चिकित्सक भन्छन् : उहाँमा सहन सक्ने क्षमता अद्‍भुत छ

|

काठमाडौं : २५ वर्ष अगाडिको कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीमा बहाल थिए। त्यो बेला उनलाई अल्सर भएर पेटमा रक्तश्राव भयो। गृहमन्त्री ओली बिरामी भएपछि क्याबिनेट चिकित्सक प्रा.डा. अरुण सायमीले उनलाई शिक्षण अस्पताल भर्ना गरे। 

तर‚ त्यसबेला अस्पतालमा भीड नियन्त्रण गर्न नसकेपछि ओलीलाई हात्तीवन लगेर सुरक्षित राखिएको थियो। जुन कुरा अहिले पनि उपचारमा संलग्‍न चिकित्सक डा. सायमीले बेलाबेलामा प्रधानमन्त्री ओलीलाई सुनाउने गरेका छन्। 

अहिले पनि त्यही बेलाको जस्तै जोश

यो २५ वर्षको अन्तरालमा राजनीतिक उचाई चुलिँदै ओली दुई पटकसम्म राष्ट्रको कार्यकारी प्रमुखमा पुगिसके। अझै दोस्रो कार्यकालमा त नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित भएर कमाण्ड सम्हालिरहेका छन्।

तर‚ उनको राजनीतिक उचाई जति चुलिँदै गयो, त्यति नै स्वास्थ्य समस्याले पिरोल्दै गयो।  राजनीतिक उचाईमा पुगेर देशलाई विकासको बाटोमा तीव्र गतिमा अगाडि बढाउन खोजिरहँदा ओलीलाई स्वास्थ्यले निरन्तर धोका दिइरहेको छ।

१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले लिन छाडेपछि उनलाई अफ्ठ्यारो परेको हो। मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण तयारीमा रहेका ओलीलाई एपेन्डिसाइटिसको अर्को झमेला आइलाग्यो। त्यही कारण उनी मंगलबारदेखि अस्पतालमा छन्। एकपछि अर्को जटिल समस्या आइपर्दा पनि उनमा देखिएको आत्मविश्वास र जोश जाँगर लोभ लाग्दो रहेको बताउँछन् लामो समय उनको उपचारमा संलग्न डा. सायमी।

‘उहाँको  आत्मबल र जोश २५ वर्षअघि गृहमन्त्री हुँदाको जस्तै छ,’ सायमी सुनाए‚ ‘मनमोहन अधिकारीको सरकारमा गृहमन्त्री भएका बेला पनि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। त्यसबेला बाहिर उग्र आन्दोलन थियो। तर अप्ठ्यारोसँग अस्पतालमै बसेर जुध्नुभएको थियो।'

प्रधानमन्त्री ओलीको दृढ इच्छाशक्ति र व्यवहार देखेर चिकित्सकहरू नै चकित परेका छन्। मंगलबार प्रधानमन्त्रीको एपेन्डिक्सको शल्यक्रिया भएको थियो। त्यसपछि बुधबार मात्रै उनी बोल्न थालेका थिए। बुधबार अचानक बेडबाट उठेर प्रधानमन्त्री सोफामा बस्न पुगेका  थिए।

जोश जाँगर मनमोहनको जस्तै

प्रधानमन्त्री भएकै समयमा २५ वर्षअगाडि मनमोहन अधिकारी हेलिकोप्टर दुर्घटनाबाट गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका थिए। उनी अस्पतालको शय्यामा छटपटाइरहेका थिए। त्यहीबेला संसदमा उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

नेपाली कांग्रेसले ल्याएको त्यो अविश्वास प्रस्तावको अधिकारीले अस्पतालबाटै सामाना गरेका थिए। अस्पतालको शय्यामा सुतीसुती आफूमाथिको अविश्वास प्रस्तावको जवाफ दिएको अवस्थामा पनि उनले आफूलाई कहिल्यै तनाव महसुस गरेका थिएनन्।

'उहाँ अस्पताल भर्ना हुनुहुन्थ्यो। अविश्वास प्रस्तावको जवाफ दिइरहँदा देशप्रतिको माया, आत्मविश्वास र जाँगरमा कुनै कमी थिएन', सायमीले ती क्षण सम्झिए, 'अहिले प्रम ओलीमा पनि त्यस्तै बलियो आत्माविश्वास छ।'

त्यसबेला मनमोहनको स्वास्थ्य अवस्था नाजुक थियो। अहिले ओलीको पनि उस्तै नाजुक छ। सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीमा २०१४ देखि नै हातमा 'फङ्गल्स इन्फेक्सन' देखिएको थियो।

अहिले त उनलाई विभिन्‍न खालका स्वास्थ्य समस्याले सताइरहेको छ। ६८ वर्षे ओली अहिले ६ प्रकारका औषधि नियमित सेवन गर्छन्। पछिल्लो एक वर्षमा त उनी छिटोछिटो बिरामी भएका छन्। जसले गर्दा एक वर्षबीचमा विदेशमा दुई पटक र स्वदेशका अस्पतालमा छोटोछोटो समयमा भर्ना हुनु परेको छ।

