|

इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ।

प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरू एक सयभन्दा बढी घाइते भएको जनाएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

'पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरू एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौँलाई अश्रुग्याँसको असर परेको छ,' नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने। धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।

प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजीनामा दिएका छन्। धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उनले राजीनामा दिएको उल्लेख गरेका छन्।

केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ। गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ। प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्यौल थप बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.