|

काठमाडौं : नेपालमा मूल्यवृद्धिको दर गत वर्ष भन्दा घटेको छ। गत वर्ष उपभोक्ता मूल्यवृद्धि दर ११. ८ प्रतिशत रहेकोमा यसवर्ष जम्मा ३.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको मृल्यवृद्धिको समीक्षा गर्दा मूल्यवृद्धि निकै कम भएको पाएको जनाएको छ।

गत वर्ष भूकम्प र नाकाबन्दीका कारण आपूर्ति व्यवस्था असहज हुँदा  मुल्यवृद्धि दर उच्च रहेपनि यसवर्ष आपूर्तिमा सुधार भएको र भारतमा पनि मूल्यवृद्धि घटेकाले कम भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। राष्ट्र बैंकले मूल्य वृद्धिदर घट्नुमा गत वर्ष वस्तुको आधार मूल्य बढी हुनुलाई पनि मुख्य कारण मानेको छ।  

गत वर्ष नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयात नहुँदा ढुवानी महंगो थियो भने धेरै उद्योगहरु कच्चा पदार्थको अभावमा बन्द भएका थिए। मूल्यमा ठूलो प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य गत वर्षको मंसिर महिनामा भन्दा यसवर्ष कम छ। यसवर्ष त अझ लोडसेडिङ नहुदा उद्योगका उत्पादन लागत पनि घटेको छ।

धेरै सामानहरुमा भारतको प्रभाव परेकाले मूल्य वृद्धिदर कम भएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित बताउँछन्। 'भारतमा ३.४ प्रतिशतको मूल्य बृद्धि छ, नेपालमा ३.८ प्रतिशतको मात्रै कायम छ' नेपाल राष्ट्र बैंङ्कका सहप्रवक्ता राजेन्द्र पण्डितले भने। चालु आर्थिक वर्षको पाँच महिनाको समीक्षाको आधारमा यसवर्ष मूल्य वृद्धिदर ७.५ को लक्ष्यभित्रै रहने राष्ट्र बैंकको अनुमान छ।

'चालु आर्थिक वर्ष २०७४ मा उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशतको लक्ष्य भित्रै रहने अनुमान छ। वर्षे वालीहरुको उत्पादनमा उच्च वृद्धि, आपूर्ति अवस्थामा सहजता तथा भारतीय मुद्रास्फीतिमा कमीका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान छ' राष्ट्र बैंकको रिपोर्टमा भनिएको छ।

खाद्यान्न बालीमा मूल्यवृद्धि ज्यादै कम

नेपाल राष्ट्र बैंकका अनुसार खाद्य पदार्थमा मूल्यवृद्धि जम्मा ०.६ प्रतिशत मात्र छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा खाद्य पदार्थमा मूल्यवृद्धि दर १४.८ प्रतिशत थियो। यसवर्ष गेडागुडीको मुल्यवृद्धि पनि ज्यादै कम भएको छ। गत वर्ष ४८.९ प्रतिशत मूल्यवृद्धि भएकोमा यस वर्ष जम्मा ६.६ प्रतिशत मात्र मुल्यवृद्धि भएको छ।

त्यस्तै घ्यू तथा तेलको मूल्य गत वर्ष ४२.३ प्रतिशत बढेकोमा यसवर्ष जम्मा २०.५ प्रतिशत मात्र बढेको छ।  मसलाको मुल्यवृद्धि गत वर्ष १५.३ प्रतिशत रहेकोमा यसवर्ष जम्मा ७.३ प्रतिशत रहेको छ। फलफूलको मूल्य गत वर्ष १४.३ प्रतिशत बढेकोमा यसवर्ष जम्मा २.४ प्रतिशत मात्र बढेको छ।

खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धिमा ह्रास आएकाले खाद्य पदार्थको मूल्यवृद्धि जम्मा ०.६ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै गैर–खाद्य पदार्थको मूल्यवृद्धि पनि गत वर्ष भन्दा घटेको छ।  अघिल्लो वर्ष ९.१ प्रतिशत मुल्यवृद्धि रहेकामा यसवर्ष जम्मा ६.५ प्रतिशत रहेको छ।

कहाँ कति मूल्य बृद्धि?

राष्ट्र बैंकका अनुसार सबैभन्दा कम मुल्यवृद्धि काठमाडौंमा रहेको छ। काठमाडौंमा गत वर्ष १३.२ प्रतिशत मुल्यवृद्धि रहेकोमा यसवर्ष जम्मा २.५ प्रतिशत रहेको छ। त्यस्तै पहाडी क्षेत्रमा गत वर्ष १२.४ प्रतिशत मृल्यवृद्धि रहेकामा यसवर्ष जम्मा ५.६ प्रतिशत रहेको छ। तराई र हिमाली क्षेत्रमा गत वर्ष १०.२ प्रतिशत मूल्यवृद्धि रहेकामा यसवर्ष  ३.७ प्रतिशत मृल्यवृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.