|

चितवन : खैरहनी १७ सिसवारकी १९ बर्षीया रेश्मा चौधरीको घाँटीमा चाँदीका हँसुली, गलामा चकती (माला), नाडीमा माठा, खुट्टामा गुडुला, कम्मरमा डडकासा छ। चाँदीका गहनामा उनी चम्किलो देखिइन्। साथमा आकर्षक थैली झुड्याएकी छिन्।

बाटुले मुहारकी उनी कालो ब्लाउज र सेतो साडी (धोती) मा सजिदा उनी आफैलाई पनि नौलो अनुभूति भएको छ। ‘यति लगाएर नाच सिक्न झण्डै तीन महिना लाग्यो,’ खिचरा पर्वको नृत्यमा थकित रेस्माले स्वाँ–स्वाँ गर्दै संक्षिप्त प्रतिक्रिया दिइन्।

उनलाई साथ दिंदै थिए अन्य १२ जना बठिनिया (केटी)हरु। पूर्वी चितवको खैरहनीमा जारी माघिमेला (खिचरा महोत्सव) मा सुस्मिता, सविना, आश्मा, रेलु, सुमिना, अस्मिता, सुमित्रा, रमिता, रोजिता चौधरी लगायतले दर्शकलाई झड्का लाग्ने गरी कम्मर मर्काए।

ढोलबाजे ढोलबाजे बठिनिया (ढोलक बजाएर केटीहरु नाच्ने) बोलको गीत केटीहरु नै मिलेर नाच्ने आकर्षक गीत हो। यही गीतमा आफ्नै मौलिक पोशाक र मौलिक संस्कृति अनुसार नै नाच्दा दर्शकको सिटी र हुटिङ मजैले पाए। उनीहरुले उक्त गीत थारुको मौलिक नृत्य ‘स्टिक डान्स’ प्रस्तुत गरे। प्रस्तुति निक्कै फरक र नयाँ शैलीको थियो। जोशिलो गीतमा पस्किएको उनीहरुको नृत्यले दर्शकलाई उचाल्यो।

परम्परागत शैलीलाई आधुनिकतासँग जोड्ने प्रयास गरेको रेश्माले बताइन्। ती थारु बठिनियाहरुलाई सिकाउँदै थिइन् एकजना आमा डुलारी महत्तो। ‘भर्खरै सिकेको, अब पनि सिक्ने हो, नृत्यमा सहभागी अनिशा चौधरीले भनिन्, आफ्नो संस्कृति आफैलै त हो जोगाउने ।’

सौराहाकी सोनिया चौधरी आफ्नो संस्कृति प्रदर्शन गर्न चितवन मात्रै होइन पोखरा, काठमाडौ लगायत क्षेत्रमा पुग्छिन्। उनलाई थारु महिलाले नाच्ने झमटा, लाठी नाच पनि आउँछ। झुमरा, डम्फु नाच पनि थारुको  प्रख्यात नाच हो।

उनीसँग थारु बठिनियाहरुको एउटा समूह छ। ‘जहाँ गएपनि हामीसँगै गएर एउटा टिमले नाच देखाउँछौं, सबैले मन पराउँछन्’, सोनियाले भनिन्। उनी अहिले थारु कल्चर हाउस सौराहामा पर्यटकलाई दैनिक आफ्नो संस्कृति  देखाउँदै आएकी छिन्।

सौराहामा रहेको दुई वटा कल्चर हाउसमा यसरी थारु संस्कृति प्रदर्शन गर्ने युवतीहरु थुप्रै छन्। पहिले केही गतिवधि हुँदैनथ्यो, थारुका संस्कृति सौराहा र संग्रहालयमा सिमित थियो।

अहिले गाउँगाउँमा बिभिन्न कार्यक्रम नै हुने गरेको र खिचरा महोत्सव पनि संस्कृतिको संरक्षण र मौलिकता जोगाउने उद्देश्यले नै ४ वर्षदेखि आयोजना हुन थालेको थारु पत्रकार सन्तकुमार चौधरी बताउँछन्।

हरेक कार्यक्रममा युवाहरुकै सक्रियता बढी छ। अझ भेषभूषा प्रदर्शन होस् या र्यालीमा थारु युवतीहरुको मौलिक पहिरनले शोभा दिने गरेको छ। विस्तारै नयाँ पुस्ताले संस्कृति क्याच गर्न थालेको अर्का थारु अगुवा कारी महत्तो बताउँछन्।

खिचरा महोत्सव कार्यक्रम संयोजक नारायण महत्तो अब संसकृति जगेर्ना गर्ने पालो थारु युवायुवतीको काँधमा आएको बताउँछन्। ‘हराउने चिन्ता थियो, अब विस्तारै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै छ,’ महत्तोले भने। थारुका जिल्ला नेता टिकेन्द्र चौधरी सरकारी तवरबाट हेर्ने दृष्टिकोण राम्रो नहुँदा अधिकार प्राप्त गर्न भने कठिन भएको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.