|

धनगढी : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सातवटा वडाहरुमा उपनिर्वाचनको मतदान भइरहेको छ। स्थानीय तहको निर्वाचन भएको करिब अढाइ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सातवटा वडा अध्यक्षका लागि शनिवार मतदान भइरहेको छ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २, अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ५ र बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा अहिले मतदान भइरहेको छ।

त्यस्तै, बैतडीकै पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ र सुर्नया गाउँपालिकाको वडा नम्बर १, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ र बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा पनि मतदान भइरहेको हो। 

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा वडाध्यक्षको पद रिक्त रहेको थियो। 

त्यस्तै, डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहरा र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सम्म दमाईको मृत्यु भएकाले वडाध्यक्षका लागि मतदान भइरहेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वा्िचत भएकाले उपनिर्वाचन भएको हो। 

१० हजार ९०० मतदाता

सुदूरपश्चिम प्रदेशको उपनिर्वाचनमा १० हजार ९३७ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ। 

सबैभन्दा बढी मतदाता डोटीको आदर्श गाउँपालिका–२ मा रहेका छन्। यस वडामा दुई हजार ४५९ मतदाता छन्। सवैभन्दा कम बैतडीको सुर्नाया–१ मा ६१९ मात्र मतदाता रहेका छन्।

बाजुराको त्रिवेणी नगरपालिका–१ मा एक हजार ३९, बैतडीको दोगडाकेदार–४ मा एक हजार ८००, पुरचौडी–४ मा एक हजार ९०९ मतदाता रहेका छन्। यस्तै, पुनर्वास–३ मा एक हजार १९९ र मेल्लेक–५ मा एक हजार ९०४ मतदाता रहेका छन्। 

सात वडाका लागि हुने निर्वाचनमा करिब एक हजार प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले जानकारी दिए।

खानेपानीमन्त्री बिना मगर कञ्चनपुरमा 

कञ्चनपुरको पुनर्वास–३ मा भइरहेको उपनिर्वाचनमा खानेपानीमन्त्री बिना मगरले मतदान गरेकी छन्। मन्त्री मगरले गोरखा आधारभूत विद्यालय रामबस्तीमा रहेको मतदान केन्द्रबाट मत दिएकी हुन्।

उक्त मदतान केन्द्रममा बिहान साढे ७  बजेबाट मतदान सुरु भइसकेको छ। उक्त वडामा १ हजार १९९ मतदाता रहेका छन्। बिहान  स्थानीय ७० वर्षीय क्षेत्रबहादुर लामाले पहिलो मतदान गरेका थिए। साढे ९ बजेसम्म २८१ जनाले मतदान गरिसकेका छन्। 

मतदान केन्द्र रहेको गोरखा आधारभूत बिद्यालय रामबस्तीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ३०० जना सुरक्षाकर्मी परिचालन गरिएको  जनाइएको छ। स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.