|

काठमाडौं :  भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। विभिन्न कारणले निकै ढिला गरी सुरु भएको पुनर्निमाणले अहिले भने गति लिएको हो।

धरहराको पुनर्निर्माण साढे तीन अर्बमा निर्माण हुन लागेको हो। धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ। पुनर्निर्माण प्राधिकरणले ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ। वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो। भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो।

धरहरामा भ‍र्‍याङ चढेर मात्र होइन, लिफ्टबाट उक्लिन सकिनेछ। धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ। अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ।

धरहरामा अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ। बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिनेछ। बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ। म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरू प्रदर्शनीमा राखिनेछ। म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ। वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ। नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.