|

पोखरा : १३औँ दक्षिण एशियाली खेलकुद (साग) को स्वागतमा पोखरा तम्तयार छ। पोखरा मात्र तम्तयार भएर भएन, खेलाडी खेल्ने मैदान भने निर्माणाधीन छ। तीन महिनाको अवधिमा बनेको पोखरा स्टेडियममा १३औँ सागको आठ वटा खेल हुनेछन्।

विभिन्न विधाका खेलमा सहभागी हुन स्वदेशी तथा विदेशी खेलाडी पोखरा आउन थालिसकेका छन्। केही खेलाडीले यहीँ तयारीसमेत थालिसकेका छन्। तर, सागको अध्यक्ष राष्ट्र नेपाललाई भने भवन, मैदान बनाउनै हतारो छ। यसपटक सागको खेल काठमाडौं, पोखरा र जनकपुर गरी तीन ठाउँमा हुनेछ। पोखरा रंगशालाको फुटबल मैदान, क्रिकेट मैदान, सिन्थेटिक एथ्लेटिक ट्रयाक, केही पनि पूर्णरूपमा सम्पन्न भएका छैनन।

‘सबै काम हुँदैछ,’ राखेप सदस्य राजेश गुरुङले थाहाखबरसँग भने, ‘यो बीचमा खेलहरू चल्दै गर्छन्, यहाँ हुने निर्माणको काम पनि चलिरहन्छ।’

पोखरा रंगशाला निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले दिनरात काम गरिरहेका छन्। हतारमा काम गरेकोले गुणस्तरमा भने कसैले चासो दिएको छैन।

मैदानमा बन्ने करिब १० हजार मानिस अट्ने प्याराफिट अझै जडान भइसकेको छैन। अझै केही दिन लाग्ने बताइएको छ। राखेप सदस्य गुरुङ भौतिक संरचना नबनेको कारण पोखरामा सागका खेल नहुने भन्ने स्थिति नरहेको बताउँछन्। उनले अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भएको दाबी गरे।

‘अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘खेल रोकिने गरी कुनै पनि काम बाँकी हुँदैनन्। निर्माणको काम भने खेल हुँदा पनि चलिरहन्छ।’

महिला फुटबलको लागि पोखरा रंगशालामा मैदान अझै तयार भइसकेको छैन। दुई पटकसम्म दुबो मरेकोले पछिल्लो पटक लगाइएको दुबो जमिनमा सेट भइसकेको छैन। ‘हामीसँग स्टक दुबो हुन्छन्,’ उनले भने, ‘दिउँसो गेम भएपछि भत्केको ठाउँमा, दुबो नबसेको ठाउँमा राति काम गरेर पनि तयार पार्नुपर्ने हुन्छ।’

सागको औपचारिक उद्घाटन आगामी १५ गते काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। १३ गते भने रिहर्सल गर्ने तयारी गरिएको छ। पोखरामा भने संरचना निर्माणमै हतारो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.