'अंग रिजेक्सन गर्ने र प्रतिरोधात्मक क्षमता कम हुँदा पनि कडाखालका संक्रमणको त्रास हुन्छ। जसले गर्दा उहाँको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ। यस्तो अवस्थामा पनि उहाँको आत्माविश्वास घटेको छैन। यस्तो लाग्छ कि उहाँको शरीरलाई दृढ आत्मविश्वासले धानेको छ‚’ सायमी भन्छन्, '२५ वर्षको संगतमा उहाँलाई अरु बेलामा मात्र होइन, अस्पतालको बेडमा हुँदा पनि देश र जनताकैबारे सोचिरहनुहुन्छ। आफ्नो शरीरभन्दा उहाँलाई देशको माया धेरै छ।'

आफ्नोभन्दा देशको माया

ओलीको जीवनसँग लामो समयदेखि जोडिएका डा. सायमीले धेरै अप्ठ्यारो अवस्थामा पनि ओलीलाई छटपटिएको देखेका थिएनन्। तर‚ मंगलबार बिहान ९ बजे बालुवाटारबाट मनमोहन सेन्टरमा पुग्दा प्रधानमन्त्री असह्य पीडाले छटपटाइरहेका थिए। प्रधानमन्त्री ओलीलाई सायमीले यस्तो अवस्थमा देखेको पहिलो पटक हो।

'जुन पीडा २५ वर्षयता मैले उहाँको अनुहारमा देखेको थिइनँ। उहाँलाई यति धेरै दुखाइ भएछ, जसले गर्दा उहाँले रुँदा आवाज निस्कन्छ भनेर मुखमै औँला हाल्नुभएको थियो,’ सायमीले मंगलबार बिहानको कथा फिल्मको रिलझैँ घुमाउँदै सुनाए, 'त्यस्तो पीडा सहेर आएको मान्छे यति चाँडै तगडा हुन्छ जस्तो लागेकै थिएन। यो सुधार देखेर अचम्मित छौँ।'

पछिल्लो समय ओलीमा छिटोछिटो स्वास्थ्य समस्या देखिएकाले धेरै आरामको जरुरी रहेको सायमीको भनाइ छ। 'उहाँसँगको यति लामो संगतमा कहिल्यै पनि आफ्नो चिन्ता लिएको पाउँदिन', उनी थप्छन्, 'शारीरिक कमजोरीको बेलामा पनि देशकै चिन्ता हुन्छ।'

बुधबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सायमीले बताए। 'जसले गर्दा उहाँलाई बाहिरी दुनियाँको चिन्ताले छटपटी बढाएको छ‚' उनी भन्छन्, 'चाँडोभन्दा चाँडो बालुवाटार फर्किएर काम गर्ने हतार छ।' तर यो पटक चिकित्सकहरु कुनै सम्झौता नगर्ने मनस्थितिमा देखिएका छन्।

‘उहाँलाई अहिलेको अवस्थामा बाहिर पठायो भने आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने बानी छैन। जसले गर्दा संक्रमण हुन्छ,’ सायमीले भने, 'जसले गर्दा अझै कम्तीमा एक साता अस्पतालमै राख्ने निर्णय गरेका छौँ।' 

हाल मनमोहन सेन्टरको आइसियु रहेका प्रधानमन्त्री ओलीलाई राजनीतिक घटनाक्रम र जनताका कुरा सुन्‍न आतुरी भएको छ। उनले बाहिरका कुरामा अपडेट हुन पनि चाहेका छन्। चिकित्सकसँग ठट्टा गरिरहने प्रधानमन्त्रीले शुक्रबार आइसियुमै टेलिभिजन खोजेका छन्।

ओलीप्रति सायमीको गहिरो प्रेम

प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान आकस्मिक बिरामी भए। त्यसपछि उनको उपचार कहाँ गराउने भन्‍ने छलफलमा डा. सायमीले निर्णायक भूमिका निर्वाह गरेका थिए।

डा. सायमीकै आग्रहमा प्रधानमन्त्रीलाई उपचारका लागि मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। सायमी सेन्टरमा कार्यरत भएकाले प्रधानमन्त्रीलाई अन्यत्र नलगिएको उपचारमा संलग्न अर्का एक चिकित्सकले बताए।

यता मनमोहनमा हाल प्रधानमन्त्रीलाई भेट्न जाने हरेकलाई सायमीले आफैँले भेटेर स्वास्थ्य अवस्थाबारे बताउँछन्। भेटमा कडाइ गरिरहेका छन्।

प्रधानमन्त्री ओलीसँग भेट्न किन कडाइ गरिएको त? सायमी भन्छन्‚ ‘कोही भेट्यो भने आफू बिरामी छु भन्‍ने नै उहाँ बिर्सनु हुन्छ। अहिले उहाँसँग अपरेशन गरिएको घाउ छ। अन्य संक्रमणको पनि जोखिमका साथै उहाँलाई आरामको अति नै जरुरी छ। जति धेरै आराम दियो स्वस्थ हुन र संक्रमणबाट जोगाउन सकिन्छ। त्यही कारण भेटघाटमा कडाइ गरिएको हो।'    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.