गीत पनि सुनाइने, आईसियुमै खोजे टिभी

|

काठमाडौं : एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली क्रमश: स्वस्थ हुँदै गएका छन्। मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि पटक पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा बिहीबारदेखि राम्रो सुधार भएको हो।

त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीले बिहीबारदेखि चिकित्सकहरुसँग संवाद थालिसकेका छन्। उनलाई बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मिनेटसम्म भेट गरेकी थिइन्। 

बुधबार बिहानदेखि होस खुलेसँगै प्रधानमन्त्रीले चिकित्सकसँग हाँसो ठट्टासहित संवाद सुरु गरेका थिए। बुधबारै बाहिरको वातावरणबारे चासो राखेपछि चिकित्सकहरुले कहाँ जाने ? भनेर उनलाई प्रश्न गरेका थिए। 

बाहिरको राजनीतिक वातावरण र आफ्नोबारे बाहिर भइरहेको चर्चाबारे प्रधानमन्त्रीले बुधबारदेखि नै जिज्ञासा राखेका थिए। प्रधानमन्त्रीले निजी चिकित्सक डा. अरुण सायमीलाई आफ्नोबारेमा कुनै पनि कुरा नलुकाउन भनेपछि शुक्रबार उपचारमा संलग्न सबै चिकित्सको उपस्थितिमा पत्रकार सम्मेलन गरियो।

उक्त पत्रकार सम्मेलनमा चिकित्सकहरुले प्रधानमन्त्रीलाई अझै कम्तीमा साता दिन अस्पतालमै राख्नुपर्ने बताउँदै घाउ पुरै निको हुन १० दिनजति लाग्ने बताएका छन्। पुरै पेटमा संक्रमण भएकाले अझै एकसाता आईसियुमै राखेर निगरानी गर्नुपर्ने जानकारी प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले दिइन्। 

किताब पढेर सुनाइँदै

चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा धेरै राम्रो भएको बताइसकेका छन्। प्रधानमन्त्रीको अवस्थाले सुरुमा निराश पत्नी राधिका शाक्यले शुक्रबारदेखि किताब पढेर सुनाउँन शुरु गरेकी छन्। 

सुरुदेखि नै भेन्टिलेटर र आईसियुमा पनि प्रधानमन्त्रीलाई भेट्न पाइरहेकी राधिकालाई चिकित्सकहरुले यस्तो अनुमति दिएका हुन्। घाउ विस्तारै निको हुँदै गएपछि उनले प्रधानमन्त्रीलाई अझै उत्साहि बनाउन किताब पढ्न र गीत बजाएर सुनाउन अनुमति मागेकी थिइन्। 

'प्रधानमन्त्रीको सुरुको अवस्था देख्दा हामी सबै आत्तिएका थियौँ। त्यसैले 'क्विक डिसिजन' लिएर पेटको संक्रमण फैलिन नदिन अपरेस गर्‍यौँ', एकजना चिकित्सकले भने, 'प्रधानमन्त्रीमा होस फिरेसँगै भएको सुधारले हामीलाई पनि चकित बनाएको छ। स्वास्थ्यमा सुधारसँगै घाउ निको भइनसकेको अवस्थामा पनि प्रधानमन्त्रीले सक्रिय हुन खोजेको देख्दा आश्चर्य लागेको छ।'

बुधबार होसमा आएपछि कालो चिया पिएका प्रधानमन्त्रीले बिहीबार बिहान दाल पिएका थिए। अलिक जाँगरिलो हुँदै गएपछि शुक्रबार बिहान चिकित्सकहरुले अण्डाको सेतो भाग खान दिएका छन्। 

'विस्तारै फ्रेस हुँदै जानु भएको छ। शुक्रबार बिहानै अण्डाको सेतो भाग खानु भयो', ती चिकित्सकले भने, 'तर उहाँलाई हतारमा बिदा गर्दैनौँ। संक्रमण हुने डर भएकाले निरन्तर निगरानीमा राखेका छौँ।'

पीडा सहँदै पुगेका थिए

मंगलबार बिहान ९ बजे बालुवाटारबाट मनमोहन सेन्टरमा पुग्दा प्रधानमन्त्री असह्य पीडाले छटपटिइरहेका थिए। मुख खुल्ला राख्दा रोएको आवाज आउने चिन्ताले उनले हातले छोपेका थिए।

'यहाँ आउँदा उहाँ अत्यधिक पीडामा देखिनु भएको थियो, रोएको आवाज आउँछ भनेर मुखमै औँला हाल्नुभएको थियो', उपचारमा संलग्‍न एक चिकित्सकले भने, 'त्यस्तो पीडा सहेर आएको मान्छे यति चाँडै तगडा हुन्छ जस्तो लागेकै थिएन। यो सुधार देखेर अचम्मित छौँ।'

आईसियुमै खोजे टीभी

स्वास्थ्यमा सुधार भएसँगै प्रधानमन्त्रीलाई बाहिरी दुनियाँको चिन्ताले छटपटी बढाएको छ। हाल मनमोहनको पाँचौ तलको सघन उपचार कक्ष (आईसियु) मा रहेका उनलाई चाँडो भन्दा चाँडो बालुवाटार फर्किने हतार छ। 

तर यो पटक चिकित्सकहरु कुनै सम्झौता नगर्ने मनस्थितिमा देखिएका छन्। अझै कम्तीमा एक साता अस्पतालमै राख्ने निर्णय चिकित्सकहरुले लिइसकेका छन्। यस्तोमा प्रधानमन्त्रीलाई राजनीतिक घटनाक्रम र जनताका कुरा सुन्‍न आतुरी भएको छ।

उनले बाहिर जान हतारो देखाएसँगै बाहिरका कुरामा अपडेट हुन पनि चाहेका छन्। चिकित्सकहरुसँग ठट्टा गरिरहने प्रधानमन्त्रीले शुक्रबार आईसियुमै टेलिभिजन खोजेका छन्। 

'आईसियुमा त टिभी नै रैनछ नि', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, 'के कसो हुँदैछ, बाहिरतिर कस्तो छ हल्ला, खल्ला? मेरो अवस्थाबारे केही कुरा नलुकाइ भनिदिनु ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.