|

पर्वत : जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तान्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको कालीगण्डकी नदीमाथि निर्माणाधीन बन्जीजम्प अंग्रेजी नयाँ वर्षसँगै सञ्चालनमा आउने भएको छ।

दक्षिण आकर्षक बन्ने भनिएको बन्जी जम्पलाई नयाँ वर्षसँगै सञ्चालनमा ल्याउँदा नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष र गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक भ्रमण वर्षलाई टेवा पुग्ने निर्माताहरू बताउँछन्। लगानीकर्ताहरूमध्येका एक जना युवराज जोशीले नयाँ वर्षसँगै बन्जी जम्पलाई संचालनमा ल्याउँदा पर्वतमा पर्यटक भित्र्याउनको लागि पनि सजिलो हुने बताए।

‘सरकारले पर्यटन वर्षको रूपमा सन् २०२० लाई मनाउन लागेको बेलामा सोही अवसर पारेर बन्जी पनि सञ्चालनमा ल्याउने गरी अहिले धमाधम काम भइरहेको छ।’ उनले भने, ‘पर्वतमा नमुना बन्जी जम्प बन्दै छ भन्ने कुरा मिडियामा आउँदा सबैलाई थाहा भएकै छ। त्यसैले सञ्चालनमा आएकै दिनबाट पर्यटकको आगमन उच्च हुने छ भन्ने भन्ने हाम्रो अपेक्षा छ।’

लगानीकर्ता जोशीले नौलो प्रविधिको लट्ठाहरू प्रयोग गरेर निर्माण गरिएको बन्जी जम्पको पुल अन्य ठाउँहरूको भन्दा आकर्षक रहेको बताए। बन्जी जम्पको लागि पर्वत सदरमुकाम कुस्माबाट बागलुङको बलेका जोड्ने गरी कालीगण्डकी नदीमाथि ५२५ मिटर लामो स्टिलको पुल निर्माण गर्ने काम सकिएको छ।

बन्जी जम्प गर्ने पुलको उचाइ कालीगण्डकी नदीको सतहबाट झन्डै २२५ मिटरको उचाइमा छ। सुरुमा १५ करोडको लगानीमा बन्जी निर्माणको काम सक्ने अपेक्षा गरिएको भए पनि काम सम्पन्न हुँदासम्म २० करोड लगानी पुग्ने भएको छ।

द क्लिफ प्रालिमार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिपोर्ट, स्काई साइक्लिङ र स्विङ पनि सञ्चालन गर्ने तयारीसहित आवश्यक पूर्वाधारहरू निर्माण गरिएको अर्का लगानी राजु कार्कीले बताए। उनका अनुसार गास, बास र मनोरञ्जन सहितका प्याकेजको लागि पूर्वाधार निर्माण तर्फको लगभग सकिएको छ।

पर्यटकलाई मनोरञ्जनको लागि बन्जी जम्प मात्र नभएर कालीगण्डकी नदी र अन्य प्राकृतिक सौन्दर्यता हेर्दै रिसोर्टमा बस्ने व्यवस्था गरिएकोले पनि पर्यटकको आगमन बाक्ले हुने लगानीकर्ताको भनाई छ।

‘साहसिक खेलमा रमाउनेहरूको लागि यहाँको बञ्जी जम्प होल प्याकेज नै बनेको छ’ लगानीकर्ता जोशीले भने, ‘बन्जी जम्पका लागि मात्र पर्यटक आउने छैनन्। यहाँ निर्माण गरिएको स्वाई साइक्लिङ र स्विङले पनि पर्यटकलाई आकर्षित गर्ने छ।’ साहसिक खेलका लागि आएका पर्यटकलाई सुविधा सम्पन्न रिपोर्ट पनि निर्माण गरिएकोले पर्यटकको बसाइँलाई कुस्मामा लम्व्याउन सकिने उनको भनाई छ।

बन्जी जम्प रहेको ठाउँमा मुस्ताङ जाने सडकबाट पोखरा बागलुङ राजमार्गबाट १० मिनेटको पैदल यात्रामा पुग्न समिने भएकोले पनि मुस्ताङ पुग्ने पर्यटकको बसाइँ कुस्मामा हुने र उनीहरू बन्जी जम्पका लागि आउने अपेक्षा गरिएको छ। अहिलेसम्म मुस्ताङ आउजाउ गर्ने पर्यटक नेपालका अग्ला र लामा झोलुङ्गे पुलहरू हेर्नको लागि कुस्मामा आउने गरेको भए पनि बस्ने गरेका भने थिएनन्।

पर्यटकीयस्थल कास्कीको पोखरा कुस्माबाट २ घण्टाको सवारी यात्रापछि पुग्न सकिने भएकोले पर्यटक पोखरा जाने गरेका छन्। अब भने बन्जी जम्पकै कारण पर्यटक कुस्मामा बस्ने वातावरण बन्ने पर्यटनको क्षेत्रमा काम गर्दै आएका व्यवसायी शिवप्रसाद पौडेलको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.