण्टा हिँडेपछि होटल पुगियो। ताल छेउकै होटलमा कोठा लियौँ। टाउको मन्द दुखिरहेथ्यो। अँगेनाको छेउमा बसेर चाउचाउ सुप खायौँ।

    बाहिर निस्किँदै पश्चिममा घाम डुब्दै रहेछ। लामा राता घामका रेखाहरू तालको पानीमा लुकामारी गरिरहेको थियो। तालको छेउछाउ र पारिको पाखो पूरै हिउँले भरिएको थियो। चिसो हावा र खुला आकाशमुनि थियौँ हामी। बाँकी दुनियाँभन्दा अग्लो अनुभव भइरहेको थियो। त्यो रात लेक लागेर होला खाना खानै मन लागेन। जति राति बढ्दै गयो, उति नै चिसो पनि। ‘मरिन्छ कि क्या हो ?’ भनेर दुई दाजुभाइ एउटै बेडमा सिरक खापेर सुत्यौँ।

    अर्को दिनको बिहान निकै सुन्दर थियो। हामी करिब १५ मिनेट हिँडेर तालमा ओर्लियौँ। मुख धोयौँ। छेउको हिउँमा मनलाग्दी खेल्यौँ। फोटो खिचायौँ। ९ बजेतिर तालमा घाम लाग्यो। न्यानो भयो। अनवरत यात्राको थकान प्रकृतिले मेटाइदियो।

    आहा ! स्वर्ग जाने द्वार यस्तै हुँदो हो।  यतैबाट स्वर्ग पसूँ कि जस्तो भयो। सम्झिएँ नेपालमा स्वर्ग जस्ता धेरै ठाउँ छन्।  त्यसपछि नयाँ यात्राको आशामा खुट्टाहरू मोडिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]